फिल्म चिसो मान्छेबारे तातो बहस तर व्यापार भने चिसै
काठमाडौँ : फिल्म 'चिसो मान्छे' बाट मिश्रित प्रतिक्रिया पाइरहेको छ निर्माण टिमले। सामाजिक सञ्जाल र मिडियामा राम्रै बहस छ यो फिल्मबारे। फिल्मबारे आएका नकारात्मक समीक्षाको विरोध पनि भइरहेको छ। जसरी सञ्जाल र मिडियामा बाक्लो बहस भइरहेको छ फिल्मबारे हलमा दर्शकको सङ्ख्या भने त्यति बाक्लै छैन।
शनिवार केही राम्रो व्यापार गरे पनि अन्य दिनको व्यापार स्लो छ फिल्मको कथा जस्तै। यसबाट पक्कै निर्देशक दीपेन्द्र के खनाल खुसी छैनन् नै। उनले निर्देशन गरेका फिल्महरूको नतिजा यस्तै देखिन्छन्। मिडियामा बाक्लो बहस तर हलमा दर्शक सधैँ पातलो। आइतबारसम्मको तथ्याङ्कमा करिब २ करोड हाराहारीको ग्रस कलेक्सन मात्र भएको देखिन्छ फिल्मको।
यस अगाडि रिलिज भएको कबड्डी-४ ले १८ करोड बढीको व्यापार गर्यो। यसले पनि चिसो मान्छेको टिम उत्साहित थिए। तर सोमबारसम्म पनि दर्शकले उत्साहजनक साथ दिएका छैनन्।
फिल्म ‘पशुपति प्रसाद' ले अन्य फिल्मको तुलनामा राम्रै व्यापार गर्यो। तर त्यसपछि भने व्यापारिक रूपमा उनी सफल हुन सकेका छैनन्। 'आमा' बाट पनि उनले राम्रो प्रतिक्रिया पाएका नै हुन्। तर व्यापार राम्रो भएन।
अहिले 'चिसो मान्छे’ को व्यापार पनि चिसै छ। परीक्षणका रूपमा फिल्म बनाउने एउटा कुरा तर जे जस्तो फिल्म बनाए पनि यदि त्यो आर्थिक रूपमा बलियो भइदिएन भने के काम। उनको हकमा यस्तै भइरहेको छ। आमा फिल्मबाट उनले राष्ट्रिय चलचित्र पुरस्कार पनि पाएका हुन्। तर राष्ट्रिय पुरस्कारले मात्र फिल्म त दिँदैन।
एकपछि अर्को फिल्म आर्थिक रूपमा असफल भएपछि निर्माताले रुचाउने सूचीमा पर्ने निर्देशक बन्न उनलाई गाह्रो हुने पक्का छ। त्यसैले होला अब उनी आफ्नो आगामी यात्रा सामाजिक कथावस्तु छाडेर कमर्शियल फिल्मतिर लाग्ने प्रयास गरिरहेका छन्। त्यसैको प्रारम्भ विन्दु बन्न सक्छ फिल्म ‘के घर के डेरा’।
असार ६, २०७९ सोमबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।