चिप्लाउन माहिर प्रकाश सुवेदीले रजतपट बन्द गरेर ल्याए नयाँ कार्यक्रम

चिप्लाउन माहिर प्रकाश सुवेदीले रजतपट बन्द गरेर ल्याए नयाँ कार्यक्रम

काठमाडौँ : मनोरञ्जक कार्यक्रम सञ्चालन गर्दै आएका प्रकाश सुवेदी सपरिवार अमेरिका जाने तयारीमा थिए। त्यसैले त उनले पटक पटक विवादमा आएको कार्यक्रम रजतपट बन्द गर्ने घोषणा गरेका थिए। उनको शैलीका कारण चिप्लाउने अङ्कलको उपनामले परिचित भए।

कार्यक्रम पटक-पटक विवादमा मात्र आएन कानुनी कारबाहीमा समेत पर्यो। केही समय शो बन्द पनि भयो। उनले रजतपट बन्द गर्ने घोषणा त्यही विवादका कारण होला भन्ने सन्देश गयो। तर कारण उनी एक्स्ट्राअर्डिनरी भिसामा सपरिवार अमेरिका जाने तयारीमा रहेको उनी निकट स्रोतले बताएको थियो।

पल शाहको केसमा उनले नाबालिगको पहिचान खुलाएकाले उनी विरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि उनले माफी मागेर कारबाहीबाट उन्मुक्ति पाएका थिए।

उनले वाचा अनुसार रजतपट बन्द गरे। रजतपट मात्रै हैन उनले ग्ल्यामर गफ अनि बागिना कार्यक्रम पनि बन्द गरे। तर उनी टेलिभिजन पर्दाबाट बिदा लिएनन्। उनले तीनै कार्यक्रम मर्ज गरेर नयाँ कार्यक्रम ल्याए 'द प्रकाश सुवेदी शो'। उनले दाबी गरे अनुसार यो नयाँ कार्यक्रम बन्द भएका यी तीनै कार्यक्रमको मिश्रण हो।

उनले नयाँ शोको पहिलो कार्यक्रममै सम्बन्ध त्यति राम्रो नभएको अभिनेत्री स्वस्तिमा खड्कालाई ल्याए। उनले खड्काले लकडाउनको बेलामा श्रीमान्लाई बोकेर हिँडेको भिडियो देखाउँदै बुढो बोक्यो हिँड्यो भन्दै प्रसारण गरेका थिए।

त्यो बेलामा स्वस्तिमा र निश्चल बस्नेतले सामाजिक सञ्जालमा अन्तर्वार्तामा बोलाउँदा नआएकाले त्यस्तो सामाग्री प्रसारण गरेको भन्दै अबदेखि प्रकाश सुवेदीको कार्यक्रममा नआउने घोषणा गरेका थिए।

तर स्वस्तिमा सुवेदीको कार्यक्रममा आइन् चिसो मान्छेको प्रमोसनमा। कार्यक्रममा स्वस्तिमाले अन्तर्वार्ताका लागि बोलाउँदा आउन सक्दिन भनेको भोलिपल्ट यस्तो सामाग्री प्रसारण भएकाले रिस उठेको दाबी गरेकी थिइन्।

भनेपछि नयाँ कार्यक्रम सुरु गरेर प्रकाश अनि स्वस्तिमाले आफ्नो वाचा पुरा पनि गरे पुरा पनि गरेनन्। एक प्रकाश सुवेदीले वाचा अनुसार रजतपट बन्द गरे तर नयाँ कार्यक्रम ल्याए। स्वस्तिमाले सुवेदीको रजतपटमा आउँदिन भनेकी थिइन्। उनी रजतपट कार्यक्रममा आइनन् पनि तर नयाँ कार्यक्रममा आइन्। यस्तो हो सम्बन्ध र वाचा। कहिले आगो  अनि कहिले पानी।

असार ६, २०७९ सोमबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।