केन्द्रीय कारागारका सामुदायिक विद्यालय : पढ्न मन भए ज्यान माया मार्नु

केन्द्रीय कारागारका  सामुदायिक विद्यालय : पढ्न मन भए ज्यान माया मार्नु

काठमाडौँ : जेल पर्नु भनेको जीवनै सकिनु मात्रै हुन्न नि। कसै कसैले त्यही जेलबाटै नयाँ जीवन सुरु गर्न पनि सक्छन्। कैदी-बन्दी हुन् या सामान्य नागरिक संविधानले दिएको समान शिक्षाको अवसर सबैका लागि बराबरै हो। स्वच्छ र सुरक्षित वातावरणमा आफूले चाहेको पाठ्यक्रमसहित पढ्न पाउने अधिकार जति कारागार बाहिर रहेकाहरूको छ त्यति नै कारागार भित्र रहेकाहरूको पनि छ।

त्यसैले त सरकारले कारागारभित्र पनि विद्यालय खोलेको छ। ४२ रोपनी क्षेत्रफल ओगटेको केन्द्रीय कारागारमा पनि ३ वटा सामुदायिक विद्यालय छ। त्यहाँ चार सय विद्यार्थी छन् अनि १८ जना शिक्षक। विद्यार्थी पनि कैदी बन्दी नै छन् अनि शिक्षक पनि उही श्रेणीका।

कारागार बाहिरका सामुदायिक विद्यालयको अवस्था नाजुक छ। भवन गतिला भए खुल्ला स्थान छैन। खुल्ला स्थान भए भवन गतिला छैन। न सुविधायुक्त कक्षा कोठा न पढ्ने वातावरण। उकेराले काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमध्ये ३२ वटा नमुना भनिएकाको अनुगमन गर्दा यस्तै देखिएको त थियो। अब नमुना भनिएकाहरूकै अवस्था यस्तो छ भने नमुना हुने प्रयासमा रहेका विद्यालयको अवस्था कस्तो होला?

कारागारमा रहेका सामुदायिक विद्यालयहरू पनि महानगर अन्तर्गतकै हुन्। तीनका अवस्था के होला भनेर उकेराले नमुनाको रूपमा केन्द्रीय कारागारको विद्यालयको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो। त्यहाँको अवस्था त झन् बिजोगै रहेछ।

शताब्दी पुरानो जीर्ण भवन। साँघुरो र होचा कक्षाकोठाहरू। सीमित डेस्क र बेन्च। पर्याप्त मात्रामा हुनुपर्ने प्रकाश र हावा ओहोरदोहोर पनि हुँदैन। एउटै कोठालाई काठको प्लाइले छेकेर दुई वटा बनाइएको छ। एउटा कोठामा बोलेको अर्को कोठामा प्रस्टै सुनिने।

सबैभन्दा ठुलो जोखिम भनेको पढ्ने रहर छ भने ज्यानको माया नै मारेर कक्षा कोठामा बस्नुपर्ने रहेछ। किनकि कारागार अन्तर्गतका विद्यालयका सबै भवन २०७२ को भूकम्पका कारण बस्न अयोग्य। जीर्ण भवनहरूमा रातो स्टिकर टाँसिएको छ। तर उनीहरूसँग अर्को विकल्प छैन। त्यसैले अपराध अनुसारको दण्ड कटाउन कारागार परे पनि शिक्षा लिन चाहनेहरू ज्यान जोखिममा पारेर भए पनि त्यही रातो स्टिकर टाँसेकै भवनभित्र बसेर पढ्ने गरेका छन्।

'भूकम्पले थर्किएको भवनमै पढाई हुन्छ। नयाँ भवनहरू बनाउन सकिएको छैन। थामथुम गरेर चलाएका छौँ,’  केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले उकेरासँग भने, ’ जेल प्रशासनले बनाउन सक्दैनौ। महानगरले वा शिक्षा विभागले बनाउन खोजे भने पनि कारागार भित्र विद्यालय बनाउन कति महिना लाग्ला ! को आउला कामदार?  आए पनि सुरक्षाको संवेदनशीलताको कुरा आउँछ। त्यसले पनि गाह्रो हुन्छ।'

काठमाडौँ महानगरका ’नमुना विद्यालय’ जसलाई नमुना भन्दा हेडमास्टरै लजाए

जेलर निरौलाको कुराबाट सुरक्षासँग जोडेर कारागारभित्रको जीर्ण भवन मर्मत या नयाँ बनाउने विषय जेल प्रशासनको प्राथमिकताभित्र नपरेको प्रस्टै देखिन्छ। तर चाहने हो भने उपाय पनि निस्कन सक्छ नै। विद्यार्थी कैदी-बन्दी, पढाउने शिक्षक कैदी-बन्दी भएपछि भवन बनाउने कामदार कैदी-बन्दी हुन सक्दैनन् र? तर जेल प्रशासनले त्यता चाख दिएको देखिए।

हामीले तीन विद्यालयमध्ये एक विद्यालयका प्रधानाध्यापकसँग कुरा गरेका थियौँ। जेल प्रशासनले नाम नलेख्ने सर्तमा भेटाएकाले यहाँ उनको नाम उल्लेख गरिएको छैन।

जगन्नाथ माविको प्रधानाध्यापकले उकेरासँग भौतिक अवस्थाका कारण आवश्यक शैक्षिक वातावरण सिर्जना गर्न गाह्रो भएको बताए। उनका अनुसार भवन पुरानो भए पनि भूकम्प भन्दा अगाडी बलियो नै थियो। तर, भूकम्प पछि सबै जीर्ण भएका छन्।

'रातो स्टिकर टालेको भवनमा नै हामीले अहिलेसम्म अध्यापन गराई राख्नु परेको छ’ उनले भने।

उनले यो समस्याबारे विभिन्न निकायमा जानकारी गराएका पनि रहेछन्। तर कसैले चासै दिएका छैनन्। कारागार बाहिर दुनियाँले देख्ने विद्यालयमा त आँखा नपुग्नेहरूको चासो कैदी-बन्दीले मात्रै भोग्ने विद्यालयमा जाओस् पनि कसरी!

'केही दिन अघि राष्ट्रपति शैक्षिक योजनाका लागि भवन निर्माणको लागि प्रस्तावना पठाएका थियौँ। महानगरमा पनि पठाएका थियौँ, ती प्रधानाध्यापकले भने' तर, त्यसको अहिलेसम्म केही जानकारी आएको छैन। महानगरले हुन्छ त भनिरहेको छ तर, वर्ष दिन बितिसक्दा पनि हुन्छ मात्रै भनिरहेका छन्।'

कारागारमा तीन विद्यालय छ। महिला बन्दि गृहमा ’महिला बन्दि विद्यालय’ छ। त्यहाँ ५ कक्षासम्म पढाई हुन्छ। अर्को साल देखि महानगरसँग छलफल गरेर ६ कक्षा सम्म पढाई सञ्चालन गर्न प्रयास भइरहेको जेलर निरौलाले बताए।

बन्दि विकास विद्यालयमा ८ कक्षा सम्म पढाइ हुन्छ। जगन्नाथ माध्यमिक विद्यालयमा भने १२ कक्षासम्म पढाई हुने गरेको छ।

केन्द्रीय कारागारको क्षमता १ हजार ५ सय हो। १४ गते मङ्गलवारसम्म त्यहाँ ३ हजार १ सय ९२ जना कैदी बन्दी छन्। त्यस मध्ये ४ सय कैदी बन्दी पढिरहेका छन्। एउटा कक्षा कोठामा कम्तीमा पनि ३२ जना विद्यार्थी छन्। त्यो पनि न्यूनतम सुविधामा।

’भित्रका वटै विद्यालयको व्यवस्थापन कारागार कार्यालयले नै गर्छ’  प्रधानाध्यापकले भने, ’ त्यति बेला पीएल सिंह लगायतका नेताहरू पनि यही जेलमा थिए रे। उनीहरू र अन्य कैदीहरूको अगुवाइमा विद्यालय स्थापना भएको भन्ने सुनेको हो।’

१२ पछि पनि पढ्न मन लागे प्राइभेट परीक्षाको विकल्प छैन। मास्टर्ससम्मको परीक्षा जेलबाटै दिन सकिन्छ। यसका लागि शिक्षकहरूको कोटा महानगरपालिकाले नै दिन्छ। बाहिरको सामुदायिक विद्यालयको शिक्षक सरह निश्चित दरबन्दीहरूलाई शिक्षा नियमावली अनुसारको तलब भत्ता पनि दिइन्छ। कारागार भित्रको विद्यालयको एउटा मात्र फरक कुरा भनेको यहाँ पढ्ने र पढाउने सबै कैदीबन्दिहरु मात्र हुन्।

’कारागार भित्र र बाहिरको विद्यालयको एउटै मात्र फरक भनेको ’बाहिरको शिक्षकले यहाँ पढाउन पाउँदैन र बाहिरको विद्यार्थी यहाँ पढ्न पाउदैन्’ जेलर निरौला भन्छन्, ’कारागार सुधार गृह भने पछि फेरी १८ पुगेका मात्रै हुन्छन्। त्यसैले अहिलेसम्म विद्यालय नै नगएका विद्यार्थीहरू पनि छन् र पढाई पुरा नगरेकाहरू पनि छन्।'

उनका अनुसार एसएलसी, आइए, एमए पढेकादेखि डाक्टर, इन्जिनियर, वकिलहरू समेत कारागारमा छन्। यिनीमध्येबाट जेलरले चयन गरेर शिक्षक नियुक्त गर्ने गर्छन्। शिक्षित कैदीबन्दिले पढाउँदा पढाइको स्तरमा कुनै असर नपरेको उनको दाबी छ। त्यसरी नियुक्त भएर शिक्षकको रूपमा काम गर्नेलाई कैद छुटको व्यवस्था पनि हुन्छ। उनीहरूले पढाए बापत वर्षको २ महिना कैद छुट पाउँछन्।  

कारागार भित्रको प्रशासन चौकीदार, नाइके, सह-भाइ नाइके, पहरेदार लगायतकाहरुको हातमा हुन्छ। भित्री प्रशासनले कारागार भित्रको सम्पूर्ण जिम्मा पाएको हुन्छ। त्यही आन्तरिक प्रशासनले कैदीमध्येबाट शिक्षक हुनसक्नेको नाम सिफारिस गर्छ। अनि त्यसरी आएको नाममध्येबाट जेलरले नियुक्त गर्ने गरेका छन्।

जेलरका अनुसार पढाउन न्यूनतम एसएलसी उत्तीर्ण त हुनै पर्यो। उनले प्रावीतहसम्म पढाउन पाउँछन्। त्यो भन्दा बाहेक कोही नियुक्ति गर्यो भने शिक्षकको लागि महानगरबाट बजेट आउँदैन। त्यसैले अहिले जेलभित्रको विद्यालयमा शिक्षक अभाव रहेको उनले बताए।

'विद्यालयमा शिक्षकको अभाव छ। जगन्नाथ बन्दि विद्यालयमा १२ कक्षा सम्म पढाई हुन्छ। तर, शिक्षकको दरबन्दी ४-५ जना मात्र हुन्छन्। त्यस्तो बेला विद्यालयले कसरी पठन पाठन गराउने ? कम्तीमा १२ जना त आवश्यक हुन्छ नै’ जेलरले उकेरासँग भने।

जगन्नाथ माविको प्रधानाध्यापक पनि यसमा सहमत जनाउँछन्।

उनी भन्छन्, ’शिक्षक दरबन्दी पनि थोरै छ।  जम्मा ९ जना दरबन्दी भएकोमा बाँकी दुई जना प्राविधिकबाट राख्नु परेको छ। शिक्षकको कमीले गर्दा पनि अन्य आवश्यक पाठ्यक्रमहरू सञ्चालन गर्न सकिरहेका छैनौ। दरबन्दी शिक्षकहरूमा हामीले एउटा कोष स्थापना गरेका छौँ। त्यहाँ हामीले शिक्षकहरूको पारिश्रमिक थोरै-थोरै जम्मा गर्ने गर्छौँ। त्यहीको पैसाबाट हामीले विद्यार्थीको लागि आवश्यक शैक्षिक सामग्री पनि जुटाई रहेका छौँ।’

तै पनि राम्रो नतिजा आउन नसकेको उनले बताए।

३ वटै विद्यालयमा व्यवस्थापन समिति पनि छ। जगन्नाथ माविको प्रधानाध्यापकका अनुसार कारागार व्यवस्थापनबाट जेलर, विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधित्वबाट एक जना, चौकीदार र कारागारको अन्य कर्मचारीसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समिति गठन हुन्छ।

समितिको अध्यक्षमा भने जेलर रहने गर्छन्। त्यसमा स्रोत व्यक्ति र विद्यालय निरीक्षक पनि समावेश हुन्छ। विद्यालयको भित्री सम्पूर्ण काम समितिले गर्छ भने बाहिरको काम जेलरको जिम्मामा हुन्छ।

चुनौती शैक्षिक वातावरण

भौतिक अवस्था अनि शैक्षिक सामाग्रीसँगै जनशक्तिको अभाव भयो नै। अर्को प्रमुख चुनौती देखियो शैक्षिक वातावरण। विद्यार्थी विभिन्न अपराधमा संलग्न नै हुन्। आफै घर परिवारबाट छुटेको अनि समाजबाट हेपिएको महसुस गरेर जेलमा बस्नेहरूले पढाइमा मन कसरी लगाउन सक्नु!

'एक प्रकारको तनावमा बसिरहँदा पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुने नै भयो।  फेरी उमेरले पनि सबैको ठुलो नै हुँदा पढ्न त समस्या हुने नै भयो। बाहिरको पाठ्यक्रम प्रावि तहको विद्यार्थीहरूलाई बालबालिकाहरू लक्षित हुन्छन्। बाहिर बालबालिकाहरूलाई लक्षित गरेर बनाएको पाठ्यक्रम पनि हाम्रो लागि चुनौती बनेको छ,' ती प्रधानाध्यापकले भने' यहाँ कम्तीमा पनि १८ वर्षको व्यक्ति हुन्छन्। पाको उमेरको विद्यार्थीलाई बालबालिकाको पुस्तक पढाउन  कठिन हुने नै भयो।’

जगन्नाथको प्रअका अनुसार एसियन फाउन्डेसन भन्ने संस्थाबाट बाहिरी पुस्तकहरू दिइरहेको भए पनि अब भौतिक रूपमा पुस्तक उपलब्ध नगराउने तर, डिजिटल बोर्डको प्रयोग हुन्छ भने सफ्टवेयरको माध्यमबाट पुस्तक दिन सकिने खबर आएको छ। तर, त्यो पनि सम्भव हुन सकेको छैन। कारागार भित्र इन्टरनेट सुविधाको स्वीकृति छैन। त्यसले थप समस्या बढाएको छ।

कारागार ऐन वि.सं. २०१९ लागु भए देखिनै यहाँ विद्यालयहरू सञ्चालनमा आएको पाइन्छ । कारागारमा शिक्षाको सुरुवात तत्कालीन राजबन्दीहरू मोहन विक्रम सिंह, पदम शङ्कर अधिकारी, सिपी मैनाली र ओमकार श्रेष्ठ लगायतको सक्रियता तथा तत्कालीन दाइ–चौकीदार कान्छा गुरुङको विशेष पहलमा भएको पाइन्छ।

त्यस समय पनि जीर्ण भौतिक संरचनामै कारागारको एउटा साँघुरो कोठामा पढाउने गरिन्थ्यो। स्थापनाकालदेखि नै एसएलसी परीक्षा प्राइभेट रूपमा दिने व्यवस्था भएको अभिलेखहरू पनि छन्। त्यस्तै विद्यार्थी नियमित भर्ना तथा पठनपाठनका कार्यक्रमहरू भने वि.सं. २०५० सालबाट मात्र (एस.एल.सी. परीक्षामा) सहभागिता जनाउन थालेको हो। यस विद्यालयले विसं. २०५३ सालमा मावि तहमा स्तरोन्नति भई विसं. २०७२ सालदेखि कक्षा ११–१२ को पठनपाठन सुरु भएको हो।

असार १४, २०७९ मंगलबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।