बागमती प्रदेश सभा बैठक भोलि, आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौंः बागमती प्रदेश सभाको दशौं अधिवेशनको बैठक भोलि बस्ने भएको छ। बैठकपूर्व आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार जेठ २० गतेको प्रदेश सभा बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पठाएको विभिन्न विधेयकमाथि समितिमा छलफल भइसकेकाले सोको प्रतिवेदन संसद्मा पेश गर्न आज बस्ने कार्य व्यवस्था परामर्श समितिले अनुमति प्रदान गर्नेछ।
त्यस्तै भोलि दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गर्न लागेको बजेटको सैद्धान्तिक पक्षमाथि छलफल हुने बताइएको छ।
सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले असार १ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरिने बताएका छन्।
जेठ ३०, २०७९ सोमबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।