बालेन्द्र विरोधी देखिएका वडा १६ का अध्यक्ष मुकुन्द बदलिए, बैठकमा भने'अब काठमाडौँ बन्छ'

बालेन्द्र विरोधी देखिएका वडा १६ का अध्यक्ष मुकुन्द बदलिए, बैठकमा भने'अब काठमाडौँ बन्छ'

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालन विधिबारे कडा कुरा राख्दा वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको छवि मेयर बालेन्द्र शाहको विपक्षी झैँ देखिएका थिए।

उनले मेयर शाहले बैठक चलाउने पद्धति नै थाहा नभएको र बैठकमा प्रस्ताव राख्ने र पास गर्ने विधि नै पूरा नभएको भन्दै विरोध गरेका थिए। उनको प्रस्तुतिपछि बालेन्द्र समर्थकहरू उनको विरोधमा उत्रिए, ट्रोल गराए।

आइतबारको दोस्रो कार्यपालिका बैठकमा भने मुकुन्दको शैली निकै बदलिएको देखियो। उनी आलोचक हैन मेयर बालेन्द्रको सहयोगीको भूमिकामा देखिए बैठकमा। बैठकमा प्रस्तावसँगै विविध विषयमा वडाध्यक्षहरूले आफ्ना धारणा लामो राख्न थालेपछि रिजालले सहजिकरणगर्दै ऊर्जावान् मेयर अनि अनुभव भएका वडाध्यक्ष मिलेपछि काठमाडौँ त बन्यो भन्दै समस्या मात्र नराखी समाधान पनि दिन आग्रह गरेका थिए।

उनी आफ्नो पालोमा बोलिसकेका थिए। छलफल लामो भएपछि मेयर र उपमेयरको अन्य काम पनि हुने भएकाले बैठकमा छोटो कुरा राख्नुपर्ने,साना कुरामा अल्झन नहुने भनेपछि अन्य वडाध्यक्षले आपत्ति जनाउँदै मेयरको अनुमतिमै आफ्ना धारणा राखेको र यसलाई सामान्य भन्न नहुने भनेपछि रिजाल चुप लागेका थिए।

जेठ २९, २०७९ आइतबार १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।