कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोड बजेट, अधिकांश योजना पुरानै

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोड बजेट, अधिकांश योजना पुरानै

सुर्खेत : कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ। बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षमा सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र सिँचाइमा तीव्र विकास गर्ने, बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, कर्णालीलाई लगानी प्रदेशको रूपमा विकास गर्ने, विभेद अन्त्यका लागि सबै वर्गको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ बजेट ल्याइएको छ। 

तत्काल प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, सवल र दक्ष जनशक्ति उत्पादन, मौसमअनुकूल कृषि बालीको वृद्धि, उद्योगमार्फत तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा छन्।

बजेटमा अधिकांश योजनाहरू पुरानै रहेका छन् भने  केही मात्रामा नयाँ योजनाहरू समावेश भएका छन्। गत वर्षको बजेटमा समावेश भएका कर्णालीका किसानलाई गोठालो भत्ता र सुनको हलो (तक्मा) दिने योजना भने यो बजेटमा समेटिएका छैनन्। यस्तै प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ। 

कर्णाली जनता सिँचाइ कार्यक्रमका लागि ८ करोड र टार सिँचाइ कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गर्दा नदी तटबन्धका लागि १३ करोड र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ। प्रदेश रङ्गशाला निर्माणका लागि ६० करोड बजेट विनियोजन गरिएको छ। 

विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा मार्फत विद्युतीकरण गर्न कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत  १० करोड बजेटको व्यवस्थापन गरिएको छ। 

त्यसैगरी प्रदेश भरका सडक मर्मतका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ। विष्टका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गरिने छ।

जाजरकोट जिल्लालाई मौरी उत्पादनको हबका रूपमा विकास गरिने समेत बजेटमा उल्लेख गरिएको छ। कर्णाली प्रदेशको पहिलो सरकारको यो अन्तिम बजेट हो। हालसम्म प्रदेश सरकारले पाँच आर्थिक वर्षमा कुल ९८ अर्ब ६१ करोड ६६ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

असार १, २०७९ बुधबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।