मेयर वालेन्द्रले भने' सुनधारामा पानी ल्याउन पुरानै कुलोमा ड्रिल गरेर पानी ल्याउँछु

मेयर वालेन्द्रले भने' सुनधारामा पानी ल्याउन पुरानै कुलोमा ड्रिल गरेर पानी ल्याउँछु

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिकाको बैठकमा मेयर वालेन्द्र शाहले टुँडिखेलसम्म सुनधारामा आउने पानीको कुलो रहेको भन्दै त्यहाँबाट भित्र ड्रिल गरेर पानी धारासम्म ल्याउने दाबी गरेका छन्।

मेयर शाहले शनिवार सुनधारा क्षेत्रको अवलोकन गरेका थिए। नजिकै धरहरा बने पनि सुनधारा बनाउन भने कसैले चासो राखेका छैनन्। नगर कार्यपालिकाको बैठकमा सुनधारा क्षेत्र पर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले मेयर आफ्नो क्षेत्रमा अनुगमनमा आउँदा वडाध्यक्षले थाहै नपाउँदा बेवास्ता गरेझैँ देखिएको भन्दै व्यङ्ग्यात्मक शैलीमा भने' मेयरसाप आउने जानकारी पाए फुलमाला लिएर बस्न हुन्थ्यो। तर थाहै दिइएन। यसले त विरोधी जस्तो देखियो।'

उनले धरहरा बन्ने तर सुनधारा डम्पिङ साइट हुनेजस्तो स्थिति नआओस् भनेर आफू सक्रिय रहेको बताएका थिए। जवाफमा शाहले शनिवारका दिन आफू अनुगमनमा आएकाले जानकारी नआएको हुनसक्ने भन्दै अबका दिनमा जुन वडामा अनुगमन गर्न जाने हो त्यहाँका जनप्रतिनिधिलाई जानकारी दिने बताएका थिए।

उनले आफूले सुनधाराको बारेमा बुझ्दा यस अगाडिको अध्ययनमा सुनधारामा पानी आउने कुलो टुंडिखेलभित्रसम्म रहेको तर टुँडिखेल नेपाली सेनाको मातहतमा रहेकाले खन्न नपाएको सुनेको भन्दै अहिले माथिबाटै खुल खनेर ल्याउनुको साटो ड्रिल गरेर भित्रभित्रै कुलो खन्न सकिने प्रविधि आएको भन्दै सोही प्रविधिको प्रयोग गरेर भए पनि सुनधारामा पानी ल्याउने दाबी गरे।

'केही समय अगाडि जमिनमुनि ड्रिल गर्न मिल्ने मेसिन मेलम्ची खानेपानीले ल्याएको रहेछ। त्यसको प्रयोग गरेर भित्रभित्रै कुलोबाट पानी धारासम्म ल्याउन सकिन्छ। हामी अध्ययन गरिरहेका छौँ।'

जेठ २९, २०७९ आइतबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।