काठमाडौँ महानगरको बजेटमा ५० प्रतिशत पूर्वाधार निर्माणमा, ढुंगेधारा पुनर्निर्माण र पुरातात्त्विक क्षेत्र संरक्षणलाई प्राथमिकता
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५० प्रतिशत बजेट पूर्वाधार निर्माणमा छुट्ट्याएको छ। शुक्रवार नगर सभामा उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ४१ करोड ९६ लाखको बजेट पेस गरेकी थिइन्।
महानगर नगर सभाको एघारौँ बैठकमा डङ्गोलले सार्वजनिक गरेको बजेटमा पूर्वाधार निर्माणका लागि ११ अर्ब ८ करोड रुपैयाँ छुट्ट्याइएको छ। यो कुल बजेटको ४९.५७ प्रतिशत हो।
बजेटमा काठमाडौँका परम्परागत ढुंगेधारा पुनर्स्थापनालाई विशेष प्राथमिकता दिएको छ। प्राकृतिक रूपले पानी खसाल्न सकिने स्थानमा त्यही गरिने र पानी आपूर्ति हुन नसक्ने धारालाई कला र संस्कृति प्रवर्द्धनको निम्ति पुनर्स्थापना गरिने उल्लेख छ।
परम्परागत मठ-मन्दिरहरू र ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा स्थलको संरक्षणलाई समेत बजेटमा प्राथमिकता दिइएको छ।
पूर्वाधारपछि बजेटको सबभन्दा ठुलो हिस्सा कार्यालय सञ्चालन र प्रशासनिक खर्चमा छुट्ट्याइएको छ। यसमा ४ अर्ब ६८ करोड रुपैयाँ छुट्ट्याइएको छ। सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ६२ करोड, सुशासन कार्यक्रम सञ्चालन गर्न ४ अर्ब ४६ करोड र आर्थिक विकासका लागि ५० करोड २१ लाख छुट्ट्याइएको छ।
महानगरले आगामी आर्थिक वर्षका लागि वडा कार्यालयहरूको सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न चालू आर्थिक वर्षको तुलनामा दोब्बर बजेट दिने घोषणा गरेको छ। बजेटमा सुनधारास्थित महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण गर्ने, महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने र डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम बजेटमा समावेश छन्।
सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, फोहोर मैलालाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरूमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने, विभिन्न ठाउँमा दमकल स्टेसनहरू राख्ने, ज्येष्ठ नागरिकहरूका निम्ति घरघरमा स्वास्थ्य परीक्षणको सुविधा दिने कार्यक्रम समेत राखिएको छ।
असार १०, २०७९ शुक्रबार १६:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।