पूर्वमन्त्री शाहीले पैसा खाएको आरोप लगाएका रवी को हुन् ?
सुर्खेत : असार १० गते कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले फेसबुकमा एउटा स्टाटस लेखे। उनले फेसबुकमा लेखेको एक मिनेट नहुँदै त्यो स्टाटस भाइरल बन्यो। केही घण्टापछि उनले त्यो स्टाटस आफ्नो फेसबुक पेजबाट हटाए।
उनले ‘त्यो रवि चोरलाई कस्ले नेता मान्यो, मेरो घटनामा ६ लाख रुपैयाँ खाएको छ’ भनेर लेखेका थिए।
उनले स्टाटसमा जात र ठाउँ उल्लेख नगरे पनि पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिरहेका बेला रवि भनेर लेख्ननु उनैलाई इगित गरेको अड्कल हुनु स्वभाविकै हो।
उसो त पूर्वमन्त्री शाहीलाई आफ्नै स्वकीय सचिवकी श्रीमतीसँग जबरजस्ती करणी गरेको आरोप लाग्दा विभिन्न मिडियामा समाचार आएका थिए। उनको भिडियो समेत सार्वजनिक भयो। मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै विभिन्न संगठनहरुले सडकदेखि सदनसम्म आन्दोलन गरे।
तर, स्वतन्त्रको हैसियतमा मन्त्री बनेका उनले आफ्नो ६ महिने कार्यकाल कटाएरै छोडे। उनले आफूमाथि षड्यन्त्र गर्नेहरुका विरुद्ध अदालत जाने घोषणा गरेका थिए। तर, बलात्कारजस्तो जघन्य आरोप लागेको घटना आपसी समझदारीमा गुपचुपमैं मिल्यो।
उक्त समयमा ग्यालेक्सी फोरके टेलिभिजनले स्ट्रीङ अप्रेसन गरेर सिधा कुरा मार्फत भिडियो सार्वजनिक गरेको थियो। त्यही भएर पनि सामाजिक सञ्जालमा रवि भनेको रवी लामिछानेलाई भनिएको भनेर अनुमान लगाउन सकिन्छ नै। लामिछानेले पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेको माहोलमै उनले यस्तो स्टाटस लेखेका थिए।
यो विषयमा उकेराले सोधीखोजी गर्दा पूर्वमन्त्री शाहीले भने नाम जुरेपनि घटना फरक भएको दाबी गरे। आफूले स्थानीय तहको निर्वाचनमा भएका घातहरुको विषयमा उक्त स्टाटस लेखेको दाबी गरे।
‘रवि भनेर मैले स्टाटस लेखको थिएँ, तर, यहाँ त पुरै अकै प्रचार गरियो। तपाईँ स्टाटस हेर्नुस् न के पुरा त्यहाँ तीन पुस्ते खुलाइएको छ, कसलाई कहाँ निर इंगित गरिएको छ । रवि भनेको लामिछाने मात्रै हो त, रविलाई त म मान्छे नै भन्दैन,’उनले भने, ‘चुनावमा धेरै धोका भएका छन् त्यसै विषयमा मैले लेखेको हो। मैले आफ्नो विचारमा आएका कुरा लेख्न नपाउने भन्ने हुन्छ।’
यदी त्यसो भए किन तपाईँले स्टाटस हटाउनुभयो भन्ने उकेराको प्रश्नमा मन्त्री शाहीले भने, ‘अरे बाबा म मान्छे होइन। मलाई नागरिक स्वतन्त्रता छैन। लेख्छु हटाउँछु के भयो त ? किन पत्रकारहरू मैरै पछि लागिरहेका छन्। मैँले कसैकी श्रीमती, छोरी र आमा त लगेको छैन नि। कसलाई मैँले बलात्कार गरेँ। म पहिला मन्त्री हुँदा जस्तो चुप लागेर बस्दिन। एक्सनमा जान्छु। आवश्यकता अनुसार कानुनीदेखि सबै पाटाहरू प्रयोग गर्न बाध्य हुन्छु।’
उनले पत्रकारहरूले पत्रकारिता सिक्न बाँकी रहेको भन्दै खुट्टा काट्दै हिँड्ने कर्णालीका गरिब पत्रकारहरूले लेख्दैमा आफूलाई केही नहुने बताए। उनले पत्रकारहरू विरुद्ध अपशब्द बोल्दै प्रमाण नल्याएर आफ्नो विरुद्धमा लेख्नेलाई अदालत पुर्याएर कारबाही गर्ने चेतावनी समेत दिए।
असार १५, २०७९ बुधबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।