लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७९-८० को बजेट पारित 

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७९-८० को बजेट पारित 

बुटवल : लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७९-८० को बजेट पारित भएको छ। असार १ गते प्रस्तुत भएको बजेट विभिन्न चरणको छलफलका पछि आज प्रदेश सभाबाट पारित भएको हो। आर्थिक वर्ष २०७९÷०८० को लागि सरकारले ४२ अर्ब ६३ करोड ७ लाखको बजेट ल्याएको थियो । बजेट पास हुनु अघि मुख्यमन्त्री कुलप्रसाद केसीले बजेटमाथी उठेका प्रश्नको जवाफ दिएका थिए।

उनले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताए। उनले प्रदेश सरकारको आफ्नो नीति तथा कार्यक्रमहरू विचार दृष्टिकोण अनुसार भएपनि बजेट सबैको साझा भएको बताउँदै त्यसका लागि सबैले कार्यान्वयनका लागि आफ्नो दायित्व भएको बताए।

यस्तै अर्थमन्त्री कृष्णध्वज खड्काले जनताको जीवन स्तर परिवर्तन गर्नका लागी नै बजेटमा सम्बोधन गरेको बताए। ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजन मध्ये चालु खर्चतर्फ  १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पुँजीगत खर्चतर्फ  २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल रहेको छ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि  ४ अर्ब  ८३ करोड लाख,  कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११।३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ।

यस्तै आज प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ। सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइनु। यसैगरी खेलकुद ऐन २०७६ सम्बोधनसहित पारित भएको छ।

असार १५, २०७९ बुधबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।