सिक्किममा कबड्डी- ४ प्रतिबन्धित
काठमाडौंः भारतको उत्तरपूर्वी राज्य सिक्किममा कबड्डी-४ फिल्म प्रतिबन्ध गरिएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमार्फत कबड्डी-४ प्रदर्शन रोकिएको बताएका हुन्।
उनले लेखेका छन्, 'सिक्किमेली जनता तथा विभिन्न संघ-संगठनहरूको भावनालाई आत्मसात गर्दै राज्य सरकारले विवाद समाधान नभएसम्म कबड्डी-४ को प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।'
यसअघि बौद्ध धर्मगुरु तथा भिक्षुहरूको मानमर्दन भएको भन्दै सिक्किममा यस चलचित्र प्रदर्शनमा रोक लगाउनुपर्ने माग उठेको थियो। आगामी शुक्रबारदेखि सिक्किममा कबड्डी-४ प्रदर्शन गर्ने तयारी गरिएको थियो।
चलचित्रकी नायिका मिरुना मगरले भिक्षुको भेषमा भएका एक दर्शकलाई आफूमाथि दुर्व्यवहार गरेको भन्दै झापड हानेपछि सुरु भएको विवादले उग्र रूप लिँदै गएको छ।
जेठ ३१, २०७९ मंगलबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।