अर्थमन्त्रीले मौद्रिक नीतिको आलोचना गर्दा शेयर बजारमा सकारात्मक प्रभाव, ४-१२ नीति बदलिने आसमा बढ्यो परिसूचक
काठमाडौँ : गलत मौद्रिक नीतिका कारण शेयर बजारमा त्यसको नकारात्मक प्रभाव परेको अर्थमन्त्री जनार्दन शर्माको धारणा सार्वजनिक भएसँगै मङ्गलवार शेयर बजार बढेको छ। पछिल्लो १८ कारोबार निरन्तर ओरालो लागिरहेको थियो।
मङ्गलवार नेप्से ३७.४९ अङ्क बढेर १९२२.३० विन्दुमा पुग्यो। सेन्सेटिभ इन्डेक्स ८.८१ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स २.६१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८७ अङ्क बढेको छ।
यसलाई लगानीकर्ताहरूले संशोधनको माग गरिरहेको ४/१२ को नीति संशोधन हुने अनुमानले शेयर बजारमा प्रभाव पारेको देखिन्छ।
नेपाल राष्ट्र बैङ्कले २०७८/०७९ को मौद्रिक नीतिमा सेयर बजारमा ४/१२ को सीमारेखा कोरेको थियो। यो नीति अनुसार सेयर धितो कर्जामा एकल ऋणी (स्वार्थ जोडिएका पारिवारिक सदस्यहरू सहित) सीमा एउटा संस्थाको आधारमा चार करोड र सबै संस्थाहरूबाट १२ करोड पुर्याएको थियो।
यसको नकारात्मक प्रभावका शेयर बजारमा परेको दाबी गरिँदै आएको छ। अर्थमन्त्रीले मौद्रिक नीतिको कुन व्यवस्थाको प्रभाव शेयर बजारमा परेको हो भन्ने नखुलाए पनि लगानीकर्ताहरुहरुले उनको अभिव्यक्तिलाई ४-१२ नीति लक्षित अभिव्यक्तिको रूपमा लिएको देखियो।
त्यसको प्रभाव मङ्गलवार शेयर बजारमा पर्दा २ सय ३१ स्टकको २५ हजार ३ सय ६४ पटकको कारोबारमा १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको ३७ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भयो।
आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोसी डेभलपमेन्ट बैङ्कको शेयर सकारात्मक सर्किट लेभलमा पुगेर कारोबार भएको थियो। सामुदायिक लघुवित्त, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर र एनएमबि हाइब्रिड फण्ड एल-१ को मूल्य ८ प्रतिशतभन्दा बढी बढ्यो।
नेपाल टेलिकमको ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। छ। कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा हो। नबिल बैङ्कको ४ करोडभन्दा बढीको शेयर कारोबार भयो।
मङ्गलवार विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढ्यो भने वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। होटेल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
असार ७, २०७९ मंगलबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।