तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम पारित

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम पारित

समृद्ध नगर खुसी नगर बासीको नारा सहित ल्याइएको नीति तथा कार्यक्रमले तिलोत्तमालाई समृद्ध,समतामूलक,स्वच्छ,हराभरा र विकसित नगर बनाउने लक्ष्य लिइएको छ। जनप्रतिनिधिहरू शासक होइनन् सेवक हुन भन्ने मान्यताबाट सन्तुलित र सम न्यायिक विकासलाई ध्यानमा राखेर नगरको सेवालाई छिटो छरितो,जनउत्तरदायी र पारदर्शी  बनाउने प्रतिबद्धता गरिएको छ।

बाल्यकालमा शिक्षा,स्वास्थ्य र पोषण युवा अवस्थामा सीप,उद्यमशीलता र रोजगारी,जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकलाई सम्मान संरक्षण महिलालाई समता मूलक अवसर सिर्जना हुने गरी नीति कार्यक्रम तयार गरिएको नगरप्रमुख खाँणले बताए।

नीति कार्यक्रमले शिक्षा,स्वास्थ्य,उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता दिएको छ। श्रम बैंक तथा रोजगार सूचना केन्द्र स्थापना गरी सीप ज्ञान,दक्षताको आधारमा श्रमकार्ड वितरण गर्ने नीति लिइएको छ। हिंसा मुक्त र समतामूलक समाज निर्माणका लागि समुदाय स्तरमा सचेतना मूलक कार्यक्रमहरूलाई जोड दिइएको छ। महिला बालबालिका र ज्येष्ठ नागरिक अनुकूलको नगर निर्माणमा ध्यान दिने भनिएको छ। एक वडा एक ज्येष्ठ नागरिक बिश्राम स्थलका लागि ‘तिलोत्तमा चौतारी’ निर्माणको नीति लिइएको छ। युवा कालागि नगरप्रमुख  युवा उद्यमी परिचालन कोष स्थापना गरी उद्याम सीलताको विकास गर्ने नीति लिइएको छ। लैगिक,जातीय,क्षेत्रीय,धार्मिक सांस्कृतिक तथा भाषिक विभेदलाई निषेध गर्ने भनिएको छ।

शिक्षा तर्फ सामुदायिक विद्यालयहरूको बिद्युत् र पानीको महसुलमा ५० प्रतिशत छुट दिने र इन्टरनेट निःशुल्क बनाउने नीति लिइएको छ। वडा नं.१४ मा सिटी कजेज संचालनका लागि सिटिइभिटिइबाट सम्बन्धन लिएर विभिन्न विद्यामा कक्षा संचालन गर्ने, नैतिक तथा व्यवहारिक शिक्षाका लागि एक विद्यालय एक पुस्तकालय तथा इलाइब्रेरी संचालन गर्ने नीति लिइएको छ। हाल १२ वटा स्कुलमा संचालन भएको एक विद्यालय एक नर्सको नीति आगामी वर्ष सबै सामुदायिक विद्यालयमा लागु गर्ने भनिएको छ। 

आगामी वर्ष ३ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा १० लाख विशेष अनुदान दिने र ती बस संचालनमा प्रति महिना १ लाख दिने उल्लेख छ। सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने छ। सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बिद्यार्थीहरुको खाजा खर्चमा नगरबाट १० थप गरी २५ पुराइएको छ। बालबालिका माथि हुने यौनजन्य हिंसाबाट बच्न प्रतिरक्षात्मक सिप तथा जनचेतना मूलक कार्यक्रम संचालन गर्ने उल्लेख छ। प्रत्येक वाडमा खेल मेदान र नगरमा रङ्गशाला निर्माण गर्ने भनिएको छ।

स्वास्थ्यमा नगर प्रमुख विपन्न सहायता कोष स्थापना गरी गरिब विपन्न नागरिकहरूको गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहुँच र व्यवस्था गर्ने नीति लिइएको छ। स्वस्थ नगर बासी स्वस्थ नगर भन्ने नारा सहित गुणस्तरीय स्वास्थ्य सेवामा नगर बासीको समतामूलक पहुँच विस्तार गर्ने भनिएको छ। नगर स्तरीय ल्याव स्थापना, नगरप्रमुख संग ज्येष्ठ नागरिक स्वास्थ्य जाँच,व्लड बैंक स्थापनालाई प्राथमिकता दिइएको छ।

सेमरा हेल्थ पोस्टलाई १५ शय्याको अस्पताल बनाउने,वडा नं.६ र १७ मा रहेको बिपी ग्राममा निर्माणाधीन १५ शय्याको अस्पताललाई संचालनमा ल्याउने भनिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई १ हजार भत्ता निरन्तरता दिइने,गर्भवती महिलालाई निःशुल्क क्याल्सियम वितरण तथा सुत्केरी महिलाको पोषण सुधार गर्न गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ। गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भनिएको छ।

कृषि क्षेत्रको विकास र प्रबद्र्धनका लागि पाँच बर्से कृषि योजना तर्जुमा गरी कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ। नगरप्रमुखसंग किसान कार्यक्रम मार्फत नगरका कृषकहरूलाई संघ सरकारको किसानसँग सरकार कार्यक्रम बिच समन्वय गरी जोडने नीति लिइएको छ।  नगरको वडा नं. १४ लाई तरकारीको पकेट, १२ लाई मकै पकेट क्षेत्र,१३ लाई माछा,१७ गहुँ  पकेट क्षेत्रलाई प्रोत्साहन गर्दै अन्य वडामा पनि अध्ययन गरी  विभिन्न बाली पकेट क्षेत्र बनाउने नीति लिइएको छ। कृषि र कृषक प्रोत्साहनका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याइएको छ। 

पशुपालक किसानका लागि आधारभूत भेटेनेरी सेवा  र भ्याक्सिन निःशुल्क गर्ने भनिएको छ। वडा नं. १७ को निर्माणाधीन चिस्यान केन्द्र संचालनमा निजी तथा सहकारीसँग सहकार्य गर्ने भनिएको छ। जग्गा खाली राख्न नपाइने नीतिलाई निरन्तरता दिइएको छ। कृषि र्फामहरु संचालनलाइ प्रोत्साहन गर्न नीति ल्याइएको छ। तिनाउ र रोहीणीका नदी उकास क्षेत्रमा उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने भनिएको छ। कृषि एम्बुलेन्स संचालनमा ल्याउने भनिएको छ। विदेशबाट फर्केकाहरूलाई कृषि पेसामा जोडन सामूहिक तथा व्यावसायिक योजनाहरूलाई प्रोत्साहनको नीति लिइएको छ।

एक घर एक धारा कार्यक्रम सफल बनाउन प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी काम गर्ने भनिएको छ। सिचाईका लागि स्यालो ट्युवेल,पुराना सिचाइको मर्मत सम्भार गर्ने,१६-३६ सिचाइका सम्पूर्ण ठुला साना नहर कुलो संरक्षण मर्मत सम्भार पक्की बनाउने लगायतका कामलाई नीति कार्यक्रमले प्राथमिकता दिएको छ।

तिलोत्तमालाई साइकल सिटीको रूपमा विकास गर्न आवश्यक गृहकार्य गर्ने भनिएको छ। यसअघि नगरका घरमा एकै किसिमका रङ्ग कोड लगाउनु पर्ने भनेर यसअघिको नेतृत्वले ल्याएको बाध्यात्मक नियमलाई हटाइ स्वैच्छिक बनाइएको छ। वडा नं. १३ र १४ मा प्रस्तावित प्रादेशिक बसपार्क, १६ र १७ मा एकीकृत जग्गा विकास योजना,१३ मा अटो भिलेज स्थापनालाई नीति कार्यक्रमले समेटेको छ। नगर स्तरीय कोशेली घर,युवा तथा महिलासँग उपमेयर कार्यक्रम, ६ लेन सडकका मुख्य चोकमा आगलागी नियन्त्रणका लागि फायर वाटर हाइड्रयान्ट सिष्टम राख्ने जस्ता समुदायसँग जोडिएका कार्यक्रमहरू ल्याइएको छ।

लेखा प्रणाली,बेरुजु फर्छ्यौट जस्ता कार्यलाई चुस्त दुरुस्त र व्यवस्थित गर्न लेखा समितिको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ। विपत् उद्धार व्यवस्थापनका लागि टाक्सफोर्स बनाइने भनिएको छ।

लक्षित वर्ग महिला,बालबालिका,अपाङ्गता,आदिवासी,जनजाति,दलित,ज्येष्ठ नागरिक,मधेसी,मुस्लिम र पिछडा वर्ग समुदायको आर्थिक,सामाजिक र सांस्कृतिक समृद्धिका लागि महत्वपूर्ण कार्यक्रमहरू संचालन गरी विभेद रहित र समतामूलक समाज निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ। 

असार ९, २०७९ बिहीबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।