औषधीको आवरणमा फुड सप्लिमेन्ट बेच्न सरकारले नै प्रोत्साहित गरेको औषधी उत्पादकको दाबी

औषधीको आवरणमा फुड सप्लिमेन्ट बेच्न सरकारले नै प्रोत्साहित गरेको औषधी उत्पादकको दाबी

बुटवल : नेपाल औषधी उत्पादन सङ्घले न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरूमा आफै लेबलिङग, प्याकिङग तथा मूल्य प्रिन्ट गर्नेलाई कारबाहीको माग गरेको छ।

बुटवलको दिपनगरबाट नक्कली औषधीको अवैध बिक्रिबितरण, प्याकिङ, लेबलिङ्ग साथै अधिकतम बिक्री मूल्य समेत प्रिन्ट गरी बजारमा पठाइएको भन्ने समाचार प्रतिसङ्घको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उक्त गोदामहरूमा छापा मार्दा बरामद भएका बस्तुहरू नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधीहरू नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरू रहेको बताएको छ।

उकेराले यसबारे निरन्तर समाचार प्रकाशित गरिरहेको छ। दिपनगरको एक सटर भाडामा लिएर ९ महिना देखि बुटवलका दिपेन्द्रसिंह भण्डारी र महेशदत्त सिंहले अबैध धन्दा गरेको घटना एक साता अघि मात्र सार्वजनिक भएको थियो। अहिले यी दुवै फरार छन्। प्रहरीले गोदाममा काम गर्ने ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ।

सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले केही वर्ष यता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधीकै बनावट र प्याकिङमा विक्रिवितरण भई रहेकोले पर्याप्त नियमन गरेर यस्ता अवैध कारोबार बन्द गर्नुपर्ने बताए। उनले न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधी भन्दा कयौँ गुणा बढी मुल्य लिई यस्ता उत्पादन बिक्रिबितरण भइरहेको समेत बताए।

औषधीजन्य पदार्थ मात्र बिक्रिगर्ने अनुमति पाएका औषधी पसलबाट निर्बाध रूपमा यस्ता बस्तुहरू बिक्रिहुँदा समेत सम्बन्धित निकाय मौन रहँदा औषधी उत्पादन गर्ने नेपालका कम्पनीहरूको विश्वसनीयता गुमेको उनले बताए।

नेपाली औषधी उद्योगहरूले सजिलै बनाउन सक्ने यस्तै प्रकारका उत्पादनहरू आयात गर्न पाउने, थोक तथा खुद्रा बिक्रेताहरू द्वारा बिक्रिबितरण गर्न पाउने, चिकित्सकहरूले सिफारिस गर्न पाउने तर नेपाली औषधी उद्योगले भने बनाउन नपाउने नीतिले स्वदेशी उद्योगहरू देशभित्र नै वञ्चित रहेको उनले दाबी गरेका छन्।

न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीको अवैध धन्दा : भण्डारी र जोशीले ठूला सप्लायर्सकहाँ पठाउने गरेको खुलासा

भिटामिनका नाममा ठगी धन्दा, आफूखुसी मिति, मूल्य र लेबलिङ, डाक्टरकै संलग्नतामा बिक्री

स्वदेशी औषधी उद्योगलाई वञ्चित गरी जनमानसमा भ्रममा पार्दै औषधी कै रूपमा अत्यधिक मूल्यमा बिक्री भइरहेका यस्ता बस्तुहरूको बारेमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनको भनाई छ।

खाद्य पूरकको रूपमा खाद्य प्रविधि थाहा गुण नियन्त्रण विभागबाट अनुमति लिई आयात गर्ने तर खाद्य पसलबाट बिक्रिबितरण नभई औषधी ऐन २०३५ अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीजन्य पदार्थ बिक्री गर्ने अनुमति पाएका औषधी पसलबाट बिक्री गरिने यसले जनतालाई भ्रममा पारेको अध्यक्ष पाण्डेले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सिफारिसमा यस्ता न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका बस्तुहरूको आयात भइरहेको र स्वास्थ्य मन्त्रालयले २०७४ सालमा नै प्रविधिजन्य स्वास्थ्य सम्बन्धी निर्देशिका जारी गरिसकेको भए तापनि यस्ता उत्पादन नेपाली औषधी उद्योगले बनाउन हालसम्म अनुमति पाएका छैनन्।

असार १३, २०७९ सोमबार २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।