फिल्म प्रसाद २ मा भित्रिए नयाँ निर्माता, बिहीबार फिल्मको घोषणा हुँदै

फिल्म प्रसाद २ मा भित्रिए नयाँ निर्माता, बिहीबार फिल्मको घोषणा हुँदै

काठमाडौँ : फिल्म 'प्रसाद २' मा नयाँ निर्माता भित्रिएका छन्। स्वास्थ्य सामाग्रीको व्यवसायमा संलग्न केशव पाण्डे फिल्मका नयाँ निर्माता हुन्। सुभाष थापा समेत यसका निर्माता हुन्। सुभाष थापा प्रोडक्सनबाट फिल्म निर्माण हुन लागेको हो।

पाण्डे निर्माणमा संलग्न रहेको यो पहिलो फिल्म हो। अन्य व्यवसायमा संलग्न भएकाहरु समेत फिल्म क्षेत्रमा प्रवेश गरे यसले चाँडै उद्योगको आकार लिनसक्ने  र फिल्म क्षेत्रमा लगानी बढ्न सक्ने भएकाले आफू संलग्न भएको पाण्डेले बताए। 'प्रसाद २' को टोली व्यवसायी रहेको र मौलिक फिल्म मन पर्ने भएकाले निर्माताको रूपमा समूहमा संलग्न भएको उनले बताए।

'फिल्म क्षेत्रले अझै उद्योगको आकार लिन सकेन। यसको कारण कर्पोरेट क्षेत्र यसमा प्रवेश नगर्नु हो,' पाण्डेले भने' मनोरञ्जन क्षेत्रबाट समाजमा योगदान पनि गर्न सकिने अनी आफ्नो कला संस्कृती पनि जोगाउन सकिने भएकाले पनि म यस फिल्ममा जोडिन पाउँदा खुसी छु।'

बिहीबार फिल्मको ‌औपचारिक घोषणा हुँदैछ। फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन्। फिल्म निर्देशन सुदर्शन थापाले गर्दैछन्। फिल्म सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन्। पहिलो फिल्म प्रसाद हिट भएपछि सोही टोलीले प्रसाद २ को निर्माण गर्ने भएको हो।

प्रसाद १ मा रहेका निश्चल बस्नेत र निर्देशक दिनेश राउत छैनन्। फिल्ममा अभिनय गर्ने सम्झौता गरेर पनि निर्देशकमा सुदर्शन आएपछि निश्चलले अभिनय नगर्ने भन्दै ब्याक भएपछि अभिनेता अर्पण थापा अनुबन्धित भइसकेका छन्।

प्रसाद निसन्तान दम्पतीको दुख र उतारचढावमा केन्द्रित थियो। बलात्कारीको वीर्यलाई प्रसादको रूपमा प्रस्तुत गरिएको भन्दै फिल्म विवादमा पनि आएको थियो। प्रस्टीकरणमा निर्माण टिमले बलात्कारीको वीर्यलाई नभई आमाका लागि सन्तान प्रसाद हो भन्ने देखाइएको दाबी गरेको थियो।

असार १५, २०७९ बुधबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।