गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट विनियोजन
पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भएको छ। बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजी प्रसाद बरालले गण्डकीलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गरिने बताएका हुन्।
त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन्। त्यस्तै,सरकारले प्रदेश भित्रका प्रमुख तालहरूको कनेक्सन ट्रायलको विकास गर्ने जनाएको छ। यो काम स्थानीय तहहरूको समन्वयमा गरिने उल्लेख गर्दै अर्थमन्त्री बरालले त्यसका लागि आवश्यक बजेट छुट्याएको बताए।
त्यसैगरी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ। अर्थमन्त्री बरालले बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बिमा गरिने बताएका हुन्। त्यसैगरी प्रदेशमा रहेका साहसिक खेलकुद प्याराग्लाइडिङ, बन्जिजम लगायतका खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको अर्थमन्त्री बरालको बताए।
विगतको बजेटमा व्यवस्था गरिएको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको उनले उल्लेख गरे। प्रदेशका अर्थमन्त्री बरालले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकाहरूको शिक्षा स्वास्थ्य तथा विविध सुरक्षाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। यस्तै, सामाजिक न्यायका लागि अनाथ बालबालिका तथा पिछडा वर्गका बालबालिकाको शिक्षा स्वास्थ्यका लागि मुख्यमन्त्रीसँग विशेष बजेटको व्यवस्था गरिएको उनले बताए।
त्यसैगरी प्रदेश सरकारले भूमि बैङ्क स्थापनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ। गण्डकीमा भूमि बैङ्क स्थापनाको सम्भाव्यता अध्ययन गर्नका लागि सरकारले बजेट विनियोजन गरेको छ। भू–उपयोग नीति अनुरूप बाँझो जग्गालाई कृषि कार्यमा उपयोग गर्न प्रदेशमा भूमि बैङ्क स्थापनाको सम्भाव्यता अध्ययनका निम्ति व्यवस्था मिलाएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए।
त्यस्तै अर्थमन्त्री बरालले हिमाली तथा दुर्गम स्थानका विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि २ करोड छुट्याएको बताएका छन। सरकारले विद्यालयमा खुवाइने दिवा खाजा स्थानीय सरकारसँगको सहकार्यमा स्थानीय स्तरबाटै उत्पादन गरिएका बस्तुलाई अनिवार्य गर्न भएको छ।
असार १, २०७९ बुधबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।