ललितपुरको बजेट ६ अर्ब ३५ करोड, २ वर्ष सडक खन्न नपाइने

ललितपुरको बजेट ६ अर्ब ३५ करोड, २ वर्ष सडक खन्न नपाइने

ललितपुर : ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शुक्रवार आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम पेस गरेका थिए।

सार्वजनिक भएको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने, महानगरभित्रका सडकहरू खन्न कम्तीमा २ वर्षसम्म स्वीकृति नदिने, उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने, सत्यमोहन जोशी एकेडेमी बनाउने लगायतका रहेका छन्।

महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापना गर्न जोड दिने,महानरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बौद्ध परियति शिक्षालाई ऐच्छिक पाठ्यक्रमका रुपमा समावेश गर्ने,एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना गर्ने, नगर स्तरीय आवधिक शिक्षा योजना निर्माण गर्ने, कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यक्रम÷पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने समेत घोषणा गरेको छ।

यसैगरी महानगरले विद्यालयको पूर्वाधार र जनशक्तिको आधारमा पाँच विद्यालयमा स्टिम कार्यक्रम सञ्चालन गर्ने, विद्यालयस्तरमा खेलकुल कार्यक्रमलाई प्रोत्साहन गर्न माध्यामिक स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने घोषणा समेत गरेको छ। 

असार १०, २०७९ शुक्रबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।