अनलाइन जुवा खेलाउने एन्फाको अनुमतिको अनुसन्धानबारे सिआइबी प्रवक्ता भन्छन्' ध्यानाकर्षण भएको छ, बुझ्दै छौँ'

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतोले नेपालको कानुन अनुसार कुनै पनि प्रकारको जुवा खेल्ने र खेलाउने अनुमति दिन नमिल्ने भन्दै अखिल नेपाल फुटबल सङ्घले अनलाइन जुवा खेलाउन मिल्ने गरी विदेशी कम्पनीसँग सम्झौता गरेकोबारे सिआइबीले बुझिरहेको बताएका छन्।
ब्युरोमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रहरीले कानुन हेर्ने र मुलुकी अपराध संहिताले कुनै पनि प्रकारको जुवा खेल्न अनि खेलाउन अनुमति नदिने भएकाले ब्युरोको धारणा पनि यही भएको बताए।
एन्फाका पदाधिकारीले स्विट्जरल्यान्डको कम्पनीलाई नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताको प्रसारणको अधिकारसँगै बेट( अनलाइन जुवा) समेत खेलाउन पाउने गरी अनुमति दिएको सम्झौता पत्र बाहिरिइसकेको अवस्थामा सिआइबीले अब के गर्छ भन्ने पत्रकारको जिज्ञासामा उनले यसबारे बुझ्ने काम भइरहेको र सिआइबीले आधिकारिक निकायबाट सम्झौता पत्र नपाई मिडियामा सार्वजनिक भएकै आधारमा त्यही भएको हो भन्न नसक्ने बताए।
कहिकतै अपराध भइरहेको र अपराध हुनसक्ने देखिएमा अनुसन्धान गर्न प्रहरीलाई अधिकार छ। तर उनीहरूलाई अनुसन्धान गर्न इच्छा नलागेको विषयमा भने आधिकारिक जानकारी नभएको भन्दै पन्छिने गरेका छन्। यस अगाडि काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेका बालेन शाहले जित्छन् या हार्छन् भनेर खसी बाजी राखेको सम्झौता पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएकै आधारमा प्रहरीले बाजी राख्ने दुबैजनालाई पक्राउ गरेको थियो।
तर एन्फा पदाधिकारीको गैर कानुनी गतिविधिको अनुसन्धानमा पनि सिआइबीका अधिकारीबाट तत्काल एन्फा पदाधिकारिको गैर कानुनी सम्झौताबारे अनुसन्धान प्रक्रिया अगाडि नबढाउने संकेत देखियो।
सम्झौता गराउने एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा सोमबार हुने साधारण सभा र निर्वाचनमा पुन अध्यक्षको उम्मेदवार बन्दै छन्। उनी यस अगाडि नेपाली कांग्रेस समर्थकहरूको समर्थनमा एन्फाको अध्यक्ष भएका थिए। उनी अहिले पनि कांग्रेसको उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवार बनेका हुन्। अहिले प्रधानमन्त्री र गृहमन्त्री दुवै नेपाली कांग्रेसका छन्।
'यसबारे सिआइबीको ध्यानाकर्षण भएको छ। समाचारमा प्रकाशित भएको हाम्रो कार्यालय प्रमुख( एआइजी उत्तमराज सुवेदी) अनि प्रहरी प्रवक्ता ज्युको भनाई पढेका छौँ। नेपालमा कुनै पनि प्रकारको जुवा खेल्ने र खेलाउने गर्न पाइँदैन। हाम्रो भनाई पनि त्यही नै हो। यसबारे हाम्रो ध्यानाकर्षण भएको छ। आधिकारिक निकायबाट सम्झौता पत्र आएपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ।'
एन्फाका पदाधिकारीहरूले स्विट्जरल्यान्डको इम्पावर स्पोर्टस् एजीसँग अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरूले आफूले आयोजना गर्ने फुटबल प्रतियोगिता, राष्ट्रिय टोली सहभागी हुने प्रतियोगिता मात्रै हैन नेपालमा आयोजना हुने फिफा, एएफसि अनि साफ प्रतियोगितादेखि फ्रेण्डली म्याचको समेत प्रत्यक्ष प्रसारण गर्ने अनुमति दिने बहानामा एक अन्तर्राष्ट्रिय कम्पनीलाई त्यही खेललाई आधार बनाएर खेलाइने जुवाका लागि समेत अनुमति दिएको सम्झौता पत्र सहित शुक्रवार समाचार प्रकाशित गरेको थियो।
उकेरामा समाचार प्रकाशित भएपछि एन्फाले विज्ञप्ति निकाल्दै 'अन्तर्राष्ट्रिय अभ्यास अन्तर्गत बेटिङ कानुनी भएका देशमा बेटिङ गर्न पाउने गरी सम्झौता भएको' स्वीकार गरेको थियो। उकेरामा समाचार प्रकाशित भएपछि एन्फाको कार्यसमितिमा रहेका अध्यक्ष कर्माछिरीङ शेर्पा र महासचिव इन्द्रमान तुलाधर बाहेककाले कार्यसमितिलाई जानकारी नै नदिई गैर कानुनी काम गर्न पाउने गरी सम्झौता गरेको भन्दै अध्यक्ष र महासचिवमाथि कारबाहीको माग गरेका थिए।
असार ५, २०७९ आइतबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।