विज एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

विज एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

बुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सुरु भएसँगै यात्रुको राम्रो साथ पाएपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न विभिन्न कम्पनीहरूले चासो देखाइरहेका छन्। जेठ २ गते देखि औपचारिक रूपमा कुवेतको जजिराले व्यवसायीक उडान भरे सँगै यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि अरू कम्पनीहरूले चासो देखाइरहेका छन्।

एयर अरेयिबा र युएईको  फ्लाई दुबईले सेवा थाल्ने प्रक्रिया सुरु गरेको हप्ता दिन नबित्दै आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ।

विज एयरले भैरहवामा एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ। विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलो पटक उडान गर्न लागेको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए।

विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरू एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताए।

विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ। जसले गर्दा उडान शुल्क समेत सस्तो भएको छ। त्यसतै विमानस्थललाई लक्षित गरेर भैरहवामा श्रम कार्यालय स्थापना समेत भइसकेको छ। श्रम तथा रोजगार शाखा संचालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ। जसका कारण  भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरूका लागि नजिक परेको छ।

असार १०, २०७९ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।