फिल्म समीक्षामाथि समीक्षा : अल्छीलाग्दो हुनु नै उत्कृष्ट फिल्मको मापन हो त !
मैले 'चिसो मान्छे' हेरेको छैन। तर यसबारे लेखिएको लगभग सबै 'समीक्षा' पढें।
तर, ती कुनै पनि समीक्षा जस्तै लागेन। कतै समीक्षा भडास बनेर पोखिएको थियो, कतै पीआर बनाउने हतियार।
खैर, हु एम आई टु जज्!
एउटा निर्माताले लाखौं करोडौं खर्चिएपछि, कथा लेख्नेले महिनौं लगाएर कथा लेखेपछि, निर्देशकले उत्तिकै मेहनत गरेर स्टोरीबोर्ड/सट डिभिजन गरेपछि, कलाकारले आफ्नो भूमिकालाई आत्मसात गरेपछि अनि प्राविधिकले त्यहीअनुसार शिल्प देखाएपछि एउटा फिल्म बन्छ। यसको वितरणको मेहनत फेरि अर्कै छ। त्यता नजाऔं।
तर, नेपाली मिडियाले फिल्मलाई कति हलुकासँग लिन्छ र फिल्म समीक्षालाई कस्ता व्यक्तिको हातमा थमाइदिएको छ भन्ने यथार्थ भनिसाध्य छैन।
फिल्म कलेज त निकै परको कुरा, फिल्मबारे एउटा वर्कशप पनि नलिएको जस्तो देखिन्छ हाम्रा समीक्षकको समीक्षा हेर्दा।
फिल्मको ग्रामर बुझ्न सकेनन्, ल मानियो। पत्रकारले फिल्मको ग्रामर पढेर बस्ने पनि हुँदैन होला। तर, सामान्य जानकारी त पक्कै हुनुपर्छ नै।
अलफ्रेड हिच्कक, आन्द्रे तार्कोभ्सकी, अकिरा कुरोसावा, सत्यजीत रे हुँदै पछिल्लो समयका मार्टिन स्कोरसेसी, स्टिभन स्पिलबर्ग, कोएन ब्रदर्श, क्रिस्टोफर नोलन, डेविड फिन्चरको नाम चाहिँ सुनेका होलान् नेपाली समीक्षकले। किनकी, तिनको नाम लिँदैमा मात्र पनि फिल्म बुझ्ने 'बौद्धिक जगत्'भित्र प्रवेश पाइन्छ।
अँ उहाँहरूले सबैभन्दा धेरै नाम भन्नसक्ने चाहिँ ईरानी फिल्ममेकरको हो।
ओके, अब कुरोको चुरोतिर जाउँ।
चिसो मान्छेबारे पढेका अधिकांश समीक्षा सरसर्ती हेर्दा- ५० प्रतिशत लेख फिल्मको कथा नै रि-राइट गर्न खर्चिएका छन् समीक्षकले।
४० प्रतिशत त्यही रि-राइट गरिएको कथालाई आ-आफ्नै तरिकाले व्याख्या अनि विश्लेषण गरिएको छ। अनि बाँकी १० प्रतिशत मात्र खास 'फिल्म समीक्षा' छ। अर्थात्, क्यामेरावर्क, एडिटिङ, साउण्ड लगायतका पक्ष थोरै आएको छ। तर, त्यो पनि अधुरो। अल्पज्ञानसहित।
हाम्रा कति समीक्षक होलान् जसलाई फिल्ममा टप एङ्गल सट र लो एङ्गल सटको सामान्य अर्थ थाहा छ? जसलाई सट साइज र सट टाइप थाहा छ? हाम्रा कति समीक्षकले बी-रोल, इन्सर्ट, र्याक फोकस, म्याच कट, प्यारालल कट, एल-कट, जे-कटको अर्थ बुझेका छन्? हामीकहाँ कति समीक्षक होलान् जसले फिल्ममा प्रयोग भएको लाइटिङको अर्थ बुझ्छन्?
अरू त छोडौं 'लाइन क्रस'को अर्थ कति समीक्षकले बुझेका छन्?
फिल्मको प्राविधिक कुरा सबै निर्देशकले पनि बुझेका हुँदैनन्। त्यसैले फिल्म पत्रकार वा समीक्षकले सबै बुझ्नैपर्छ भन्ने अडानमा म छुइनँ। तर सामान्य ज्ञान त राख्नैपर्छ आफूले कलम चलाउने क्षेत्रबारे।
न्यूनतम धर्म त पालना गर्नैपर्छ! फिल्म समीक्षाको नाममा कथाको सारांश मात्र लेख्न हुन्न।
नेपाली फिल्मका समीक्षकहरुमा देखिएको अर्को समस्या हो- कथा राम्रो भेटाए फिल्म नै राम्रो भनिदिने।
फिल्म हेर्दा मनोरञ्जनात्मक हुनुपर्छ। कथा मात्र चाहिन्छ भने यत्रा साहित्यिक किताब छन्। एउटा उठाए भइहाल्यो।
फिल्म हेर्दा सिनेम्याटिक एक्सपिरियन्स हुनुपर्यो। यथार्थपरकता मात्र चाहिने भए- समाचार पढे भइहाल्यो।
समीक्षकको अर्को समस्या हो- नेपालीको दुःख बेच्ने कथा छ भने उत्कृष्ट भनिदिन कत्ति पनि समय लगाउँदैनन्।
फिल्म अडियो माध्यम होइन, भिजुअल माध्यम मात्र पनि होइन। यो अडियो-भिजुअल माध्यम हो। र अडियो-भिजुअल एक अर्काको विकल्प होइन, परस्पर हुन्। यति सामान्य ज्ञान पनि देख्दिनँ म समीक्षामा।
कथा उत्कृष्ट हुँदैमा फिल्म उत्कृष्ट हुने भए - नयनराज पाण्डेको उपन्यास 'लू' माथि फिल्म बन्दैछ। उपन्यास र यसको कथाको चौतर्फी तारिफ भएकै छ। अब भविष्यमा बन्ने फिल्मलाई अहिले नै उत्कृष्ट भनिदिउँ न त।
त्यसो भनिहाल्न पनि एउटा समस्या छ। 'समर लभ' कथाको रूपमा लोकप्रिय भयो, फिल्मले पानी पनि भन्न पाएन। यसलाई के भन्ने?
'प्रेमपिण्ड' र 'सेतो बाघ'लाई के भन्ने?
तर हाम्रा समीक्षकको लागि फिल्म भनेको कथा हो। हाम्रा समीक्षकको लागि उत्कृष्ट फिल्म भनेको नेपालीको दुःख बेचिएको फिल्म हो।
धेरै गहन फिल्मको कुरा नगरौँ। स्टिभन स्पिलबर्गको 'रेयडर्स अफ द लस्ट आर्क' हालसम्म बनेको स्पाइ/एडभेन्चरस् विधाको उत्कृष्टमध्येको फिल्म मानिन्छ। यो फिल्म मनोरञ्जनले भरिपूर्ण छ। तर, सँगसँगै कलात्मक पनि।
यही फिल्म नेपाली निर्देशकले बनाएको भए अनि हाम्रा समीक्षकको हातमा परेको भए के-केसम्म भन्न भ्याउँथे, यस्सो सोचिहेर्छु म।
क्रिस्टोफर नोलनको 'इन्सेप्सन'लाई यथार्थपरक भएन भनेर कति गाली गर्थे होला! अनि मार्भलका फिल्म त हाम्रा समीक्षकको कलमसँग डराएर बन्दै हुन्थे होला।
नेपालमा फिल्म समीक्षकको मुख्य समस्या मनोरञ्जनात्मक फिल्म उत्कृष्ट हुँदैन भन्ने प्रिअकुपाइड माइन्डसेट हो। अनि हरेक स्लो फिल्म उत्कृष्ट फिल्म हो भन्ने भ्रम पनि ।
म दावी गर्नसक्छु- चिसो मान्छेलाई पनि स्लो फिल्म भएकै कारण अनि मनोरञ्जनात्मक नभएकै कारण उत्कृष्ट देखेका छन् हाम्रा कतिपय समीक्षकले।
यति भनिरहँदा म एउटा साथीको भनाइ कहिल्यै बिर्सन सक्दिनँ। हामी गोपीकृष्ण हलमा 'सेतो सूर्य' हेर्न गएका थियौं। फिल्मले चौतर्फी तारिफ बटुलेको थियो।
साथी खुब इन्जोय गरेर फिल्म हेरिरहँदा मलाई भने सकस भइरहेको थियो। अनि उसले मेरो सकसपन देखेर भन्यो, 'यस्तै हुन्छ के अवार्ड जितेका फिल्महरू। अल्छीलाग्दो हुन्छ। तर, क्या दामी छ यार फिल्म।'
उसको दामीको मापदण्डमा के-के पर्यो। मैले बुझ्न सकिनँ। उसको भनाइअनुसार त अल्छीलाग्दो हुनु नै उत्कृष्ट फिल्म हुनुरहेछ।
ऊ अहिले नेपालको ठूलै मिडियामा पत्रकार छ। धन्न, फिल्म समीक्षा चाहिँ लेख्न भ्याएको छैन।
अर्को, नेपाली पत्रकारको भिजुअल लिट्रेसी कतिसम्म बिजोग छ भनेर थाहा पाउन मन छ भने नेपाली टेलिभिजन च्यानलमा आउने समाचार, तिनको खिचाइ, प्रस्तुति हेरे पुगिहाल्छ।
टेलिभिजनकै जनशक्तिको त्यो हालत हुँदा अनलाइन र पत्रिकामै आफ्नो जीवन व्यतित गरेका पत्रकारले फिल्मको कथाबाहेक अर्थोक बुझ्छन् भन्ने कुरामा तत्काल त म सहमत छुइन।
होलान्। हुँदै नहुने भन्ने पनि हुँदैन।
तर चिसो मान्छेकै समीक्षा पढ्दा चाहिँ त्यस्ता समीक्षक छन् भन्ने विश्वास पलाइहालेन।
एकदिन क्लासमा 'नेपाली फिल्म किन उल्टो दिशामा हिँडिरहेको छ?' भनेर प्रश्न गरेको थिएँ मैले मेरो गुरुलाई। उनले दिएको उत्तर क्या सटिक लाग्यो मलाई।
उनले भनेका थिए, 'नेपाली फिल्म उद्योगमा प्रविधि अपग्रेड भयो। प्राविधिक चाहिँ डाउनग्रेड भए।'
हो, यस्तै छ चलचित्र उद्योगको हालत। अनि यस्तै छ चलचित्र समीक्षा गर्नेको अवस्था। डाउनग्रेडेड।
असार ५, २०७९ आइतबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।