२०२२ को सुरुको ६ महिनामा बलिउड फ्लप, अब पनि दक्षिण भारतीय फिल्मकै दबदबा !
एजेन्सीः भारतीय सिनेमाका दर्शक बलिउडबाट विस्तारै दक्षिण भारतीय फिल्मतर्फ मोडिदै छन्। यसको ज्वलन्त उदाहरण हो- यसवर्ष प्रदर्शनमा आएका दक्षिण भारतीय फिल्मको व्यापार र बलिउडको व्यापार।
पछिल्लो ६ महिनामा प्रदर्शनमा आएका बिग बजेट भनिएका र स्टार पावरले चल्ने भनिएका समग्र बलिउड फिल्महरूले एउटा 'केजीएफ २' ले जति पनि कमाउन सकेनन्।
यही वर्ष 'आरआरआर' जस्तो ब्लकबस्टर फिल्म दियो दक्षिण भारतीय सिने उद्योगले। बलिउडले उही पुरानै मसाला हालेको फ्लेवरमा 'हिरोपन्ती २' जस्ता फिल्म दियो।
फिल्मको लाइनअप नै हेर्ने हो भने पनि बलिउडको लाइनअपमा रणवीर कपुर अभिनित 'ब्रह्मास्त्र' र 'शमशेर' मात्र बहुप्रतीक्षित बनेका छन्। आमिर खान अभिनित 'लालसिंह चढ्ढा' हलिउड फिल्म 'फरेस्ट गम्प'को हुबहु फोटोकपी भएकाले त्यति चल्ने देखिँदैन। अक्षय कुमारको 'रक्षा बन्धन' पनि त्यति चर्चा भएको छैन।
दक्षिण भारतीय फिल्मको कुरा गर्ने हो भने चाहिँ लाइनअपमा भएका सबै फिल्म बहुप्रतीक्षित छन्।
अगस्ट १२ मा 'यशोदा' रिलिज हुँदैछ। दक्षिण भारतीय अभिनेत्री समान्थाको अभिनय रहेको यस चलचित्रलाई दर्शकले टिजर सार्वजनिक भएदेखि नै मन पराएका छन्।
'डियर कमरेड', 'वर्ल्ड फेमस लभर' जस्ता फिल्मबाट अत्यधिक रुचाइएका अभिनेता हुन्- विजय देवरकोण्डा। उनी अभिनित 'लाइगर'को फर्स्ट लुक सार्वजनिक भएदेखि नै दर्शक प्रतीक्षामा छन्। यस फिल्ममा अनन्या पाण्डे पनि हुनेछिन्। यस्तै यो फिल्म भने यही वर्षको २५ अगस्टमा रिलिज हुँदैछ।
यस्तै केजीएफ बनाएर दर्शकको वाहवाही बटुलेका निर्देशक प्रशान्त नीलले 'सालार' बनाउँदैछन्। फिल्ममा बाहुबली स्टार प्रभास हुनेछन्। यसले पनि सालारलाई बहुप्रतीक्षित बनाएको छ। यस्तै श्रुति हसन र दिशा पाटनी पनि फिल्ममा देखिनेछन्। फिल्मको रिलिज भने २०२३ मा हुनेछ।
प्रभासकै अर्को फिल्म 'आदिपुरुष'को लागि दर्शकमा कौतुहल अत्यधिक छ। पाँच सय करोड भारुको बजेटमा बन्ने फिल्म भारतीय सिने जगत्कै महँगोमध्येको फिल्म हो। फिल्ममा प्रभास रामको भूमिकामा देखिँदैछन्। कृति सेनन सीताको भूमिकामा।
यस्तै यस फिल्ममा सैफ अली खान पनि हुनेछन्। फिल्मको रिलिज डेट १२ जनवरी २०२३ हो।
अल्लु अर्जुनको त के कुरा, उनी त अहिलेका सर्वाधिक रुचाइएका दक्षिण भारतीय कलाकार हुन्। उनको फ्यान फलोइङ नेपालमा पनि उत्तिकै छ। उनी अभिनित 'पुष्पा: द रूल' बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म हो। 'पुष्प: द राइज' को सफलतासँगै यसको सिक्वेलमा बजेट पनि बढेको छ। चार सय करोड भारुमा फिल्म बन्दैछ।
अन्य प्रतीक्षित दक्षिण भारतीय फिल्महरूमा 'प्रोजेक्ट के', 'विक्रान्त रोणा', 'आरसी १५' हुन्।
सन् २०२२ को पहिलो ६ महिना बक्स अफिसमा दबदबा बनाएको दक्षिण भारतीय फिल्मले अबको ६ महिना र आगामी वर्ष पनि बलिउडलाई मात खुवाउने लक्षण अहिले नै देखिएको छ।
असार १४, २०७९ मंगलबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।