५० वर्षको उमेरसम्म थानकोट नकाटेकी फोटोग्राफर जो साइकलबाटै विश्व भ्रमण गर्न चाहन्छिन्

५० वर्षको उमेरसम्म थानकोट नकाटेकी फोटोग्राफर जो साइकलबाटै विश्व भ्रमण गर्न चाहन्छिन्

हँसिलो अनुहार। टाउकोमा हेल्मेट अनि हातमा पन्जा र क्यामेरा। विगत चार वर्षदेखि ललितपुरकी लक्ष्मी श्रेष्ठ (५४) ले बनाएको पहिचान हो यो।

साइकल चलाएर भ्याउने जति सबै कार्यक्रममा फोटो खिच्न पुगिहाल्छिन् उनी। ललितपुरका प्रायः कार्यक्रम नछुटाउने उनी अन्य जिल्लामा पनि साइकलमार्फत नै पुग्छिन्। हाल घरेलु अचार व्यवसायमा पनि हात हालेकी लक्ष्मीको खास पेसा भने फोटो पत्रकारिता नै हो। २०५८ सालमै चाबहिल, गणेशस्थानमा आफ्नै फोटो स्टुडियो खोलेकी लक्ष्मी अहिले भने फ्रिलान्स फोटोग्राफर हुन्। 

घरकी कान्छी छोरी लक्ष्मीको बाल्यकाल चाबहिलमै बित्यो। स्कुल पढ्दादेखि नै उनको रुचि साहित्यमा पनि थियो। उनी रेडियो नेपाल र गोरखापत्रमार्फत आफ्ना कविता बजाउने र प्रकाशित गर्ने गर्थिन्। ‘पहिलादेखि नै मलाई रेडियो सुन्न मनपर्ने। त्यतिखेर रेडियो नेपालमा बासुदेव मैनालीले बाल कार्यक्रम चलाउनुहुन्थ्यो,’ लक्ष्मी पुराना कुरा सम्झिन्छिन्, ‘कविता लेख्थें र चाबहिलदेखि हिँडेर कविता पुर्याउन रेडियो नेपाल पुग्थें।’

पहिलादेखि नै ठूला सपना थिएनन् लक्ष्मीका घर–परिवार हेरेर बस्नुमै खुसी थिइन्। तर पछि भने आफ्नै स्टुडियो खोलेर बस्ने विचार गरिन्। त्यतिखेर फोटो खिच्ने चलन खासै थिएन। ‘म त जे हुन्छ त्यसैमा रमाउँछु भन्थें। तर सबैले नाङ्लो पसल भए पनि आफ्नो भनेको आफ्नै हुन्छ भन्न थाले। फोटो खिच्न टाढा–टाढा जानु पर्ने भएकाले आफ्नै फोटो स्टुडियो खोलें।’

सुरुमा उनलाई फोटो खिच्न खासै आउँदैनथ्यो। लक्ष्मीले आफ्नै क्यामेरा किनिन्। रिलको जमाना थियो, जसो–तसो खिच्ने र धुलाउने काम गर्दागर्दै उनी फोटोग्राफीमा पारंगत भइन्। स्टुडियोमा दुई जना कर्मचारी पनि  राखिन्। नेवार, गुरुङ र तामाङ लगायतका संस्कृतिक कपडाहरु पनि राख्न थालेपछि आफ्नो स्टुडियो झन् राम्रोसँग चलेको उनी सुनाउँछिन्।

०००
लक्ष्मीको स्टुडियो ठिकठाक चलिरहेको थियो। तर एक्कासि उनले स्टुडियो मात्र होइन, चाबहिल नै छोड्नुपर्ने भयो। कारण थियो– उनको विवाह। ३५ वर्षको उमेरमा उनी विवाह गर्न बाध्य भइन्।

‘म त विवाह नगर्ने पक्षमै थिइनँ। तर साथीले कुरा ल्यायो। घरमा पनि कर गर्नुभयो,’ उनले विवाहको प्रसंग कोट्याइन्, ‘घरबाट उमेर पनि जान लागिसक्यो, साथीले ल्याएको कुरा मान, विवाह गर भनेर दबाब दिएपछि मेरो केही लागेन। मैले विवाह गरें।’ ललितपुरको केटासँग विवाह गरेकी लक्ष्मी विवाहको दिनमात्रै श्रीमानको अनुहार देखेको बताउँछिन्।

आफ्नै काम गरेर बसेकी लक्ष्मी विवाहपछि घर–परिवारमै सीमित हुन थालिन्। ‘आजकल के गरिरहेकी छस्?’ भनेर प्रश्न गर्नेलाई उत्तर दिँदादिँदा हैरान् भइन् उनी।

यही क्रममा उनले ललितपुरको इखालखुमा स्टुडियो राखिन्। चलेन। ब्युटीपार्लर खोलिन्। त्यो पनि चलेन। पानी पुरी÷चटपटे पसल पनि राखिन्। त्यो पनि चलेन। केही पनि नचलेपछि लक्ष्मीले चिया पसल खोलिन्। चिया पसलबाट धेरथोर आम्दानी भएको थियो। तर त्यो काम पनि उनले छाडिदिइन्।

व्यापारमा सफलता नमिले पनि क्यामेरा त साथमा थियो नै। लक्ष्मीले एक जनासँग सहकार्य गरेर अनलाइन मिडिया खोलिन्। तर त्यो व्यक्तिले दुई वर्षपछि कम्पनी नै एकलौटी आफ्नो नाममा बनाए। र, त्यो काम पनि छुट्यो।

त्यसपछि लक्ष्मीले अरुकै अनलाइन मिडियामा काम गर्न थालिन्। कहिले फ्रिलान्स त कहिले श्रमजीवी भएर आफ्नो सिपको विकास गर्दै गइन्। समय मिलाउनका लागि उनले फ्रिलान्समै निरन्तरता दिने निधो गरिन्।

यसका साथै लक्ष्मीले अचार व्यवसाय पनि सुरु गरिन्। अहिले उनी विभिन्न सेमिनार, स्टल र घरबाट अचारको व्यापार गर्छिन्।

०००
उपत्यकाभित्र काठमाडौं र भक्तपुरभन्दा ललितपुरमा साइकल यात्री बढी देखिन्छन्। यहाँ बेलाबेला साइकल ¥याली पनि हुन्छन्। साइकल यात्री देख्दा दंग पर्थिन् लक्ष्मी। अरुले चढेको देख्दा उनलाई पनि साइकलप्रति मोह जाग्यो।

एक दिन लक्ष्मीले मंगलबजारमा सडकभरि साइकल यात्री देखिन्। त्यसको फोटो खिचिन् र त्यसप्रति जिज्ञासा पनि राखिन्। त्यतिखेर नै उनले आफूलाई पनि साइकल चलाउन मन भएको बताइन्। उनले जोसँग आफ्नो कुरा राखिन्, उनी थिए विश्व साइकल यात्री पुष्कर शाह। लक्ष्मीले शाहलाई फलो गर्न थालिन्। त्यसै क्रममा साइकलमा नमोबुद्ध जाने कार्यक्रम रहेको पत्ता लगाइन्। 

सबै जना साइकलमा गए उनी भने गाडीमा गइन्। कार्यक्रमको फोटो खिचिन्। आफूले साइकल नचढे पनि त्यही कार्यक्रममा सहभागिता जनाउन पाउँदा खुसीले गदगद भएकी उनलाई साइकलसँग फोटो खिचिहाल्न मन लाग्यो। सोही कार्यक्रममा सहभागी एक जनासँग हेल्मेट मागेर उनैको साइकल अगाडि फोटो खिचाइन्। कार्यक्रमबाट फर्किए लगत्तै आफ्नो फेसबुकमा फोटो पनि हालिन्। त्यस फोटोप्रति सबैले उत्साहजनक प्रतिक्रिया दिँदा उनलाई झन् साइकल चलाउन मन लाग्यो।  

साइकल त किनिन् तर चलाउन जानेकी थिइनन्। त्यत्तिकै थन्क्याएर राखेकी थिइन्, श्रीमान्ले ‘नचढ्ने भए बेचिदिन्छु’ भनेपछि साइकल सिकिन् र चलाएर हिँड्न थालिन्। 

बिहान योग गर्न बालकुमारी जाँदा साइकल लिएर जान्थिन्। तर ५० वर्षकी महिला कुर्ता–सुरुवाल लगाएर साइकल चढेको देख्दा सबैले हेर्न थाले। तर, जसले कुरा काटे पनि लक्ष्मीले साइकल चलाउन छोडिनन्। ‘त्यतिखेर सासु र देवरले ५० वर्ष भइसकेकी बुढीलाई साइकल चलाउन दिएर हाम्रो घरको नाक काट्यो भन्नुभएछ। तर श्रीमानले भने कहिले पनि रोक्नु भएन,’ उनले भनिन्। 

साइकल चलाउन थालेपछि आफूलाई एकदम सहज भएको उनी बताउँछिन्। ‘काममा समय व्यवस्थापन गर्न सहज भयो। गाडी भाडा बच्यो। पहिले कुरा काट्नेहरु पनि मैले काम भ्याएको देखेर दंग पर्न थाले,’ उनले भनिन्।

काठमाडौंको रैथाने नेवार परिवारमा जन्मिएकी लक्ष्मीले आफ्नो जिन्दगीको ५० वर्षसम्म उपत्यका बाहिर खुट्टा राख्न पाएकी थिइनन्। तर साइकल चलाउन जानेसँगै विभिन्न जिल्लामा जान थालिन्। ‘साइकल चलाउनुभन्दा अगाडी थानकोट कटेर उता जान पाएकी थिइनँ। यतै जन्मिएँ, विवाह पनि यतै भयो। आफन्त सबै यतै भएपछि थानकोटभन्दा उता जाने काम नै भएन,’ उनले सुनाइन्। 

‘साइकल कोरा’ भन्दै उनी काठमाडौं, ललितपुर, धरान, धनकुटा, हेटौंडा, लुम्बिनीसम्म गइन्। उनी भन्छिन्, ‘थानकोट काटेर एकै चोटी त्यति धेरै जिल्लामा जाने भन्ने बित्तिकै मनमा थप उत्साह र उमङ्गले गर्दा विदेश भ्रमणमा जान लागेको जस्तै भए। के लगाउने, के सामान बोक्ने सबै कुराको तयारी केही दिन अगाडि देखिने गरेर बस्न थालें। हेटौंडा पुग्दा त अर्कै दुनियाँमा पुगेको जस्तै महसुस भयो।’

त्यसपछि उनले क्रमशः पोखरा, जनकपुर, सिन्धुली, पाल्पा रानीमहल, उदयपुर लगायतका अन्य जिल्लासँगै मेची–महाकालीसम्म पनि साइकल यात्रा गर्दै फोटोग्राफी गरिन्। सुर्खेत हुँदै रारा ताल पनि साइकलबाटै गइन्। ‘रारा ताल जानु त मेरो सपनाभन्दा पनि ठूलो कुरा हो नि। मैले सोचेको पनि थिइनँ।’

साइकलले गर्दा आफ्नो धेरै सपना पूरा भएको लक्ष्मी बताउँछिन्। ‘पहिला धेरै मान्छेसँग बोल्न मन लाग्दैनथ्यो। कसैले केही भन्छ कि जस्तो लाग्थ्यो। कुर्ता लगाउँदा पनि घुँडाभन्दा मुनिसम्म लगाउँथे,’ उनी भन्छिन्, ‘साइकलले गर्दा जिन्दगीसँगै मेरो ड्रेस अप पनि परिवर्तन भएको छ।’ साइकल चलाउन थालेको चार वर्षमा थाइरोयड, सुगर र प्रेसरको औषधि खानु नपरेको उनी बताउँछिन्।

उनी अहिले ललितपुरमा महिलालाई साइकल सिक्न प्रोत्साहन गर्न थालेकी छिन्। बिहान जावलाखेल चोकमा अनि अरु बेला समय भएको बेला मछिन्द्रबहालमा साइकल सिकाउने गर्छिन्।

जावलाखेलमा त महिलालाई साइकल सिकाउने अभियान नै चलेको छ।  त्यस अभियानमा अहिले करिब २५० जना महिला सहभागी छन्। लक्ष्मी ललितपुरको वल्र्ड साइकल क्लबको सदस्य पनि भएकी छिन्। उनी अहिले ललितपुरमा फोटोग्राफरसँगै साइकल यात्रीको रुपमा पनि परिचित छिन्। 

पहिला साइकल चलाएको देखेर खिसिट्युरी गर्नेहरु नै अहिले कस्तो राम्रो काम, हामीलाई पनि सिकाइदिनूस न भन्दै आउँदा निकै खुसी लाग्ने लक्ष्मी बताउँछिन्। उनी भन्छिन्, ‘अहिले त मेरो जस्तो जीवन कसैको छैन जस्तै लाग्छ।’

क्यामेरा र साइकल कहिले पनि नछोड्ने बताउने लक्ष्मी आफूले आफैंलाई विश्वास गर्न सक्यो भने जिन्दगी जस्तोसुकै काम पनि सहजै गर्न सकिने बताउँछिन्। उनी भन्छिन्, ‘अब देशका कुनाकाप्चा पुगें। अब साइकलबाटै विश्व भ्रमण गर्ने इच्छा छ।’

जेठ ३०, २०७९ सोमबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।