पहिरो रोक्न टालटुले काम, वर्षा बढेसँगै चुरे पहिरोले चर्काउन थाल्यो मन
बुटवल : मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाले बुटवलको ज्योतिनगरमा लेदो सहितको पहिरो झर्न थाल्यो। यस्तो भएको यो पहिलो पटक हैन। चुरेबाट बगेर आएको लेदोका कारण त्यहाँका आधाभन्दा बढी घरमा पानी पसेको छ। चुरेबाट ठुला ढुङ्गा बगाएर ज्योतिनगर सम्म ल्याएको छ।
गत वर्ष पनि चुरेको पहिरोले स्थानीयलाई धेरै दुख दिएको थियो। गत भदौ ११ मा चुरेको डाँडाबाट आएको पहिरोले बुटवल ३ को मिलनपथ र ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दा प्रभावित भएका थिए। पहिरोले १५ घर पूर्ण क्षति पुर्याएको थियो भने ३० घरमा आंशिक क्षति पुग्नुका साथै १२ वटा घरमा लेदो पसेको थियो।
गतबर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मी नगर, ज्योतिनगर, मिलनपथका स्थानीयहरूलाई फेरी चुरेबाट लेदो बग्न सुरु गरेपछि चुरे पहिरोले उनीहरूको मन चर्काउन थालेको छ।
बिहान देखि ज्योतिनगरमा दुई वटा डोजर प्रयोग गरी पुरिएको नालाको सफा गर्ने काम भइरहेको छ। अघिल्लो वर्ष गएको चुरे पहिरो नियन्त्रणका लागि सुस्त गतिमा काम हुँदा अहिले पनि चुरेले त्रास बढाएको त्यहाँका स्थानीयको भनाई छ।
कमजोर तारबार लगाउँदा सामान्य पानी आउँदा पनि ज्योतिनगरमा लेदो सहितको पहिरो आएको त्यहाँकी स्थानीय वसुन्धरा बस्याल तिवारीले बताइन।
उनले प्रदेश सरकार र सङ्घ सरकारबाट बजेट विनियोजन गरेर ज्योतिनगरको पहिरो नियन्त्रणका लागि प्रयास हुनुपर्नेमा परिणाम देखिने गरी नियन्त्रणको काम नभएको बताइन।
मङ्गलवार झरेको लेदो सहितको पहिरो त्यहाँ रहेको जनज्योति प्राथमिक विद्यालयको पछाडिबाट तलतिर झरेको छ। अघिल्लो वर्ष पनि त्यहीबाटै लेदो सहितको पहिरो तल झरेको थियो।
मङ्गलवार झरेको लेदो सहितको पहिरो त्यहाँ रहेका ४ वटा घरभित्र पसेको छ। अघिल्लो वर्ष क्षति पुराएका ती घर भने अहिले रित्तो छ।
मनसुन सक्रिय भएको पहिलो दिनमै ज्योतिनगरमा पहिरो झरेपछि स्थानीयहरू अघिल्लो वर्षको तुलनामा यस वर्ष अझ बढी क्षति हुने आकलन गरेका छन्। ज्योतिनगरमा पहिरो गएपछि त्यहाँ राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिबाट २ करोड रुपैयाँ विनियोजन भई काम भएको थियो। उक्त रकमबाट ग्याबीनवाल र ग्याबीन चेक ड्याम लगाउने काम भएको थियो।
‘यहाँका स्थानीयले बुटवल उपमहानगरपालिकालाई झकझकाउने काम त गरेका छन्। पर्खाल लगाएको भए पनि थेग्न नसक्ने गरी पानी परेपछि पहिरो झरेको हो। राम्रोसँग काम नहुँदा यो पहिरो आयो’ तिवारीले भनिन्।
स्थानीय ईश्वरी प्रसाद बस्यालले ठाडो भिरबाट सिधा पानी र लेदो तल आएको भन्दै सरोकारवालाले अध्ययन गरेर मात्र नियन्त्रण गर्नुपर्ने बताए। चुरेको भूगोल र तल बस्तीको भूगोल अध्ययन गरेर प्लानिङ गर्नुपर्ने उनको भनाई छ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति सदस्य डा. सुस्मिता ढकालले बुटवलमा पहिरो जानसाथ विस्तृत अध्ययनसँगै पहिरो नियन्त्रणका लागि सरकारसँग बजेट माग गरे पनि बजेट नआएपछि त्यहाँ तत्कालकालागि नियमित बजेटबाट काम गरेको बताइन।
चुरे पहिरो सामान्य ढङ्गले व्यवस्थित नहुने जान्दाजान्दै पनि स्थानीय सरकार तत्कालीन अवस्थालाई मात्र ध्यानमा राखेर ‘कामचलाउ’ नियन्त्रणका प्रयास गर्दा अब ज्योतिनगर, लक्ष्मीनगरमा बर्सेनि पहिरो जान सक्ने विज्ञको मत छ।
‘गुरुयोजना बनाएर काम गरे मात्र यसको दीर्घकालीन समाधान हुने हो। तर राज्य संयन्त्र यसो नगरी स्थानीयलाई तत्काल काम गरेको देखाउन टालटुले काम गरेर पन्छिन खोज्दै छ’ भूगर्भविद् डा.रञ्जनकुमार दाहालले भने।
उनले बुटवलको पहिरो नियन्त्रणका लागि सामान्य अध्ययन र अनुसन्धानविनै नचाहिँदो ढङ्गले पहिरोलाई खोतल्ने र रुखहरू काट्ने काम भइरहेको बताए। उक्त पहिरो सानो पहिरो नभएको र यसबारे विस्तृत अध्ययन प्रतिवेदन तयार नगरी पहिरो व्यवस्थापनमा नलाग्दा सरकारी पैसा खेर जाने काम मात्र भएको उनले बताए।
‘म त्यहाँ पुग्दा चुरेका रुखहरू काट्ने काम भएको देखे। ठुला रुखले पहिरो झार्ने भन्दै रुख काटिएको रहेछ। म चकित भए। हामीले के गरिराछौ भन्ने त्यहाँ कसैले किन बुझेको छैन?’ उनले प्रश्न गरे।
पहिरो जानसाथ स्थानीय तहले डिपिआर बनाउन सक्ने भए पनि त्यसो नगरी हत्तपत्त टालटुले डिजाइनले झारा टार्ने गरी पहिरो नियन्त्रणको काम थालेको उनले बताए।
‘हामीले बेसिक फेन्डामेटिकल बिर्सियौ। पहिरो आएपछि कहाँबाट आयो, कसरी आयो त्यो नियन्त्रणका लागि सुरुमा के कामको थालनी गर्नुपर्ने हो, यो हामीले अध्ययन गर्नुपर्दथ्यो। तर यसलाई सामान्य ठानेर गिजोल्ने काम गरेका छौ। यसले त्यहाँ अझ ठुलो दुर्घटना निम्ताउन सक्छ’ उनले भने।
ठुलो डाँडाको जटिल पहिरोलाई नियन्त्रण गर्न, बस्ती जोगाउन पहिरो जानेकाहरूबाटै अध्ययन गर्नुपर्ने विज्ञता नभएका सिभिल इन्जिनियर, बन विज्ञबाट राय लिएर काम गर्दा पनि समस्या आएको उनले बताए।
डा. कोइरालाकारअनुसार पहिरो गएको श्रवनडाँडा पहिलेको ठाउँबाट ५० देखि ८० मिटर तल धस्केको छ। भूगर्भविद् प्रेम पौडेलले जमिनभित्रको पानी र सतहमा बगिरहेको पानीको व्यवस्थापन पहिरो नियन्त्रणको पहिलो प्राथमिकता हुनुपर्ने बताए।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, सिचाई र स्थानीय तहबाट सक्दो पहल भइरहेको बताए। उनले यसको दिगो व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकार मार्फत बजेटको व्यवस्था गर्न पहल भइरहेको बताए।
असार १४, २०७९ मंगलबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।