अर्काको श्रीमानलाई मेरो हो भन्दै कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारको जाहेरी

अर्काको श्रीमानलाई मेरो हो भन्दै कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारको जाहेरी

दाङ : अर्काको घरमा गएर अर्काको श्रीमानलाई मेरो श्रीमान् खै भन्दै कुटपिट गरेको घटनामा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ।

उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा मिना भण्डारीले अभद्र व्यवहारमा जाहेरी दर्ता गरेकी हुन्। श्रीमान् घरमा नभएको बेलामा घरमा आएर एकराज खै त्यो तेरो श्रीमान् हैन मेरो हो भन्दै आफू र नाबालिका छोरीलाई कुटपिट गरेको भन्दै जाहेरीमा उनीमाथि कारबाहीको माग गरिएको छ।

इलाका प्रहरी कार्यालयमा मिनाले दिएको जाहेरीको सम्पादित अंश

मङ्गलवार बिहान ८: ४५ बजे मेरो श्रीमान् घरमा हुनुहुन्नथ्यो। सोही अवस्थामा विमला वली मेरो घरको गेटमा आएर जोडले 'एकराज कहाँ छ' भनी कराएको आवाज आएकाले म कोठादेखि निस्की कसलाई खोज्नुभएको भन्दा निजले छिटो ढोका खोल भनी मेरो पर्खालको गेट हानेपछि मैले मन्त्री आउनुभएको रहेछ भनेर गेटको चाबी ल्याएर गेट खोलेको थिए।

गेट खोल्नासाथ मेरो घरमा आइ 'एकराज तेरो लोग्ने हैन' मेरो लोग्ने हो तुरुन्त निकाल' भनेपछि मैले मेरो श्रीमान् घरमा हुनुहुन्न भन्नासाथ वलीले मेरो कपाल समाती लुछेर पछार्दै मलाई लात्ती र मुड्कीले हानी मेरो मोवाइलले भित्तामा हानेर फुटाइन्।

मैले तपाई मन्त्री हुनुहुन्छ भन्दा पनि नमानी मेरो दराज समेत तोडफोड गरेर अपशब्द प्रयोग गरेर हातपात गरी राखेको अवस्थामा मेरो नाबालिग छोरीले आमालाई नमारी दिनुस् भन्दै रोएपछि छोरीलाई समेत लछारपछार गरिन्।

मैले हारगुहार गरेपछि छिमेकीहरू आए अनि उनी अङ्गरक्षकलाई लिएर गइन्।

जेठ ३१, २०७९ मंगलबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।