मलविनै रोपाईं (फोटो-फिचर)

मलविनै रोपाईं (फोटो-फिचर)

बुटवल : आज असार १५ एवं १९औं राष्ट्रिय धान दिवस। मानो रोपेर मुरी उब्जाउने महिनामा किसानहरुले भने मल अभावमै धान रोपाइँ गरिरहेका छन्।

देशैभरि मल अभाव भइरहँदा रुपन्देहीका किसानले पनि यस वर्ष मलविना नै धार रोपिरहेका छन्। मल अभावमै धान रोपेका किसानहरु उत्पादन कम हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

कृषक प्रतिमा पन्थले यस वर्ष पनि मल अभावमै रोपाइँ गरेको बताइन्। ‘मलका लागि धरैतिर धाउँदा समेत पाइएन। मल विनै रोपाइँ गरेकी छु। उत्पादन कति हुन्छ थाहा छैन,’ उनले भनिन्।

रोपाइँको समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यस वर्ष आफुले जस्तै धेरै किसानले मल विनै रोपाइँ गरेको उनको भनाइ छ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले आपूर्ति कम हुँदा सबै किसानले पर्याप्त मल पाउन नसकेको स्वीकार गरे।

भैरहवामा रहेको कृषि सामग्री कम्पनीले लुम्बिनी प्रदेशको रुकुम जिल्ला बाहेक सबै जिल्लामा मल खाद पठाउने गर्छ। यस्तै कम्पनीले गण्डकी प्रदेशको स्याङ्जा र पूर्वी नवलपरासी पनि हेर्ने गर्छ।

लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय जवाफविहीन भएका बनेका छन्।

शर्माका अनुसार लुम्बिनी प्रदेशमा अहिले युरिया मल १५ हजार १६५ टन र डिएपी ११ हजार ९५ टनको कोटा परेको छ। अहिलेसम्म ९ सय टन डिएपी र ३२ सय टनमात्र युरिया मल आएको छ।

असार १५, २०७९ बुधबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।