सुर्खेतका पालिकाको बजेटः शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

सुर्खेतका पालिकाको बजेटः शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ। 

नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको हो । यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो।

शुक्रबार नगर सभामा आगामी आवको बजेट प्रस्तुत गर्दै उपप्रमुख निलकण्ठ खनालले शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ बजेट ल्याइएको जनाए। आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैंगिक रूपमा महिलामैत्री, सामाजिक रूपले समावेशी- सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा निर्माण गर्ने योजना प्राथमिकतामा छन्।

उक्त नीति तथा कार्यक्रममा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरी आकाशे पुलको निर्माण गरिने भएको छ।

नगरका फुटपाथ, साईकल लेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग, ट्राफिक लाइनिङ्गसमेतको डिजाईन गरी नमुना सडक निर्माण गर्ने कार्यको थालनी, उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरीको पानी लिफ्टीङ्ग आयोजना अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरू सँगको सहकार्य र आर्थिक वर्षदेखि पहुँच मार्ग निर्माण लगायत अति आवश्यक पूर्वाधारका कार्यहरूको सुरुआत गरिने छ।

नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सुचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवं शुल्क तिरेको अनुभूति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिइनेछ।

बराहतालमा ६२ करोड ७१ लाख
बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन्।

चालुतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पुँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। यस्तै, पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्राथामिकतामा राखेर बजेट ल्याएको छ।

लेकबेशीमा ७४ करोड ८७ लाख 
लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ बराबरको बजेट ल्याएको छ। शुक्रबार आगामी वर्ष २०७९–८० का लागि नगर उपप्रमुख विमला खड्लुकले उक्त बजेट ल्याएकी हुन्।

उपप्रमुख खड्लुका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै, विकास साझेदार संघ-सस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रुपैयाँ बजेट लेकबेशीको रहेको छ।

पञ्चपुरीमा ८६ करोड २० लाख 
पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ। नगरपालिकाको नीति तथा कार्यक्रममा कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको छ। 
नीति तथा कार्यक्रममा कृषकहरूलाई ५० प्रतिशत लागत सहभागितामा आधुनिक कृषि औजार खरिद तथा प्रविधि सहयोग गर्ने, मौरिपालन तथा बीउ खरिदमा सहयोग गर्ने कार्यक्रम रहको छ। त्यस्तै पशुपालनमा पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। जेष्ठ नागरिकहरूको घरदैलोमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र निःशुल्क आँखा उपचार गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी प्रत्येक विद्यालयमा खेलकुद मैदान निर्माण, पर्यटकीय क्षेत्रको संरक्षण र फोहर मैला व्यवस्थापन गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

बजेट तथा कार्यक्रममा नगरको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, दिगो विकासमा जोड दिने, स्थानीय भेसभुसा तथा धर्म संस्कृतिको पहिचान गर्ने र सुशासन र सेवा प्रवाहमा विशेष योगदान पुर्याउने प्रमुख प्राथमिकतामा रहेका छन्।

गूर्भाकोटमा ९५ करोड ५८ लाख 
गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छ । आगामी वर्ष २०७९÷८० का लागि नगर उपप्रमुख मैना वि।कले उक्त बजेट नगर सभामा प्रस्तुत गरेकी हुन्। यस्तै, नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट ल्याएको छ।

नीति तथा कार्यक्रममा कृषकहरूलाई ५० प्रतिशत लागत सहभागितामा आधुनिक कृषि औजार खरिद तथा प्रविधि सहयोग गर्ने, मौरीपालन तथा बीउ खरिदमा सहयोग गर्ने कार्यक्रम रहको छ। 

त्यस्तै पशुपालनमा पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। जेष्ठ नागरिकहरूको घरदैलोमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र निःशुल्क आँखा उपचार गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी प्रत्येक विद्यालयमा खेलकुद मैदान निर्माण, पर्यटकीय क्षेत्रको संरक्षण र फोहर मैला व्यवस्थापन गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै सुर्खेतकै चौकुने गाउँपालिकाले ५७ करोड ६८ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिइएको छ।

भेरीगंगा नगरपालिकाले ६७ करोड बजेट ल्याएको छ। भेरीगंगाले पनि शिक्षा र पूर्वाधारमा जोड दिएको छ। सिम्ता गाउँपालिकाले ६९ करोड ९५ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ। जसमध्ये ४२ प्रतिशत चालु र ५८ प्रतिशत बजेट पुजीगत रहेको छ । उक्त बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ। त्यसैगरी चिङ्गाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ३८ लाख ९६ हजार ८ सय ४० रूपैयाँको बजेट ल्याएको छ।

जिल्लाकै अग्लो ठाउँ मालिकादेखि चिङ्गाड खोलाको मुहानको रूपमा रहेको बुरूसे झरनालाई खुल्ला पार्क एवं अध्ययन स्थल र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना लिएको छ। समग्र नीति कार्यक्रममा उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य,पर्यटनलाई जोड दिएको छ।

असार १०, २०७९ शुक्रबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।