दल दर्तै नभई शब्दको किचलोमा स्वतन्त्र पार्टी, अजेण्डा पुराना र वैकल्पिक दलको मिसमास
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको क्याप्टेन बन्दै राजनीतिक यात्रामा होमिएका रवि लामिछानेले आफ्नो दलको नाम 'स्वतन्त्र' शब्द राखेपछि आगामी निर्वाचनमा कुनै दलमा आबद्ध नभई उम्मेदवार बन्ने तयारीमा रहेकाहरू झस्किए।
अरू स्वतन्त्रमाथि भ्रम पैदा भएको भन्दै केही त निर्वाचन आयोगमै पुगिसकेका छन्। तर आयोगले संवैधानिक प्रावधान विपरीत र आयोगमा दर्ता भइसकेको नाम बाहेकको हकमा कुनै शब्दलाई नै हेरेर दर्ता रोक्न सक्दैन। अन्य दलसँग नाम नमिले अनि संविधान प्रतिकुल विधान नभए दल दर्ता रोकिने सम्भावना देखिन्न।
स्वतन्त्र शब्दप्रति आपत्ति जनाउनेमध्ये एक स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहु रवीले प्रस्ताव गरेको पार्टीको नामले स्वतन्त्र उम्मेदवारहरू अप्ठ्यारोमा परेको तर्क गर्छन्।
‘उहाँले (रवि लामिछाने) स्वतन्त्रको नाममा भ्रम फैलाउनुभयो। अवसरवादीको रोल खेल्नुभयो। युवाहरू राजनीतिमा आउनुपर्छ,’ साहुले भने ‘स्वतन्त्र अभियानको माहौल चल्यो, सबैलाई समेटेर लैजान्छु भन्ने भ्रम फैलियो। स्वतन्त्र साथीहरूलाई तपाई रविको पार्टीको हो भनेर प्रश्न आउन थाल्यो यसको उत्तर दिनका निमित्त पनि उहाँले स्वतन्त्र शब्द हटाउनुस् भनेका हौँ।’
अभियानको तर्फबाट उनले आयोगमा गएर उजुरी समेत हाली सकेका छन्। अर्का स्वतन्त्र उम्मेदवारीको तयारी गरिरहेका मनोज पण्डितले पनि बुधवार आयोगमा पुगेर उजुरी दिएका छन्।
मङ्गलवार सार्वजनिक भएको प्रस्तावित पार्टीको उद्देश्यहरूमा प्रारम्भिक निर्वाचन, युवा सहभागिता ५० प्रतिशत, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, राइट टु रिकल र राइट टु रिजेक्ट, डिजिटल डेमोक्रेसीको अभ्यास, परिवारवाद निषेध, कार्यकर्ता रहित पार्टी गरी ७ अवधारणा सार्वजनिक भएको छ।
उनले व्यवस्था नभई अवस्था बदल्न आएको बताएका थिए। मूलधारका राजनीतिक दलभन्दा फरक रहेर वैकल्पिक राजनीति गर्ने लामिछानेले दाबी गरेका थिए। रवीले जस्तै अवस्था बदल्ने नारा दिएर नयाँ शक्ति, विवेकशील र साझा पार्टी आएका थिए।
तर राजनीतिक यात्रामा यी तीनै दल बदलिए। तर अवस्था जस्ताको त्यस्तै रह्यो।
विवेकशीलले डकुमेन्टमा कार्यकर्ता भन्ने शब्द प्रयोग गरेन। सदस्य अनि कानुनी रूपमा उमेर नपुगेकालाई पार्टीले साथी भनेर सम्बोधन गर्थ्यो। नयाँ शक्तिमा पनि पदाधिकारीहरूलाई पदको नाम नदिएर उत्प्रेरक भनिएको थियो।
नयाँ शक्ति अन्य दलसँग एकिकरणहुँदै जनता समाजवादी पार्टीमा विलीन भइसकेको छ। साझासँग एकीकरण गरेर विवेकशील साझा बनेको पार्टीबाट रवीन्द्र मिश्रले राजीनामा दिएपछि नेतृत्व नै पाउन सकेको छैन। साझासँग नगएकाहरूले नेपाल विवेकशील पार्टी दर्ता गरेर अगाडि बढ्ने प्रयास गरिरहेका छन्। तर पुरानो माहौल फर्काउन सकेका छैनन्।
काँग्रेस महामन्त्री गगन थापा पुराना दलमा काम गर्ने हुटहुटी भएकालाई स्पेस नभएकाले स्वतन्त्र र नयाँ दल आएको बताउँछन्। काम गर्ने हुटहुटी भएकाहरूलाई दलभित्र प्रवेश सहज बनाउनुपर्ने उनको मत छ।
‘नयाँ-नयाँ आकाङ्क्षा भएको, केही गर्छु भन्ने हुटहुटी भएका साथीहरूलाई राजनीतिक दलभित्र सजिलोसँग छिर्ने, मौका प्राप्त गर्न सक्ने बनाउनुपर्यो। वर्षौँसम्म दलमा कुर्नुपर्ने, दलभित्र छिर्दाखेरि नै डर लाग्ने अवस्था हटाउनुपर्छ,’ थापाले भने, ‘स्वतन्त्र भएर उम्मेदवार बनेर आउन स्वनिर्णय गरेर पुग्यो। तर दलभित्र जाँदा वर्षौँ लाग्ने परिस्थिति छ। यसलाई बदल्नुपर्छ।'उनले वैकल्पिक राजनीति गर्छु भनेर आएका र परीक्षण भएर असफल भैसकेका राजनीतिक दलका अजेण्डासँग स्वतन्त्र राष्ट्रिय पार्टीका अजेण्डा मिलेको बताए।
विश्लेषक तथा जसपाका नेता डम्बर खतिवडा रवीको घोषणामा नेपालको राजनीतिक भन्दा बाहिरको कुरा नदेखिएको टिप्पणी गरे। नेपालमा वैकल्पिक पार्टी आवश्यक छ भने पनि व्यवहारमा त्यो सम्भव नभएको र रवीले उठाएको विषय नयाँ र वैकल्पिक भनिएका नयाँ शक्ति, विवेकशील र साझाले प्रयोग गरिसकेका र असफल भैसकेको व्यवस्था रहेको बताए।
‘कार्यकर्ता रहित पार्टीको अवधारणा रविन्द्र मिश्रले अभ्यास गरिसकेका छन्। नयाँ शक्ति, विवेकशील र साझाले पनि व्यवस्था बदल्न होइन अवस्था बदल्न आएको भनेर लेखेका थिए,' खतिवडाले भने, ‘ दस्ताबेजमा लेखेर घोषणा गर्नु र कार्यान्वयन गर्नु फरक कुरा रहेछ। ५ वर्षभित्रमा महाधिवेशन पनि गर्न सकेनौँ।'
विवेकशील अनि विवेकशील साझा हुँदै अहिले स्वतन्त्र रहेका मिलन पाण्डेले मङ्गलवार राष्ट्रिय सभा गृहको उपस्थितिलाई २०७४ साउन ११ गते इन्द्रेणी हलको दृश्यसँग जोडे।
'हामी २०७४ साल साउन ११ गते इन्द्रेणी हलमा लगभग यस्तै कार्यक्रम गरेर विवेकशील साझा पार्टी एकीकरण गरेका हौँ। सफल भएनौँ असफल पनि भन्दिैनौं, उनले भने।
दश वर्षमा न्यारेटिभ चेन्ज गरेको र पारदर्शीताको कुरादेखि नेपाल खुल्ला छ सम्मको अभियान अगाडि बढाएको भन्दै उनले सङ्गठनलाई एकीकृत राख्न नसक्नु अनि वैचारिक बेमेल हुँदा दस वर्षमा १० मध्ये ३ काम गर्न असफल भएको बताए।
‘जितेको मान्छेले कसरी जित्न सकिन्छ भनेर अनुभव सुनाउँछ। असफल भएको मान्छेले यो कुरा नगर्नुस् भनेर भन्ने कुरा धेरै छ,’ पाण्डेले भने, ‘मैले मात्र गर्न सक्छु भन्ने खालको एटिच्युड छोड्नुपर्यो। म होइन हामी भन्ने भावनाको विकास हुनुपर्यो।’
स्वतन्त्र राष्ट्रिय पार्टीको अवधारणा
प्रारम्भिक निर्वाचन
स्वतन्त्र राष्ट्रिय पार्टीबाट उम्मेदवार बन्नका लागि आफ्नै पार्टीमा पहिला चुनाव सामना गर्नुपर्छ। तल्लो तहको मत नलिएर कोही नेता हुन पाउँदैन। कसैले टिका नलगाउने र चाकडी गरेको आधारमा नहुने संयोजक रवि लामिछानेले बताएका छन्। राजनीतिक दलमा यस्तो अवधारणा नभएकोले आफ्नो पार्टी फरक भएको लामिछानेको दाबी छ। आन्तरिक रूपमा प्रतिस्पर्धा गरेर तल्ला समितिबाट सिफारिस भएर उम्मेदवार बन्नुपर्ने काँग्रेस, एमाले लगायतका राजनीतिक दलमा यो अभ्यास विधानमै छ।
युवा सहभागिता ५० प्रतिशत
युवाहरूलाई ५० प्रतिशत अनिवार्य गरेर युवामैत्री पार्टी बनाउन खोजेको देखिन्छ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
स्वतन्त्र राष्ट्रिय पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणा छ। त्यसका लागि पार्टीको साधारण सदस्य र सभापतिमा निर्वाचित भएको हुनुपर्ने छ। मन्त्री परिषद्मा हुने टिम नै घोषणा गरेर चुनावमा जान सक्नेछ। यस्तो व्यवस्थामा नेतृत्व तानाशाह बन्ने खतरा रहने भन्दो आलोचना भएको छ।
राइट टु रिकल र राइट टु रिजेक्ट
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीबाट निर्वाचित भएर गएकाहरूले राम्रो काम नगरेर अस्वीकृत गर्ने र फिर्ता बोलाउने व्यवस्था हुने बताए। नेतृत्वलाई तानाशाह बन्नबाट रोक्न पार्टीप्रति बफादार हुनुपर्ने उसको अवधारणा छ।
डिजिटल डेमोक्रेसीको अभ्यास
मतपत्र हटाइ विद्युतीय मतदान गरी डिजिटल डेमोक्रेसीको अवधारणा सो पार्टीको छ।
परिवारवाद निषेध
राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवादलाई निषेध गर्ने अवधारणा छ। एउटै परिवारको सदस्यले लाभको पद पाउने छैनन्। यसले गर्दा एकै परिवारको सिन्डिकेट रहनेछैन। कांग्रेसमा लामो समय कोइराला परिवारले अवसर पाएको थियो भने अहिलेे माओवादी लगायतका पार्टीहरूमा परिवारवादको कुरा बहसमा आउँछ।
कार्यकर्ता रहित पार्टी
स्वतन्त्र राष्ट्रिय पार्टीमा कार्यकर्ता हुनेछैन। पार्टी सदस्य र फलोअर्स हुनेछन्। यो अभ्यास विवेकशील नयाँ शक्तिले गरिसकेका छन्। व्यापारीबाट चन्दा नलिने र सर्वसाधारणबाट थोरै सहयोग सङ्कलन गरेर पार्टी सञ्चालन गरिने अवधारणा छ।
असार ८, २०७९ बुधबार २०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।