सात सय वर्षअघि दलितहरूले राज्य चलाएको डुमकोटमा पहिलो 'दलित संग्रहालय' बन्ने 

सात सय वर्षअघि दलितहरूले राज्य चलाएको डुमकोटमा पहिलो 'दलित संग्रहालय' बन्ने 

सुर्खेतः भेरीगंगा नगरपालिका- ७ र ८ को सिमाना रहेको ‘डुमकोट’ डाँडामा दलित संग्रहालय बन्न थालेको छ। सात शताब्दीअघि उक्त क्षेत्रमा दलित समुदायले राज्य चलाएको हुँदा डुमकोट डाँडालाई संग्रहालय बनाउन थालिएको हो।

डुमकोटी राजाले राज्य गरेको स्थानलाई अहिले दलितहरूबारे अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय केन्द्रको रूपमा निर्माण थालिएको डुमकोट पर्यटन विकास समितिका सचिव टेकेन्द्र बस्यालले जानकारी दिए।

‘विक्रम संवत् १३७० सम्म डुमकोटी राजाले राज्य गरेको ऐतिहासिक डुमकोट डाँडामा हामीले दलित संग्रहालय बनाउन थालेका छौं,’ उनले भने, ‘डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाँडालाई खोज, अनुसन्धान र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न असारभित्र संग्रहालय बन्दैछ।'

सचिव बस्यालका अनुसार चार करोड ४५ लाख रुपैयाँको लागतमा बन्न लागेको संग्रहालयमा ७० प्रतिशत संघीय सरकार र बाँकी स्थानीय सरकारको लगानी रहनेछ। 

तीन तलामा बन्ने संग्रहालयका जम्मा ४२ वटा कोठा हुनेछन्।

डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ। संग्रहालयसँगै दलित समुदायको परम्परागत सीप, भेषभूषाको संरक्षण हुने दलित अगुवाहरूको भनाइ छ।

विक्रम संवत् १३७० मा नजिकैका गुर्भाकोटी राजाको आक्रमणपछि भागेका डुमकोटीहरू रुकुमको अर्माखोलामा बसाइँ सरेको बस्यालले बताए।

यद्यपि, अहिले पनि डुमकोट डाँडा र त्यस वरपर दलित समुदायको मात्रै बसोबास छ। असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने यो संग्रहालय नेपालकै पहिलो दलित समुदायको संग्रहालय हुने पनि दावी गरिएको छ।

संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेक्का, डाला, गाबु, छालाका जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राखिने छन्।

असार १, २०७९ बुधबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।