अभिनेत्री पूजाका लागि आकाशको अँगालो खुल्ला तर बोली बन्द

 अभिनेत्री पूजाका लागि आकाशको अँगालो खुल्ला तर बोली बन्द

काठमाडौँ : अभिनेत्री पूजा शर्मा अनि अभिनेता आकाश श्रेष्ठको सम्बन्धले त मौसमलाई नै माथ खुवाइसकेको छ। यी एक अर्कालाई देखेर कतिखेर खुल्छन् अनि कतिखेर फुल्छन् थाहै हुन्न।

कहिले एक अर्काविना मरिहाल्छु जस्तै व्यवहार देखाउने उनीहरू अहिले पनि एक अर्कालाई मारिहाल्छु जस्तो व्यवहार गर्छन्। कुनै समय एक अर्कासँग छुट्टिनै नसक्ने झैँ देखिने उनीहरू अहिले भने सकेसम्म एक अर्कासँग भेटै नहोस् भने जस्तै व्यवहार गर्छन्।

यस्तै व्यवहार देखाए उनीहरूले आइतबार भक्तपुरको दरबार स्क्वाएरमा। पहिला सम्बन्ध राम्रै हुँदा उनीहरू जोडी बनेर फिल्म ‘सम्झना बिर्सना’ मा अभिनय गरिहाले। तर के के समस्या आएर फिल्म रोकियो। यी दुवैको सम्बन्ध पनि बिग्रियो।

जेठ ६ गते फिल्म रिलिज गर्ने भने तर सकेन निर्माणपक्षले। अनि असारतिर सारेका छन् अहिले। अब रिलिज अगाडि लामै समय पाएपछि निर्माणपक्षले आकाश र पूजाको एक नयाँ गीत अनि भिडियो बनाउने योजना बनाए।

भक्तपुर दरबार स्क्वायरमा गीतको छायाङ्कन पनि भयो। मायालु गीतको बोलमा दुवै अँगालोमा बेरिन्थे। अनि कट भनेपछि ठुस्स परेर आकाश एकातिर पूजा अर्कोतिर लाग्थे। 

जेठ ३०, २०७९ सोमबार २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।