बारम्बार उठ्ने कोसिस गर्दा पनि सरकारको नीतिले बारम्बार थेचारेको कंक्रिट मिक्सचर उद्योगको कथा

बुटवलः तीन वर्ष भारतको पञ्जाब र दिल्लीका कारखानामा काम गरेको अनुभव लिएर बुटवल कालिकानगरका रामप्रसाद खनालले नेपालमै उद्योग स्थापना गरे। १३ असोज २०५६ सालमा।
बुटवल- १८ मोतिपुरमा रहेको उद्योगबाट थ्रेसर मेसिनमा लाग्ने औजार, कृषि औजार, गहुँ थ्रेसर गर्ने मेसिन, ट्याक्टरका हलो उत्पादन हुन थाल्यो। यसले बजार राम्रो पायो। कच्चा पदार्थ भारतबाटै आउने भए पनि औजार गुणस्तरीय र टिकाउ हुँदा धान्नै नसक्ने गरी माग आएको थियो।
त्योबेला तीन लाख लगानी र पाँच जना कामदारबाट उद्योग सुरु भएको थियो। जग्गा गाउँमै थियो। पैसा थिएन। बुवाको सहयोगमा ऋण खोजेर काम सुरु गरेका थिए।
उद्योगले रफ्तार लिदै गर्दा सरकारले कृषि औजारलाई भन्सार छुट दिन थाल्यो। ‘बजारमा अत्यधिक माग हुन थालेसँगै सरकारले कृषि औजारमा भन्सार छुट दिन थाल्यो। सरकारले छुट दिएपछि हाम्रो उद्योग अघोगतितर्फ गयो। मार्केट लिन सकेन। त्यसपछि उद्योग बुटवल सार्न बाध्य भइयो’, उनले भने।
०५९ सालमा उद्योग बुटवल सर्यो। त्यसपछि राइस मिलका हलरहरू, कंक्रिट मिक्चरहरू, विभिन्न मेसिनका पार्टहरू उत्पादन हुन थाल्यो। तर, माओवादी विद्रोह, लोडसेडिङ लगायतका समस्याले उद्योग फस्टाउन सकेन।
कुनै बेला नेपालमा ११ वटा रहेका यस्ता कंक्रिट मेसिन उद्योग अहिले जम्मा तीन वटा मात्र छन्।
जीविका चलाउन मेसिनहरू मर्मत गर्ने काम थाले रामप्रसादले।
०६३ को आन्दोलनपछि भने उद्योग बुटवल औद्योगिक क्षेत्रमा सारे। अनि उद्योगले रफ्तार लियो। नेशनल इन्जिनियरिङ मेटल प्रालिबाट कंक्रिट मिक्सचर मेसिनहरू बन्न थाले।
त्यसपछि उत्साहित भएका उनले ०६५ सालमा भैरहवामै गुरुनानक इन्जिनियरिङ उद्योग स्थापना गरी त्यहाँ पनि उत्पादन थाले।
‘त्यो बेलासम्म कंक्रिट मिक्सचरमा ठूला घरानाका व्यापारीले हात हालेका थिएनन्। कच्चा पदार्थमा छुट भए पनि मेसिन नेपालमा कम आइरहेका थिए। त्यस कारण बजार राम्रो थियो’, उनले भने।
तर, २०७० सालबाट बजारमा तीव्र प्रतिस्पर्धा भयो। ०७१ सालमा आफैँले मैनाबगरमा रम्भा मेटल इण्डष्ट्रिज सञ्चालन गरे।
०७२ साल। भारतले नाकाबन्दी लगायो। नाकाबन्दीले अधिकांश क्षेत्र प्रभावित भइरहँदा कंक्रिट मिक्सचर मेसिनको भने माग बढ्यो।
‘नाकाबन्दीपछि मैनाबगरमा पनि विभिन्न पार्टहरू बनाउन थालियो। मेसिन थप गर्न थालियो। सहायक उद्योगलाई उत्पादन गर्न लगाएर खरिद गर्ने काम पनि गर्न थाल्यौँ’, उनले भने।
त्यसबेला बुटवल औद्योगिक क्षेत्र, भैरहवा र मैनाबगरका तीन वटा उद्योगबाट उनले वार्षिक नौ सय कंक्रिट मेसिन उत्पादन गरी बिक्री गरेको बताए।
सरकारले यस्ता उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी ५ रुपैयाँको दरले अन्तशुल्क समेत थपेको छ।
तर, यही सिंगो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र एक प्रतिशत र भ्याट नलाग्ने व्यवस्था सरकारले गरेको छ। यसअघि चार प्रतिशत भन्सार महसुलको व्यवस्था रहेको थियो।
रामप्रसादका अनुसार कंक्रिट उद्योगका लागि नाकाबन्दीको समय स्वर्णिम थियो। नाकाखुल्दै गएपछि भने उद्योग विस्तारै धराशायी हुन थालेको उनले बताए।
‘नाका विस्तारै खुला भयो। कंक्रिट मेसिनमा भारतीय दूतावासले काम गर्न खोज्यो। अनि मन्त्रालयमा प्रभावमा पार्न थाल्यो’, उनले भने। त्यही मारमा परेर सुरुमा पार्ट, मेसिन उत्पादन गर्ने मैनाबगरमा रहेको रम्भा मेटल इण्डष्ट्रिजले अहिले मर्मत सम्भारको मात्र काम गर्छ।
‘नाकाबन्दी खुलेदेखि त्यहाँबाट उत्पादन गरेका छैनौँ। बिक्री गरेर लगेका मेसिनहरू बिग्रिएर आउँछन्। त्यही मेसिनको मर्मत मात्र गरेका छौँ। घाटामा उद्योग गए पनि उद्योग चलाउनु परेको छ’, उनले भने।
अहिले त्यहाँ १५ जनाले रोजगारी पाएका छन्। मैनाबगरमा उत्पादन गर्न बन्द गरेपछि खनालले सञ्चालन गरेको भैरहवाको गुरुनानक इन्जिनियरिङ पनि ३ वर्षअघि बन्द भयो।
‘नेपालमा उद्योगको वातावरण देखेर लगानी गरेँ। तर सरकारको नीतिले उद्योग चल्नै नसक्ने भए। प्रतिस्पर्धा गर्न सकिएन र उद्योग बन्द गर्न बाध्य भएँ’, उनले भने।
बुटवल औद्योगिक क्षेत्रमा रहेको नेशनल इन्जिनियरिङ मेटल प्रालिले पनि कंक्रिटका मेसिन उत्पादन गर्दै आएको छ। अहिले यो उद्योग पनि संकटमा पर्दै गएको छ। उद्योगलाई चाहिने कच्चा पदार्थ आयातमा चर्को भन्सार शुल्क भएकाले उद्योग चलाउनै हम्मे-हम्मे हुने अवस्था आएको छ।
कुनै बेला नेपालमा ११ वटा रहेका यस्ता कंक्रिट मेसिन उद्योग अहिले जम्मा तीन वटा मात्र छन्।
भारतबाट तयार मेसिन सस्तो मूल्यमा नेपाल आउँदा नेपालमा उत्पादित मेसिन नयाँ ग्राहकलाई बिक्री गर्न सक्ने अवस्था नरहेको उनले बताए।
सरकारले उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको र आगामी आर्थिक वर्षको बजेटमा पनि उद्योगलाई विभिन्न सहुलियत दिने घोषणा गरे पनि सरकारकै नीतिका कारण यस्ता उद्योग अब संकटमा परेको रामप्रसाद गुनासो गर्छन्।
उद्योगका लागि आवश्यक कच्चा पदार्थमा कडाई गरेर सहुलियत दिनुपर्नेमा राज्यले नेपाली उद्योगलाई बन्द गराउने गरी नीति ल्याएको उनी बताउँछन्।
‘हामीले ३ वर्षदेखि यो कुरा राखेका छौँ। मेसिन क्वालिटी राम्रो दिन्छौँ। आयातित मेसिन गुणस्तर छैनन् भनेर हाम्रा माग तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, विष्णु पौडेललाई समेत राख्यौँ। सुनुवाइ भएन। अहिले अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा पनि हाम्रो आवाज सुनुवाइ भएन’, उनले भने।
सरकारले यस्ता उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी ५ रुपैयाँको दरले अन्तशुल्क समेत थपेको छ।
तर, यही सिंगो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र एक प्रतिशत र भ्याट नलाग्ने व्यवस्था सरकारले गरेको छ। यसअघि चार प्रतिशत भन्सार महसुलको व्यवस्था रहेको थियो।
‘तयारी वस्तुमा केही नलाग्ने अनि कच्चा पदार्थ खरिदमा यति धेरै शुल्क लगाउँदा नेपाली उद्योग कसरी माथि उठ्छन्? कसरी नेपालमा रोजगारी सिर्जना हुन्छ?’, उनले प्रश्न गरे।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा कंक्रिट मेसिन वार्षिक ११ हजार थान भारतबाट आउने गरेको छ। त्यस बापत वर्षेनी एक अर्बभन्दा बढी रकम विदेशिने गरेको छ।
कच्चा पदार्थ आयातमा अत्यधिक भन्सार दर भएपछि उद्योगले नेपालमै कच्चा पदार्थ समेत उत्पादन गर्न थालेको छ।
‘अब यहीँ कच्चा पदार्थ उत्पादन गरौँ भनेर लागेका छौँ। पहिले ५० प्रतिशत भारतबाट आउथ्यो। ५० प्रतिशत यहीँ उत्पादन हुन्थ्यो। अहिले ९० प्रतिशत कच्चा पदार्थ हामीले यहीँको स्थानीय बजारमा पाउँछौँ। त्यो उत्पादन यहीँ हुन्छ’, उनले भने।
उनले स्प्रोकेट, पुल्ली, गियर, डिस्क, हब, धुरा लगाएका कच्चा पदार्थ आफैँ बनाउने गरेको बताए। १० प्रतिशत कच्चा पदार्थ भने भारतबाटै आउने बताए। भारतबाट पम्प सेट, बेल्ट, बेरिङ, चेन आउने उनको भनाइ छ।
भारतबाट तयार मेसिन सस्तो मूल्यमा नेपाल आउँदा नेपालमा उत्पादित मेसिन नयाँ ग्राहकलाई बिक्री गर्न सक्ने अवस्था नरहेको उनले बताए।
‘हामीले बनाएका मेसिन गुणस्तरीय छन्। कतिपय सीमा नजिक घर भएकाले भारतमा समेत लगेर प्रयोग गर्छन्। तर नेपालीले सस्तो मेसिन खोज्दा ग्राहकलाई बिक्री गर्न गाह्रो छ’, उनले भने।
कुनै बेला नौ सय वटा मेसिन वार्षिक रूपमा बिक्री गर्ने उद्योगले हाल वार्षिक एक सय थान मेसिन मात्रै उत्पादन र बिक्री गर्दै आएको छ।
यो बाहेक औषधि प्रशोधन गर्ने मेसिन, गहुमुत्र प्रशोधन गर्ने मेसिन, गड्यौला मल बनाउने मेसिन, बेसार धुने मेसिन, स्याउ ग्रेडिङ, पोलिस गर्ने मेसिन, अर्ग्यानिक मल बनाउने मेसिनहरू पनि सोही उद्योगबाट उत्पादन भइरहेको छ।
खनालका अनुसार अहिले त्यहाँबाट झण्डै ४ सय प्रकारका मेसिनहरू उत्पादन हुने गरेको छ।
हाल उद्योगमा लगानी झण्डै ५० करोड पुगेको छ। ४० जनाले रोजगारी पाएका छन्। कामदार अधिकांश नेपाली छन्।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा कंक्रिट मेसिन वार्षिक ११ हजार थान भारतबाट आउने गरेको छ। त्यस बापत वर्षेनी एक अर्बभन्दा बढी रकम विदेशिने गरेको छ।
यस्तो मेसिन खरिदमा हुण्डीको रकम गएको हुनसक्ने आशंका व्यापारीहरूको छ। भारतबाट आउने मेसिन औसतमा न्यूनतम ७६ हजार प्रतिथानका दरले भन्सार मूल्याकंन गरेर आउने उद्योगीहरू बताउँछन्।
‘भारतबाट आउने कंक्रिट मेसिनमा उचित मूल्याकंनसहित २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट, ५ प्रतिशत अन्तशुल्क लगाइयो भने हामी प्रतिस्पर्धा गर्न सक्छौँ’, उनले भने।
रामप्रसादले अब सुनवल कृतिपुरमा चेन, टायर उत्पादन गर्ने नयाँ उद्योग निर्माणको योजना अघि बढाएका छन्। सिमेन्ट उद्योगलाई चाहिने पार्ट्सहरू, पम्प त्यहाँ उत्पादन गर्ने योजना छ।
कन्स्ट्रक्सनको काम भइरहेको उनले बताए।
जेठ ३०, २०७९ सोमबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।