कैलालीबाट ३३ केभी विद्युत् सुर्खेत ल्याइने
सुर्खेत : कैलालीबाट ३३ केभी विद्युत् सुर्खेत ल्याउन थालिएको छ। कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तार ढिलाइ हुने भएपछि कैलाली(सुर्खेत ३३ केभी प्रसारण लाइन ल्याउन थालिएको हो।
वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत् लाइन कैलालीको चिसापानी–सोल्टा–बावियाचौर–बड्डिचौर–बाँगेशीमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदे सब–स्टेशनमा जोडिनेछ। मोहन्याल गाउँपालिकामा विद्युत् विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ।
सोल्टाबाट बावियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप पोलिङ र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ। यो क्षेत्रमा रुखहरु नपर्ने भएकाले असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्र बावियाचौरस्थित विद्युतको सब–स्टेशनमा विस्तार गरिने नेपाल विद्दुत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका इञ्जिनियर लालबहादुर शाहले जानकारी दिए।
उनका अनुसार बाबियाचौरमा करिव तीन वर्ष अघि नै सब–स्टेशनमा आवश्यक विद्युतका सबै संरचना जडान गरिसकिएको छ। कैलालीको सोल्टाबाट ३३ केभी विद्युत् ल्याउने सबै प्रक्रिया अन्तिम चरणमा छ,’ इन्जिनियर लालबहादुर शाहले भने, ‘बावियाचौरसम्म विद्युत् ल्याउन कुनै अवरोह नभएकोले निर्धारित समयमा काम सकेर पश्चिममा पनि विद्युत् विस्तार गरि वीरेन्द्रनगर लगायत कर्णालीमा विद्यमान देखिएको लो–भोल्टेजको समस्या समाधान गरिनेछ ।’
कोहलपुरबाट ल्याइएको लाइनमा समस्या देखिएमा कैलालीबाट थपिएको लाइन सुचारु गर्न सकिने उनको भनाइ छ।
बावियाचौरसहित पश्चिम क्षेत्रमा विद्युतको राष्ट्रिय प्रसारण लाईन विस्तारको अवधारणा २०६८ सालदेखी शुरु गरिएको थियो। बराहताल गाउँपालिका तथा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका क्षेत्रमा पर्ने १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोगको गर्न दिने निर्णय मन्त्रीपरिषद्ले यसअघि नै गरिसकेको छ।
असार ३, २०७९ शुक्रबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।