मेयर बालेन्द्रले गठन गरे १२ समिति,  १६ नम्बरका वडाध्यक्षलाई पूर्वाधारको जिम्मा

मेयर बालेन्द्रले गठन गरे १२ समिति,  १६ नम्बरका वडाध्यक्षलाई पूर्वाधारको जिम्मा

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगर सभा असार ५ गते हुने भएको छ। आइतबार बसेको नगर कार्यपालिकाको दोस्रो बैठकले नगर सभाको मिति तोकेको हो। आइतबार बसेको बैठकले नगर सभाको मितिसँगै विभिन्न समितिहरू समेत गठन गरेको छ।

कार्यपालिका बैठकले उपमेयर सुनिता डङ्गोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ।

आइतबार गठन भएको सुशासन समितिको संयोजक वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिका वडा नं १० का अध्यक्ष रामकुमार केसी, पूर्वाधार समितिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल, वातावरण समितिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार रहेका छन्।

यसैगरी सम्पदा तथा पर्यटन समितिका वडा नं ८ का अध्यक्ष आशामान सङ्गत, सूचना प्रविधि समितिका वडा नं १७ का अध्यक्ष नवीन मानन्धर, शिक्षा र स्वास्थ्य समितिका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिका वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिका वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिका संयोजक वडा ३ का अध्यक्ष प्रेम थापा रहेका छन्।

कार्यपालिकाको बैठकले समितिहरू गठन सम्बन्धी प्रस्ताव पारित भएपछि मेयर बालेन्द्र शाहको संयोजकत्वमा सबै समितिका संयोजकहरूको बैठक बसेको थियो। आइतबारै राजश्व परामर्श समितिको बैठक बसेको थियो।

कार्यपालिकाको बैठकमा उपमेयर डङ्गोलले महानगरको विकास निर्माण सम्बन्धी अन्य कामसँगै अब नीति तथा कार्यक्रम समेत बनाउनुपर्ने भएकाले सोबारेमा आ-आफ्नो वडाका प्राथमिकताहरू के हुन सक्छन् भन्ने जानकारी दिन वडाध्यक्षहरूलाई आग्रह गरेकी थिइन्।

जेठ २९, २०७९ आइतबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।