सबै मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

सबै मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

सुर्खेतः कर्णाली प्रदेश सरकारले ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ। प्रदेशका आठै वटा मन्त्रालय एकै ठाउँमा रहने गरी प्रदेश कर्णाली सिंहदरबार बनाइने भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमीनमा कर्णाली सिंहदरबार बनाइने बताइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा रु १५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठ वटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताए।

“हामीले गत आर्थिक वर्षमै प्रदेश सरकारका मन्त्रालयहरू एकै ठाउँमा बनाउन खोजेका थियौँ”, उनले भने, “त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियो। तर सङ्गठन संरचना फेरबदल हुँदा अब पुनः डीपीआर गरी निर्माण कार्यलाई अघि बढाउँछौँ।”

मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताए। यसका लागि आगामी आवको पहिलो महिनामै काम थालनी गरिने उनको भनाइ थियो।

असार ३, २०७९ शुक्रबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।