काठमाडौँमा पुराना नेता विस्थापित गर्न नयाँ उम्मेदवार एक आपसमा प्रतिस्पर्धा गर्दै, १ मा रमेश र पुकार, ५ मा कर्मा र रञ्जुको घोषणा

काठमाडौँमा पुराना नेता विस्थापित गर्न नयाँ उम्मेदवार एक आपसमा प्रतिस्पर्धा गर्दै, १ मा रमेश र पुकार, ५ मा कर्मा र रञ्जुको घोषणा

काठमाडौँ : नेपाल सुशासन पार्टीले नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई आगामी संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने घोषणा गरेको छ। पार्टीले फेसबुक पेजमा खरेललाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने घोषणा गरेको हो।

यस अगाडि स्थानीय तहको निर्वाचनमा खरेलले पार्टीभित्र काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नेबारे छलफल गरे पनि पछि उम्मेदवारी दिएनन्। आइतबार पार्टीले उनलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने घोषणा गर्यो। सो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका छन्।

गत निर्वाचनमा उनलाई विवेकशील साझा पार्काटीको तर्फबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रले टक्कर दिएका थिए। सिंह थोरै मतान्तरले मात्र सांसद बनेका थिए। सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुकार बम अगाडि सरेका छन्। विवेकशील अभियानमा संलग्न उनी पछिल्लो समय विवेकशील साझामा सहभागी थिए। मिलन पाण्डे समूहमाथिको कारबाहीसँगै उनी पनि पार्टीबाट बाहिरिएका थिए।

नेपाल प्रहरीका पूर्व डिआइजी रहेका खरेलले आफ्नो कार्यकालमा भ्रष्टाचार विरोधी छवि बनाएका थिए। स्थानीय तहको निर्वाचनमा तराइमा उनको पार्टीले केही प्रतिनिधि जितेको थियो। उनी सोही क्षेत्रका मतदाता समेत हुन्।

क्षेत्र नम्बर एकमा कांग्रेसको बलियो मतदाता रहेको मानिए पनि यस पटकको स्थानीय तहको निर्वाचनमा सिंहको श्रीमती समेत रहेकी सिर्जना सिंहले क्षेत्र नम्बर १ का वडाहरूबाट त्यति राम्रो मत पाउन सकिनन्। पार्टीको १४ औँ महाधिवेशनमा प्रकाशमानको भूमिकाका कारण सो क्षेत्रका पार्टीका मतदाताहरू समेत उनीसँग रुष्ट देखिएका थिए।

यो बिचमा यदि काङ्ग्रेसबाट सिंह नै सो क्षेत्रको उम्मेदवार बनेका खरेल र बमले उनलाई राम्रै चुनौती दिन सक्ने देखिन्छ। तर एकै स्थानमा प्रभाव देखिएका २ उम्मेदवारले उम्मेदवारी दिँदा उनीहरूबिचै मत विभाजित भएर तेस्रो व्यक्तिले जित्ने जोखिम पनि हुन्छ नै। क्षेत्र नम्बर १ मा मात्रै हैन अन्यत्र पनि नयाँ उम्मेदवारहरु नै एकआपसमा प्रतिष्पर्धा गर्ने तयारीमा लागेका छन्। क्षेत्र नम्बर पाँचको अवस्था त्यही देखिएको छ।

उता काठमाडौँ क्षेत्र नम्बर ५ मा पनि पुराना नेतालाई विस्थापित गर्ने रणनीतिमा सक्रिय २ उम्मेदवार एक अर्काको प्रतिस्पर्धी बन्ने तयारीमा छन्। क्षेत्र नम्बर ५ मा नेपाल विवेकशील पार्टीबाट अध्यक्ष कर्मा तामाङले उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जु दर्शना समेत उम्मेदवार बन्ने तयारीमा लागेकी छिन्।

दर्शना गत स्थानीय निर्वाचनमा काठमाडौँको मेयरको उम्मेदवार बनेर चर्चामा आएकी थिइन्। दर्शना मेयरको उम्मेदवार बन्दा कर्मा स्वर्गिय उज्जवल थापासँगै उनलाई निर्वाचनमा जिताउने मुख्य रणनीति बनाउने समूहमा थिइन्। दर्शना मिलन पाण्डे समूहसँगै साझासँग दोस्रो पटक एकिकरणमा सहभागी भए पनि उज्जवल र कर्मालगायतकाहरु भने विवेकशील अभियान ब्युताउन सक्रिय थिए। यही विचमा थापाको निधन भयो। उता विवेकशील साझामा पार्टी नेतृत्वसँगको विवादका कारण पाण्डे समूहमाथि कारबाहीहुँदा दर्शना पनि पार्टीबाट बाहिरिएकी थिइन्।

काठमाडौँ क्षेत्र नम्बर ५ मा उज्जवल उम्मेदवार बन्दै आएका थिए। कांग्रेसका नरहरि आचार्यले जित्दै आएको सो क्षेत्रमा गत वर्ष एमाले नेता ईश्वर पोखरेलले जितेका थिए। पोखरेलसँग काङ्ग्रेसबाट डा प्रकाश शरण महतले प्रतिस्पर्धा गरेका थिए। उनी नुवाकोटै फर्कने तयारीमा देखिन्छन्। उता सोही क्षेत्रबाट उम्मेदवार बन्न अर्थशास्त्री स्वर्णिम वाग्लेले समेत चासो देखाइरहेका छन्।

काठमाडौँ महानगरको मेयरको उम्मेदवार बनेर १३ हजार मत ल्याएका सुमन सायमी पनि प्रतिनिधि सभामा काठमाडौँ ८ बाट उम्मेदवार बन्ने गृहकार्यमा लागेका छन्। तर उनले उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्। मानुषी यमी समेत काठमाडौँबाटै उम्मेदवार बन्ने तयारीमा लागे पनि उनले क्षेत्र भने तोकिसकेकी छैनन्। 

जेठ २९, २०७९ आइतबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।