निर्देशक बदलिदा निर्माण सुरु भएन प्रसाद-२ को, अब सुदर्शनले निर्देशन गर्ने
काठमाडौँ : बलात्कारीको वीर्य प्रसाद हुनसक्छ कि सक्दैन भन्ने विवाद भए पनि ‘प्रसाद’ हिट भयो। पहिलो फिल्म हिट भएपछि त्यसको सिरिज बनाउने चलनलाई यो फिल्मको निर्माण पक्षले पनि छाडेन र प्रसाद-२ बनाउने घोषणा गर्यो। फिल्म निर्माणको घोषणा भएको पनि लामै समय भइसक्यो तर फ्लोरमा जान भने सकेको छैन।
पहिलो विवाद फिल्म कसले निर्देशन गर्ने भन्ने देखिदा निर्माण लम्बिएको थियो। पहिलो फिल्म दिनेश राउतले निर्देशन गरेका थिए। तर प्रसाद- २ मा भने नयाँ निर्देशनको खोजी भयो। सौरभ चौधरी निर्देशकको रूपमा देखिए। मन्दिरमा पूजा गरेर मुर्हत पनि गरियो। तर फिल्म निर्माणले गति लिएन।
अहिले आएर पुन निर्देशक बदलिएका छन् फिल्मको। अब फिल्मको निर्देशन गर्ने भएका छन् सुदर्शन थापाले। फिल्ममा ‘प्रसाद’कै कलाकारहरू विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा दोहोरिँदै छन्। निर्माण टिमका अनुसार यी तीनै कलाकारसँग सम्झौता समेत भइसकेको छ। तर अझैँ फ्लोरमा जाने मिति भने एकिन हुन सकेको छैन।
फिल्म सुभाष थापाले निर्माण गर्न लागेका हुन् भने यसको कथा प्रसाद लेखेकै सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन्।
जेठ २९, २०७९ आइतबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।