अनुमानभन्दा कम राजस्व उठेपछि लुम्बिनीको बजेटको आकार घट्यो

अनुमानभन्दा कम राजस्व उठेपछि लुम्बिनीको बजेटको आकार घट्यो

बुटवलः लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदै छ। माओवादी नेतृत्त्वको मिलीजुली गठबन्धन सरकारले अपराह्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछ।

सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले पाँच वर्षे कार्यकालको अन्तिम बजेट ल्याउने भएका हुन्।

मन्त्रालय श्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा यस वर्ष बजेट कम हुनेछ। गत वर्ष ४० अर्ब ९० करोडको बजेट आएको थियो। राजस्व अनुमान गरेभन्दा कम सङ्कलन भएपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले बजेटको आकार घटाउने तयारी गरेको हो।

तर, मंसिरमा चुनाव हुने भएकाले मुख्यमन्त्री कुलप्रसाद केसीसहित गठबन्धनका दल र मन्त्रीहरूले समेत योजनाहरूको लामो सूची ल्याएपछि बजेट कटौती गर्न अर्थमन्त्रालय असमर्थ बनेको हो। मन्त्रालयको संख्या वृद्धि भएकाले मन्त्रालयगत योजना समेट्दा पनि बजेटको आकार चाहेर पनि घटाउन नसकेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्।

प्रदेश गौरवका आयोजनाहरूलाई निरन्तरता दिँदै केही महत्वकांक्षी योजनालाई समेटेर बजेट ल्याउने तयारी सरकारले गरेको छ।

आर्थिक मामिला तथा सहकारी मन्त्रालयका उपसचिव रामबहादुर कार्कीले ४० अर्बकै हाराहारीमा बजेट आउने बताए। उनका अनुसार बजेटले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

सरकारले २५ जेठमा ल्याएको नीति तथा कार्यक्रममा अधिकांश यसअघिकै सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिएकाले बजेट पनि त्यसमै केन्द्रित हुने धेरैले आकलन गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले यसअघि आउने बजेटभन्दा अहिले आउने सबै प्रक्रियागत रहने दावी गरे।

असार १, २०७९ बुधबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।