विवादमा जिबब : समस्याको जड पैसा र ड्रग्स

विवादमा जिबब : समस्याको जड पैसा र ड्रग्स
कभर तस्बिर : जिबबको फेसबुक पेज

काठमाडौँ : अल नेपाल ठग लाइफ(एएनटिएफ) को र्याप ब्याटल प्रतियोगितामा फ्रिस्टायलमा अलग्गै हाउभाउसँगै र्याप हानेर सामाजिक सञ्जाल विशेष गरी टिकटकमा भाइरल भएका गोदावरीका सुदिप भण्डारी उर्फ जिबब त्यसयता लगातार चर्चैमा रहे। उनी कहिले आफ्नो फ्रिस्टायलको र्यापका कारण चर्चामा आए त कहिले आफ्नो एडिक्सनका कारण।

क्वाटर फाइनलमै र्याप प्रेमीमाझ परिचित भइसकेका उनी पोखरा घुम्न जाँदा एक व्यक्तिले बोल्नै नसक्ने अवस्थामा फेला पारेपछि उनी कुन हदसम्म लागु औषधको लतमा फसेका रहेछन् भन्ने खुल्यो। उनले आफ्नै पूर्व म्यानेजरले हत्याको धम्की दिएको भन्दै गुहार मागेपछि उनलाई एनएनटिएफकै समूहले पोखराबाट काठमाडौँ ल्यायो।

त्यो बेलासम्म उनी फाइनल चरणमा पुगिसकेका थिए। उनको बुबा वैदेशिक रोगजारीकोक्रममा विदेशमा थिए। आमा मात्रै घरमा। उनी कुलतमा फसेको सार्वजनिक भएपछि उनको आमाको सहमतिमा एएनटिएफले नै उनलाई रिह्याबमा राख्यो।

अब आफू रिह्याबमा बसेर सुध्रने वाचा गर्दै उनी रिह्याबमा बस्न पुगे। उनी फाइनलमा पनि पुगिसकेका थिए। तर फाइनल हुनुभन्दा अगाडि नै उनी रिह्याबबाट भागेर गोरखा पुगे। एएनटिएफ र्याप ब्याटलका जजमध्येका हाकिम गुरुङ लगायतकाले उनलाई फाइनलमा सहभागी गराउन खोजे पनि सकेनन्।

एकाएक उनी ए मेरो हजुर-४ को प्रमोसन गीतमा अनुबन्ध भएर 'भागभाग' गाए। यसले उनका फ्यानहरूले उनको एडिक्ट बानी बिर्सिएर स्वागत गरे। एकाएक जिबबको अस्ट्रेलिया कन्सर्टको कार्यक्रम सार्वजनिक भयो। सामाजिक सञ्जालहरूमा आएका भिडियोहरूमा उनलाई अस्ट्रेलियामा रहेका नेपाली र्यापका फ्यानहरूले उनलाई भव्य स्वागत गरे अनि मनोरञ्जन पनि।

स्टेजमा गाउँदागाउँदै लगाएको ज्याकेट फुकालेर दर्शनतिर फाल्न खोज्दा हाकिमले रोकेको क्लिप भाइरल भयो। एक क्लिपमा उनले हाकिमलाई नै गाली गरिरहेको पनि देखिएको थियो। अस्ट्रेलियाको कन्सर्ट सकिएर नेपाल आएपछि भारतको सिक्किममा पनि उनको कन्सर्ट भयो।

अधिकांश कन्सर्टमा उनी लागु औषधकै नशामा देखिन्थे। उनको फ्यान फलोइङ बढ्दो थियो। क्लबहरूमा उनको डिमान्ड बढिरहेको थियो। यहीबिचमा उनले फाइनल्ली भेट भयो केटा हो भन्ने बोलको र्याप गाए। अनि भिडियो पनि बनाए।

उनको शारीरिक अवस्था बिस्तारै सुधार हुँदै गएको देखिएको थियो। त्यसले उनी बिस्तारै एडिक्सनबाट बाहिर निस्कँदै गरेझैँ देखिन्थ्यो। तर एकाएक शुक्रवार जिबबको आमा अनि बुबाले पत्रकार सम्मेलन गरेर एएनटिएफमाथि गम्भीर आरोपहरू सार्वजनिक गरे।

जिबबका बाबु राजकुमार र आमा हरिमायाले प्रेस मिट गरेर एएनटिएफले जिबबलाई रिह्यावमा राखेर नशामुक्त बनाउने बहानामा उल्टो नशा खुवाए र उसलाई पैसा कमाउने माध्यमको रूपमा प्रयोग गरेको आरोप लगाए। उनीहरूले

आर्थिक लोभले जिबबलाई कब्जामा लिएर राखेको, घर आउन नदिएको, परिवारका सदस्यलाई भेट्न नदिएको र सुधार्नुको साटो ड्रग्स दिएर थप कुलतमा फसाएको गम्भीर आरोपहरू लगाए। यति मात्रै हैन उनकी आमाले अस्ट्रेलिया टुरको भने जति पैसा नदिएको, सिक्किम टुरको हिसाबै नदेखाएको, भागभाग गीतको पैसा कति आयो थाहा नभएको भन्दै विवादलाई लगेर आर्थिक पाटोमा समेत जोडे।

उनीहरूले आफ्नो छोरालाई आफूसँगै राख्न पाउनुपर्ने, उसको स्वास्थ्यको ख्याल गर्नुपर्ने अनि उसको कार्यक्रमबारे अब आफूसँग सम्झौता गर्नुपर्ने लगायतका माग समेत राखेका थिए।

जिबबको परिवारबाट मिडियामा गम्भीर आरोपहरू सार्वजनिक भएपछि जिबब अनि एएनटिएफको फाउन्डर निम्साङ योहो टेलिभिजनको एक टक शोमा आएर सबै आरोपको जवाफ दिए।

कार्यक्रममा जिबबले आफ्नै आमाको प्रेमीले चलाएको रिह्याबमा राखेर टर्चर दिने गरेकाले आफू घरमा नगएको र अहिले आमालाई छोरा हैन पैसा चाहिएको जस्तो गम्भीर आक्षेप लगाए।

'आमालाई पैसा मात्र चाहिएको हो। मेरो पहिलादेखि नै सम्बन्ध ठिक छैन परिवारसँग। अहिले म चर्चित भएपछि पैसाका लागि आमाले किचकिच गरेका हुन्,' उनले कार्यक्रममा दाबी गरे।

एएनटिएफका फाउन्डर निम्साङले जिबब स्वैच्छिक रूपमा एएनटिएफसँग आबद्ध भएको र अस्ट्रेलिया टुर हाकिमको मात्र भएकाले थाहा नभएको र एनएनटिएफले सिक्किम टुर मात्र गरेको बताएका थिए।

समस्याको जड पैसा र ड्रग्स

जिबबको परिवार अनि जिबब र निम्साङको दाबीको केन्द्रमा देखियो पैसा। पत्रकार सम्मेलनमा उनको आमाले पनि पटक-पटक आफ्नो छोरा पपुलर भएपछि कार्यक्रमहरू गर्न एएनटिएफले उसलाई फकाएर राखेको आरोप लगाएका थिए।

अस्ट्रेलिया टुरको एक लाख मात्र दिएको भन्दै उनीहरूले सेल्फि खिचेकै भरमा २०-३० हजार कमाउन सक्ने छोराले कन्सर्टमा त्यति मात्रै कमायो त भन्ने प्रश्न पनि उठाएका थिए।

उनीहरूले भागभाग गीतको कति पैसा आयो थाहै नभएको अनि सिक्किममा कति पैसामा गएको पनि थाहा नभएको दाबी गर्दै आफ्नो छोराबारे आफैँले निर्णय गर्न पाउनुपर्ने माग राखेका थिए।

कुरैकुरामा जिबबकी आमाले विवादको कारण जिबबले एएनटिएफसँग गरेको सम्झौताबारे देखिएको थियो। जिबबलाई नशाको मौकामा पारेर उनीहरूले सम्झौता गराएको भन्दै त्यो मान्ने नहुने उनको आमाले पटक-पटक दाबी गरेकी थिइन्।

कुरैकुरामा उनले जिबब र एएनटिएफविच ७० र ३० प्रतिशतको सहमति भएको तर आफू ८० र २० को पक्षमा रहेको समेत खुलाइन्। यी सबै कुरा गरिरहँदा जिबबका आमा-बाबुले नै एनएनटिएफले जिबबलाई लागु औषधको कुलतबाट बाहिर निकाल्नुको साटो ओभरडोज दिएर फसाइरहेको दाबी गरिरहेका थिए।

एनएनटिएफका फाउन्डरको कुराबाट पनि विवाद पैसाको हो भन्ने देखियो नै। जिबबको आमाले सिधै पैसा मलाई दिनु भन्ने अनि जिबबले पनि मलाई दिनु भन्ने गरेको भन्दै उनले भने' आर्टिस्ट जिबब भएकाले उनले जसलाई पेमेन्ट गर भन्ने हो हामीले उसैलाई दिने हो।'

जिबबले पनि आमा पैसाको पछि मात्र लागेर आफूलाई र एएनटिएफलाई डिस्टर्भमात्र गरेको भन्दै आफू आफ्नै इच्छाले एनएनटिएफको होस्टलमा अन्य र्यापरहरुसँगै बसेको बताए।

उनले कार्यक्रममा आफू अहिले पनि ड्रग्स लिने गरेको भने स्विकारे। तर ओभर डोज नभई रिह्यावको परामर्शदातासँग सम्पर्कै रहेको र उनकै सल्लाह अनुसार लागु औषध छाड्न डोज घटाउँदै गएको उनले दाबी गरेका थिए।

'म पहिला रिह्याबमा बस्दा कस्तो थिए अहिले कस्तो छु हेर्यो भने पनि मैले कति ड्रग्स खान्छु थाहा भइहाल्छ नि,' उनले भने' म २१ वर्षको भइसके। म मेरो बारेमा आफैँ निर्णय गर्न सक्छु।'

केस पुग्यो प्रहरीकोमा

आमा-छोरा अनि एएनटिएफको यो विवाद उनीहरूबिच मात्रै सीमित रहेन। यो जिल्ला प्रशासन कार्यालयमार्फतहुँदै काठमाडौँ जिल्ला परिसरसम्म पुगिसकेको छ। आमाले थ्रेट दिएको भनेर जिबबले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा जाहेरी दिएपछि दुवै पक्ष राखेर छलफल गराउन प्रशासनले निवेदन प्रहरीकोमा पठायो।

प्रहरीले शुक्रवार बाबु-आमा अनि जिबबलाईसँगै राखेर छलफल गराए पनि कुरा मिलेन। त्यही छलफलमा कुरा नमिलेपछि उनको आमाबुबाले केही युट्युवरहरु बोलाएर अन्तर्वार्ता दिएका थिए।

उनीहरूको विवादको समन्वय गराइरहेका काठमाडौँ परिसरका एसपी दिनेश मैनाली पारिवारिक समस्याबारे परेको निवेदन जिल्ला प्रशासनबाट प्रहरीकोमा आएपछि दुबैपक्षलाई छलफलमा राखेको तर शुक्रवार सहमति हुन नसकेको बताए।

आमाबुबाले छोरा घरमा नआउने गरेको र उ कुलतमा फसेको दाबी गरेको र छोराले आमाले टर्चर दिएको बताएका छन्। प्रहरीले दुबैपक्षलाई सोमबार थप छलफलमा लागि बोलाएका छन्।

'छोरा बालिग उमेरकै देखिन्छन्। हामीले दुवै पक्षलाई सोमबार छलफलमा बोलाएका छौँ। सायद सहमति होला,' एसपी मैनालीले भने।

के होला सोमबार ?

जिबबले अन्तर्वार्तामा एएनटिएफको होस्टलमा बस्दा आमाबुबाको समस्या हो भने आफू अलग्गै फ्ल्याट लिएर बस्ने तर घर नजाने बताए। उनले आफ्नो कुलतबारे अहिले पनि रिह्याबसँग परामर्शमा रहेको र परिआए उपचारका लागि चिकित्सकै राख्न तयार रहेको तर आमासँग नजाने बताइरहेका छन्।

उनले आफ्नो नागरिकता बनिसकेको र आफू २१ वर्ष पुगेको दाबी गरेका छन्। यदि उनले दाबी गरेजस्तै जिबबको उमेर बालिग भइसकेको अवस्था हो भने उनको अभिभावकले उनलाई जवर्जस्ती घर लैजान सक्दैनन्। तर उनको लागु औषध सम्बन्धी कुलतको उपचार विधि योबारेमा निर्णायक हुनसक्छ।

उनी बालिगकै रहेको भए पनि कुलतमा रहेकाले उसलाई सुधार गर्न अभिभावकले लैजाने तर्क गरेमा र सो विश्वसनिय देखिएमा प्रहरीले उनलाई अभिभावकको जिम्मा लगाउन पनि सक्छ। 

जेठ २९, २०७९ आइतबार २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।