स्वास्थ्य सामाग्रीका बिचौलिया भेट्दैमा सक्कियो विरोधको कार्यकाल, खरिद सेटिङ संस्थागत गरेर भए बिदाइ

स्वास्थ्य सामाग्रीका बिचौलिया भेट्दैमा सक्कियो विरोधको कार्यकाल, खरिद सेटिङ संस्थागत गरेर भए बिदाइ

काठमाडौँ : नयाँ मन्त्री र राज्यमन्त्रीको स्वागत अनि पुरानोको बिदाइमा सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयको हल खचाखच थियो। सचिवद्धय डा. रोशन पोख्रेल र देवकुमारी गुरागाईँ, मन्त्रालय अनि विभाग, मन्त्रालयका शाखा तथा महाशाखा, अस्पताल लगायतका प्रमुख तथा कर्मचारीले हल भरिएको थियो।

मन्त्रालयमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको स्वागतसँगै निवर्तमान मन्त्री विरोध खतिवडाको बिदाइ कार्यक्रम थियो। खतिवडा केही ढिलो कार्यक्रम हलमा छिरे।

मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई सचिवद्धय पोख्रेल र गुरागार्ईंले फूलमाला अनि खादा लगाइदिएर स्वागत गरे। उनीहरूलाई स्वागत गरिरहँदा खतिवडाले एउटा फाइलमा केही लेखिरहेका थिए। सायद उनी बिदाइ मन्तव्यमा के-के बोल्ने टिपोट गरिरहेका थिए। घरी-घरी पसिना पुच्छ्थे।

नव नियुक्तमन्त्री र राज्यमन्त्रीको गलामा खादा र माला थिए। दुवै दौरा सुरुवाल र कोटमा सजिएका।, खतिवडाले सामान्य कोट पाइन्ट र सर्टमा थिए। नवनियुक्तमन्त्री र राज्यमन्त्रीलाई स्वागतपछि सचिव पोख्रेलले निवर्तमान मन्त्री खतिवडालाई ढाकाको टोपी लगाइ दिए। सचिव गुरागाईँले मायाको चिनो उपहार दिइन्। खतिवडाले निक्कै बेर लगाएर टोपी मिलाए।

स्वास्थ्य सचिव पोख्रेलले मन्त्री खतिवडाको प्रशंसा गर्दै‘नौ महिना कसरी बित्यो थाहै नभएको बताइन्। एकै ठाउँमा स्वागत र बिदाइ कार्यक्रम गर्दा अलि असहज लागेको बताइन् उनले।

निवर्तमानमन्त्री खतिवडाको पालो आयो बोल्ने। खतिवडाले भने,‘सम्भवतः बाहालहुने मन्त्री र हट्ने मन्त्री एकै ठाउँमा यति हाँसेर (स्वागत-बिदाइ) गरेको बिरलै पाउनुहुन्छ की जस्तो लाग्छ।’

स्वास्थ्य मन्त्रालयमा सम्भवतः यसअघि मन्त्रीको स्वागत बिदाइ कार्यक्रम एकैचोटी भएको थिएन पनि। कार्यक्रममा खतिवडा बेलाबेलामा ठट्टा गरिरहन्थे।

‘रोशन सचिवजीले स्वागत भिन्दै, बिदाइ (भिन्दै)  गर्न पाएको भए स्वाद हुन्छ भन्नु भयो,’ ठट्यौली शैलीमा खतिवडाले भने,‘स्वाद यसमा छ। दुई जना सचिव हुनुहुन्छ। एक जना स्वागतमा, एक जना बिदाइमा पठाइदिएको भए भइहाल्थ्यो नि।’

मन्त्रालयका सहसचिव मदन भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए। सहसचिव भुजेलले ‘शुभकामना तथा फेरी भेटौँला कार्यक्रम’ भएको भन्दै उद्घोषण गर्दा मन्त्री खतिवडाले बिचैमा ठट्टा गर्दै भने,‘फेरी भेटौँला हुन त पहिला फेरी जितौँला हुनुपर्यो नि त।’

वालेन्द्रको तारिफ

कार्यक्रममा खतिवडाले वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयरमा जितेकोप्रति प्रशंसा गरे।

‘६० दिन अगाडी चिनेको बालेन यत्रो भोट ल्याउन पनि सक्दो रहेछ। उसका प्रचारक को थिए,’खतिवडाले भने,‘उसका पार्टी कार्यालय कहाँ थिए! उसका वडा कमिटी कहाँ थिए! उसका टोल कमिटी कहाँ थिए!

खतिवडाले थपे,‘यी हाम्रा दादा भनेको पार्टीको वर्षौँदेखि काम पनि गरेका थिए। टोल टोलमा कमिटी पनि थियो। अनेकौँ मिटिङ बैठक पनि थिए। के-के थिए के-के थिए। तर, एउटा मान्छे फुत्त देखिएर त्यसका पछाडि हुरुरु मान्छे लागे। किनभने उस (बालेन्द्र) को कुरामा विश्वास गरे।’

खतिवडाले मनमोहन, बिपी र गणेशमान सम्झिए

मन्तव्यका क्रममा खतिवडाले मनमोहन अधिकारी, बिपी कोराला, गणेशमान सिंह जस्ता स्वर्गीय नेताहरूको प्रशंसा गरे।

‘मनमोहन अधिकारी, बिपी कोइराला त्यसै भएनन् होला,’खतिवडाले भने,‘त्यहाँ उनको सादगी थियो होला। त्यहाँ उनको बिचारको स्पष्टता थियो होला। त्यहाँ उनीहरूको बोली, बचन र व्यवहारमा एक रुपता थियो होला।’

मन्त्री खापुङले राज्यमन्त्री भएर स्वास्थ्य मन्त्रालयमा कामको अनुभव समेत बटुलेकाले काम गर्न सजिलो हुने खतिवडाले तर्क गरे।

सेटिङमै बित्यो कार्यकाल

कोरोना भाइरस विरुद्धको खोप लगाउने, बालबालिकामा टाइफाइड विरुद्धको खोप लगाउनुलाई खतिवडाले उपलब्धिका रूपमा लिए। कोरोना भाइरस विरुद्ध लगाएको खोपको प्रतिशतको विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको उनले सुनाए।

त्यसैले विश्व स्वास्थ्य सङ्गठनले करिब साढे ६ अर्ब मूल्य बराबरको ८४ लाख कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएको उनको दाबी थियो।

चुनावको मौका पारेर गरियो डेढ अर्बको स्वास्थ्य टेन्डर, मन्त्री विरोधदेखि महाशाखा प्रमुख डा रुद्रसम्मको भूमिका शङ्कामा

युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा बस्नेतको पद अवैध, मन्त्री र स्वास्थ्य सचिवै संरक्षक

देश भरबाट दुई सय ५० वटा डाइलाईसिस मेसिन माग भएकोमा एक सय ६५ वटा विज्ञापन गरेर असार भित्रै वितरण गरिसक्नेगरी खरिद प्रक्रिया भएको बढाइएको उनले खुलाए। तर उनले त्यसमा भएको सेटिङ खुलाएनन्। 

भारत सरकारले दुई सय वटा डाइलाइसिस मेसिन दिने भनेको र करिब दुई महिनामा ती मेसिन आइपुने मन्त्री खतिवडाले जानकारी दिए। जस अनुसार ती सय ६५ डाइलाइसिस मेसिन हुने भएको उनले सुनाए।

मिर्गौला प्रत्यारोपणको विस्तारको योजना, मुटु रोगको सेवाको विस्तारको योजना लगायतको काम गरेको खतिवडाको दाबी थियो। ४० वर्ष माथिका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण लगायतको काम आफ्नो पालामा सुरु भएको उनले सुनाए।

त्यसो उनले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने व्यवस्थाको निर्णय गराएका छन्।

तर, खतिवडाले व्यापारीको स्वार्थमा सिटामोलको तौल बढाएर मूल्य बढाउने कसरतमा लागेको छिपेको छैन। त्यसै गरी उनले नीतिगत सुधारका काममा ध्यान दिएको देखिँदैन।

सरकारी अस्पतालमा भएका बेथितिहरूका बारेमा न उनले प्रभावकारी रूपमा अनुगमन गरेको पाइयो न त त्यस्ता अस्पताललाई सुधारका लागि ठोस पहलको योजना नै ल्याएको देखियो।

बरु उनलाई व्यवस्थापन महाशाखालगायतमा हुने खरिद प्रक्रियामा समेत सेटिङको आरोप लाग्यो। पहिला कर्मचारीमा सीमित रहेको स्वास्थ्य सामाग्री खरिदको सेटिङलाई उनले मन्त्रालयतहमा संस्थागत गरेर बिदाइ भएको आरोप समेत छ। खरिद शैली हेर्दा यो आरोप मिथ्या देखिन्न पनि।

त्यति मात्रै हैन अघिल्ला मन्त्रीहरूले जस्तै उनले पनि कर्मचारी सरुवालाई निक्कै प्राथमिकता दिए। खतिवडाको इन्ट्रेस्टमा सेवा समूह नमिल्ने ठाउँमा समेत कर्मचारीको सरुवा गरे। अस्पतालका प्रमुखको हकमा खतिवडाले सिनियरलाई प्राथमिकता दिन सकेनन्।

युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रमुख भूपेन्द्र बस्नेत कानुनतः अवैध भए पनि उनले कारबाही अगाडि बढाउन सकेनन्। प्राय नियुक्तिहरूमा उनको र कांग्रेस नेतृ आरजु राणाको संलग्नताका समाचार बाहिरिए।

स्वास्थ्य उपकरण खरिदमा सक्रिय बिचौलियाहरूसँग उनको बाक्लै उठबस देखियो। उनले निश्चित कम्पनीलाई मात्र मिल्ने गरी स्पेशिफिकेशन मिलाएर टेन्डर पुर्नेसम्मका गतिविधिमा उनी र उनको टिमको सदस्यको नाम जोडियो। उनले प्रतिवाद गर्न सकेनन्।

असार १३, २०७९ सोमबार २३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।