पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ल्यायो ८ अर्ब ७७ करोड ७५ लाखको बजेट
पोखरा : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। शुक्रबार पोखरा सभागृहमा डाकिएको ११ औँ नगर सभामा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक बर्ष २०७९-०८० का लागि बजेट सार्वजनिक गरेकी हुन्।
पोखरा महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरेको थियो। महानगरले चालु आर्थिक बर्षको भन्दा आगामी आर्थिक वर्षका लागि २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढीको बजेट ल्याएको हो।
यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगर सभा बहिष्कार गरेका थिए। एमालेका नगर सदस्यले नाराबाजी गरेपछि स्थगित भएको नगर सभा दुवै पक्षको वार्तापछि उपमेयर मञ्जुदेवी गुरुङले नगर सभामा बजेट भाषण प्रस्तुत गरेकी हुन्।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ।
विभिन्न श्रीषकको छुट्टाइएको बजेटमा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ। यो कम भएको बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन्।
असार १०, २०७९ शुक्रबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।