त्यस्ती बहादुर रामकुमारी यस्ती पिन्चे भइन्
काठमाडौँ : नेकपामा विवाद हुँदादेखि नयाँ पार्टी निर्माणको समयसम्म निरन्तर माधव नेपाललाई साथ दिँदै आएको नेतृ रामकुमारी झाँक्रीले नेकपाको कार्यक्रममा मुखमा टेप टाँसेर मञ्चमा बोल्न आएको दृश्य पार्टीमा लादिएको निरङ्कुशता विरुद्धको प्रतिरोधको सिम्बोल नै बनेको थियो। राष्ट्रपति विधादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उनलाई पक्राउको प्रयास भएपछि उनले कार्यक्रममा वाक स्वतन्त्रताविरुद्ध आफ्नै पार्टीले लाद्न खोजेको निरकुशताविरुद्ध प्रतिरोध गरेकी थिइन् उनले।
राजाको सक्रिय शासनविरुद्ध सडकबाट विना हतियार गणतन्त्रको उद्घोष गरेर पोस्टर गर्लको छवि बनाएर राजनीतिमा उदाएकी थिइन् उनी। राष्ट्रपतिविरुद्धको अभिब्यक्ती विरुद्ध मुद्धा चलाउन प्रहरी घरमै आएर पक्राउ गरेको थियो उनलाई। तर १२ घन्टा हिरासतमा राख्न सकेन राज्य लाग्दा पनि।
नेकपा विभाजनसँगै एमाले भएपछि अन्तमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाँदा माधव नेपालको हात समातेर डोहोर्याइरहेकी उनको तस्बिरले पनि युवा नेतामा रहेको चुनौती स्वीकार गर्ने क्षमता देखाएको थियो।
किनकि नयाँ दल दर्ता गर्ने भनेपछि नेपाललाई साथ दिँदै आएका घनश्याम भुसालदेखि योगेश भट्टराईसम्म एमालेमै पुगिसकेको बेला युवा नेताहरुमध्ये झाँक्रीले भने नेपाललाई सधैँ साथ दिइरहेकी थिइन्। ८ महिनामै उनै झाँक्री फरक मुडमा देखिइन् आइतबार।
निडर छविकी सहरी विकास मन्त्री उनै झाँक्री आइतबार आफ्नै मन्त्रालयको कार्यकक्षमा आँसु झारी रहेको थिइन्। आँसुको कारण उनै माधव नेपाल थिए जसको हात थामेर, आफ्नो प्रभावशाली राजनीतिक यात्रालाई दाउमा राख्दै उनी एमाले जत्तिको बलियो पार्टी छाडेर नयाँ बन्ने एकीकृत समाजवादीको नेतृ हुन स्वीकार गरेकी थिइन्।
मन्त्रीदेखि प्रधानमन्त्रीसम्म राजनीति गर्दा पाउने सबै लाभ पाइसकेका छन् माधव नेपालले। उनको लागि अब राजनीतिक यात्रा भनेको फगत निरन्तरता मात्र हो। प्राप्त गर्नुपर्ने उपलब्धि बाँकी केही छैन। तर झाँक्रीको राजनीतिक यात्रा त भर्खर उँभो लागिरहेको छ। त्यो पनि चुनौतीको पहाड बोकेर। उनी सबै चुनौतीका लागि तयार हुनुको एक कारण एमालेमा एकछत्र भएको केपी ओलीको राज नै थियो जहाँ ओलीको आलोचना गर्न पूर्ण निषेध थियो।
त्यही विरुद्ध विद्रोह गरेकी झाँक्रीले नयाँ पार्टी बनेको ८ महिनामै माधव नेपालको निर्णयको विरोध मात्र गर्न सकिन् विद्रोह गर्न सकिनन्। उनले विना कारण मन्त्री पदबाट हटाउने माधव नेपालको निर्णयको प्रतिरोध गरिरहिन्। तर साथ दिने अन्य मन्त्रीहरू राजीनामाका लागि राजी भएपछि पदको लोभीको ट्याग बोक्न पक्कै उनको मनले मानेन। त्यसैले आँसु झार्दै भए पनि उनी बिदा हुन राजी भइन्।
सायद राजीनामाको घोषणा गर्दा उनले त्यही निर्वाचन आयोगमा माधव नेपालको हात समातिरहेको दृश्य सम्झिन् होला र त उनको आँसु थामिएन।
असार १२, २०७९ आइतबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।