'हामीले न माल चिनेका छौँ न हिमाल'

'हामीले न माल चिनेका छौँ न हिमाल'

खिमलाल गौतम पेशाले निजामती कर्मचारी हुन्। नापी विभाग अन्तर्गत उनी सर्भेयरका रुपमा कार्यरत छन्। साल्जवर्ग विश्वविद्यालय, अस्ट्रियाबाट भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर गरेका उनी निजामती सेवामा प्रवेश गरेको १७ वर्ष भयो। 

पहिलोपटक २०६८ मा र दोस्रो पटक २०७६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका उनले नेपालको तर्फबाट सगरमाथाको उचाइ नाप्ने पहिलो नेपाली कर्मचारीको समेत नेतृत्व गरे। सगरमाथा मापन गर्दाको अनुभूती हिमाल प्रति दृष्टीकोणका विभिन्न आयमहरु समेटेर उनले 'पन्ध्रौँ चुली' पुस्तक प्रकाशन गरेका छन्। यिनै विविध आयम समेटेर उकेराकर्मी प्रजु पन्तले गौतमसँग गरेको कुराकानी :

पन्ध्रौँ चुली पुस्तक नियात्रा जस्तो भए पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक पाटो पनि समेट्नु भएको रहेछ। लेखन यात्रा कस्तो रह्यो?

पुस्तक धेरै विषयको समिश्रण जस्तो भएको छ। मेरो यो पहिलो पुस्तक हो। स्टोरी राइटिङ हिसाबले लेखेको पनि थिइनँ। मैले नियात्रा भए पनि दुई खण्डमा भाग लगाउनुको कारण सगरमाथाको इतिहास, यसको खोजी, मापन र आरोहीबारे केही हदसम्म जानकारी समेट्नु उपयोगी हुन्छ जस्तो लागेर नै हो। त्यसकारण पहिलो खण्डमा आरोही र सर्भेयरको अनुभूति र दोस्रो खण्डमा इतिहास खण्ड राखेको हुँ। किताब ऐतिहासिक भयो या भएन त्यो त पाठकको जिम्मा। 

मनको आरोह-अवरोध पनि समेट्नुभएको छ है।

आरोहण साथै र सर्भेक्षणको जिम्मा लिएर सगरमाथा चढेपनि आरोही फगत आरोही मात्र होइन। आरोहीको जीवनका आयमहरु  पनि ओकल्न उपयुक्त लाग्यो। हिडेको बेला एक्लो भइदैन, घर परिवार साथी भाई आउँछन् नै मनमा। त्यसकारण मलाई लागेका कुरा पनि लेखेको हुँ। समुद्र भएका देशहरुले समुद्रबारे लेख्छन्। मरुभूमि भएका देशहरुले मरुभूमिबारे। हाम्रो हिमाल छ किन हिमालबारे नलेख्ने? भन्ने मेरो बुझाइ रह्यो। त्यसैले मैले यो किताब भूगोल र भावानाको फ्युजन गराउन खोजेको हुँ।

चढ्ने तयारीमै किताब लेख्ने पनि योजना थियो?

नेपाल सरकारले निजामती कर्मचारीलाई सगरमाथा चढ्न पठाउने भएपछि २०६८ सालमा म पनि आरोहणमा गएँ। २०७६ सालमा सगरमाथाको मापन गर्ने सिलसिलामा समिट अब्जरबेसन गर्ने काममा सहभागी हुनुपर्ने भयो। २०६८ सालदेखि नै योबारे लेख्छु भन्ने लागेको थियो। पुस्तक भने अहिले २०७९ सालमा आयो। 

पहिलो पटक आरोहण गर्दा आरोहण गर्नु मात्रै उद्देश्य थियो, दोस्रो पटक आरोहण गर्दा चुलीमा पुगेर काम गर्नुपर्ने भयो। पौने दुई घण्टा शिखरमा बिताउँदा कस्तो अनुभव भयो? अहिले सम्झिदा कस्तो लाग्छ?

आरोहण गर्नु मात्रै सजिलो रहेछ। जिम्मेवारीसहित काम गर्नु गाह्रो रहेछ। पहिलो पटक जाँदा चुचुरोमा गएपछि काम सकियो। दोस्रो पटक जाँदा भने चुचुरोमा पुग्नु मात्रै ठूलो कुरा भएन पौने दुई घण्टा काम गर्नुपर्ने थियो। सरुभत्तले 'चुली' किताब लेखेका छन् 'सगरमाथा आरोहण गर्नु मात्रै ठूलो कुरा होइन ओर्लिनु पनि हो'। सगरमाथा चढेपछि झर्न पनि उत्तिकै नै गार्हो रहेछ। दुई घण्टा शिखरमा बिताउँदा काम गर्नुपर्ने प्रमुख ध्यान रह्यो। अहिले ज्यान हत्केलामा राखेर जिम्मेवारी पूरा गरेकोमा गर्व अनुभूति हुन्छ।

नेपालीले हिमाल बुझ्न खोजेको धेरै भएको छैन। अधिकांश नेपालीलाई हिमालबारे उति थाहा पनि छैन। हामीले हिमालको महत्व नबुझेको की ज्ञान नै नभएको?

नागरिकको पहुँचमा शिक्षा पुगेको सय वर्ष पनि पुगेको छैन। जब बिपी कोइराला प्रधानमन्त्री भए अनी २०१६ सालपछि नै धेरै विद्यालय खुलेका देखिन्छन्। विदेशीले हिमाल, मरुभूमि खोज्दा हामी अन्धकारको युगमा थियौँ। हामीलाई अन्धकार कोठाभित्र राखिएको थियो।

सन् १९५० मा फ्रेञ्च नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमाल चढेपछि किताब लेखे। त्यो किताब विदेशीहरुले पढे। उनीहरुले नेपाल भन्ने देश रहेछ भन्ने थाहा पाए। जब हाम्रोमा शिक्षाको पहुँच विस्तार हुँदै गयो तब थाहा हुँदै गएको हो। हामीले महत्व नबुझेको होइन। अवसर नपाएको हो।

अर्को दृष्टिकोणबाट बुझ्दा हामीलाई हाम्रो हिमालबारे थाहा नहुँदै विदेशीले नाप्नेदेखि चुचुरोमा पुग्ने समेत प्रयास गरे। हाम्रा शासकलाई नै यो कुरा मतलबको विषय भएन है?

हिमाल मात्रै होइन कि हाम्राबारे हामीलाई नै धेरै कुरा थाहा छैन, अरूलाई थाहा छ। आफ्नो चिजको महत्व आफैँलाई थाहा नहुनु राम्रो हैन। हामीले न त माल चिनेका छौँ न हिमाल चिनेका छौँ। वैदिककालदेखि नै हिमालको चर्चा भए पनि हामीले पढेका रहेनछौँ। त्यतिबेलाका शासकहरुको त के नै कुरा गर्नु र? हामीले हिमाल जोगाउन पनि बुझ्नुपर्ने छ।

जब हामी हिमाल चिन्दैछौँ हिमाललाई जलवायु परिर्वतनले धेरै असर गरेको छ। हिमाल झन् बिग्रदै छ। हामीले यसलाई मुद्दाको रूपमा अन्तराष्ट्रिय क्षेत्रमा उठाउन सकेका छौँ त?

हाम्रो कारणले गर्दा मात्र जलवायु परिर्वतन भएको होइन, हिउँ पग्लिएको हैन। हाम्रा हिमाल अरूका कारणले विनाश भइरहेका छन्। सामारिक दृष्टिकोणले पनि महत्वपूर्ण छ। जलवायु परिर्वतनका विषय पनि हामीले जानेर उठाएका हैनौँ। भर्खरै मैले अंग्रेजीमा आधार शिविरको डायरी नामक लेख लेखेको थिएँ र त्यहाँ मैले आवश्यक छलफल र गृहकार्य गरेर बेस क्याम्प तल सार्न पनि सकिन्छ भनेर उल्लेख गरेको थिँए।  किन भने हिउँ पग्लने दर बढ्दै छ। अन्तराष्ट्रियस्तरमा यो विषय चर्चाको विषय भयो पनि। हिमाललाई हामीले हेरेकै छैनौँ।

बाहिर मिडियामा हल्ला भएजस्तो सगरमाथामा फोहोर त भएको छैन। ९ वर्षमा ४ डिग्रीले तापक्रम बढेको छ। बेस क्याम्पको यो तहसम्म पुग्दा पनि हामीले केही गर्न सकिरहेका  छैनौँ। त्यसकारण न त हामीले हिमाल चिनेका छौँ न त हामीले अन्तर्राष्ट्रियस्तरमा हिमालमा भइरहेको अवस्थाबारे जानकारी गराउन नै सकेका छौँ।

हाम्रा प्रतिनिधि सभा, राष्ट्रिय सभामा समेत यो कुरा उठ्नुपर्ने हो। सरकारी स्तरबाट अनुसन्धानका पेपरहरु सार्वजनिक हुनुपर्ने हो। किन यस्तो बेवास्ता भएको होला?

हिमालबारे न त लेखिएको छ न त बोलिएको छ। जति लेख्नपर्ने हो लेखिएकै छैन। साहित्यक रूपमा 'चुली'  र 'सल्लीपीर' लगायतका केही छन्। सरकारीस्तरबाट पनि अध्ययन अनुसन्धानमा काम भएको छैन। उदासीनता र बेवास्ताभन्दा पनि प्राथामिकतामा नपरेको हो कि! 

सगरमाथामा फोहोर बढेको कुरा समाचारहरुमा आइरहन्छ। तपाईंले पनि चुलीबाट फर्कदा ट्राइपड बोक्न नसकेर फालेँ भनेर पुस्तकमा उल्लेख गर्नु भएको छ? यस्तै फोहोरहरु थुप्रेका हुन्?

८ हजार मिटरमाथि फोहोर छैन। तल-तल भने अलि-अलि हो। पौने दुई घण्टा काम गर्दा यति थाकियो कि म अहिले कल्पना समेत गर्न सक्दिनँ। हाम्रो अक्सिजन सकिन लागेको थियो। तल झर्दा म बेहोस पनि भएँ। त्यसकारण उतै फालियो।

चुचुरोमा धेरै बेर बस्दा हाम्रो टोली गलिसकेको थियो। त्यसले गर्दा हामीले लगेको सामान पनि हामीलाई भारी भइरहेको थियो। हिमालमा गडबड हुँदा शरीर त त्यतै छोड्नुपर्छ, साथी त छोडेर हिँड्नुको विकल्प हुँदैन भने त्यो सानो ट्राईपोड त्यतै छोड्नुको विकल्प हामीसँग थिएन, त्यसकारण हामीले ट्राईपोडलाई काङसुङ फेसतिर फालेको कुरा सत्य हो।

कुरा के भने नि, किन छोडेको भन्दा पनि के कारणले छोडेको भन्ने बुझ्नुपर्छ, नभए आफूसँग लगेको सामान हामी किन छोड्ने थियौँ र?उक्लिदाभन्दा ओर्लिदा ८० प्रतिशत दुर्घटना हुनेरहेछ। 

न्युर्योक टाइम्सले केही समय अघि सरकारी कर्मचारीहरु बेसक्याम्पसम्म पनि नपुग्ने र जिम्मेवारी पूरा नगर्ने कारण सगरमाथा आरोहण अव्यवस्थित भएको भन्ने लेखेको थियो। यसको व्यवस्थापनको लागि के गर्नुपर्ला?

पहिले होला तर अहिले सरकारी कर्मचारी पुगेकै छन्। कतिपय कर्मचारी बिरामी भएर फर्कन परेको पनि हुनसक्छ। यसका लागि मन्त्रालयले पुनर्विचार नै गरेर काम गर्नुपर्ने हुन्छ।  

विश्वका १४ वटा ८ हजारमाथिका शिखरमध्ये ८ वटा हाम्रो देशमा छ। ६ हजार मिटरका उति नै छन्। हामीले विश्वका आरोहीलाई हिमाल चढ्न सिकाउने, पढाउने गर्नुपर्नेमा विदेशमा गएर पढेर, सिकेर आएका छौँ। क्लाइबिङ यूनिभर्सिटीको आवश्यकता देख्नुहुन्छ?

त्रिविमा अहिले पर्यटनबारे पढाइ भइरहेको छ। यसको दायराहरु फराकिलो बनाएर जिओलोजी, जिओग्राफी, मानवसभ्यता, सैद्धान्तिकदेखि प्रयोगात्मक पढाइ भयो भने राम्रै होला। फरक यूनिभर्सिटी परिकल्पना गरेको भए त झनै राम्रो नि! अध्ययन अनुसन्धानतर्फ हाम्रो पढाइ मोडिनुपर्छ। यसको आवश्यकता देखिन्छ पनि। 

हिमालबारे कस्ता कृति लेखिउन् भन्ने लाग्छ?

नेपालीको दृष्टिकोणबाट हिमालबारे लेखिनुपर्छ। विदेशीले तथ्य राखेर गैरआख्यान पुस्तक धेरै लेखेका छन्। हामीले लेख्न सकेका छैनौँ। मैले सुनेको एक लाखभन्दा बढी गीत सगरमाथाबारे चीनमा छ। हाम्रोमा साहित्य, इतिहास, यसको महत्वदेखि हरेक पाटोबारे किताब लेखिउन् भन्ने मलाई लाग्छ।

अब तपाईंले कस्तो किताब लेख्नुहुन्छ?

अर्को किताब पनि हिमालबारे नै हुन्छ। तर यही बेला आउँछ भनेर भन्न सक्ने अवस्थामा म छैन। 

असार ११, २०७९ शनिबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।