पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिने

पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिने

पाल्पाः निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ। नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताए।

यस्तै गाउँपालिकाले ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ। सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गर्ने बताए। मासिक रु एक हजारका दरले भत्ता वितरण गरिनेछ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६४ करोड ९८ लाख ६ हजार ५७० बराबरको बजेट ल्याएको छ।

गाउँपालिका अध्यक्ष सारुले आगामी पाँच वर्षभित्र निस्दीलाई अतिकम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने पनि बताए।

असार १२, २०७९ आइतबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।