मर्मत नगरेर थन्किएका पाँच ब्रुमर पुनः सञ्चालनमा आयो, भोलि चार वटा थपिने

मर्मत नगरेर थन्किएका पाँच ब्रुमर पुनः सञ्चालनमा आयो, भोलि चार वटा थपिने
फाइल तस्बिर

काठमाडौंः २०७५ सालको चैत महिनाबाट काठमाडौंको सडक सफा गर्ने, महानगरको धुलो कम गर्ने भन्दै केही थान ब्रुमर (यान्त्रिक कुचो) ले सडक सफा गर्दै गरेको देखिएको थियो। ती ब्रुमर इटालीबाट किनिएको थियो।

पाँच वटा ब्रुमर झण्डै ११ करोड रुपैयाँमा किनिएको थियो। तर, चल्दाचल्दै ती ब्रुमर चल्न छोडे। ब्रुमर चालकको करार अवधि सकिनु र केही ब्रुमर बिग्रनुले सञ्चालनमा नआएको बताइयो।

आजबाट भने ती ब्रुमर पुनः सञ्चालनमा आएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज सामाजिक सञ्जालमार्फत पाँच वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्- 'सानातिना मर्मत लगायतका कामहरू पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरूको मर्मत भएर काम सुरु हुन थालेका छन्। आजदेखि पाँच वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।'

मेयर बालेन्द्रका अनुसार भोलिबाटै थप चार वटा ब्रुमरहरू पनि थपिन्छन्। र, नौ वटा ब्रुमरहरूले नियमित सफा गर्नेछन्।

उनले भनेका छन्- 'वर्षायाम भएकाले केही असहजता पक्कै हुनेछन्। तर, आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरू सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ।'

गत आइतबार बसेको काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन्द्रले तीन दिनभित्रमा ब्रुमर सञ्चालनमा ल्याउने दावी गरेका थिए।

असार १, २०७९ बुधबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।