दुर्गन्धित सहरको मुहार फेर्न कम्मर कसेका यी सहकारी : फोहोरबाट मोहोर, करोडको कारोबार
बुटवल : विकसित सहरहरुमा फोहोर-मैला व्यवस्थापन चुनौती बनिरहेको छ। मानवसिर्जित समस्यामध्ये फोहोर-मैला व्यवस्थापन विकराल बन्दै जाँदा सहर कुरुप र दुर्गन्धित बनेका छन्।
फोहोर-मैला व्यवस्थापनमा चुक्दा सरकारले पटक-पटक अफ्ठ्यारो अवस्थाको सामना गर्नुपरेको उदाहरण काठमाडौंको फोहोर व्यवस्थापन समेत हो।
फोहोर-मैला व्यवस्थापन चुनौतीपूर्ण बनिरहँदा कतिपय सहकारी संस्थाहरु भने फोहोरलाई मोहोरमा परिणत गर्ने गरी लागिपरेका छन्। यसले सहरको सौन्दर्यतालाई बढाएको त छ नै, सहकारीले गतिलो आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दै आएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा केही सहकारीले फोहोर-मैला व्यवस्थापनमा हात अघि बढाएका छन्। सम्बन्धित पालिकासँगको समन्वयमा सहकारीहरुले फोहोर-मैला व्यवस्थापन गर्दै आएका छन्। जुन सफल समेत भएका छन्।
तिलोत्तमामा रहेको जनसहभागिता वास स्वास्थ्य सहकारीले फोहोरबाट मोहोर बनाउने गरी पाँच वर्षदेखि फोहोर व्यवस्थापनको काम गर्दै आएको छ। २०७४ को निर्वाचनबाट चुनिएर जनप्रतिनिधि आए लगत्तै यो सहकारीले करैया सामुदायिक बन क्षेत्रमा रहेको सुखौरा खोलाको नदी उकास क्षेत्रमा फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोर व्यवस्थापन गरिरहेको छ।
जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले नगरका ७ देखि १७ वडाको फोहोर संकलन गरी त्यसबाट आम्दानी सहित रोजगारी दिइरहेको छ। संस्थाका अध्यक्ष खेम गौतमका अनुसार अहिले सहकारीमा ४० जनाले रोजगार पाइरहेका छन्। प्रशोधन केन्द्रमा मात्र २५ जनाले रोजगार पाइरहेको उनले बताए।
सहकारीले चार वटा ट्याक्टरमार्फत फोहोर संकलन गरी ल्याउने र प्रशोधन केन्द्रमा ल्याएपछि रिसाइकल गरी संकलित फोहोरलाई वर्गीकरण गरेर बिक्री समेत गर्दै आएको उनले बताए।
केन्द्रमा प्लास्टिकजन्य, सिसा र कपडालाई प्रशोधन गर्ने गरिन्छ। सुरुका वर्षमा तिलोत्तमा नगरपालिकाका ७, ८, ९ र १६ वडाबाट फोहोर ल्याउने गरेकोमा अहिले ७ देखि १७ सम्मको फोहोर प्रशोधन केन्द्रमा ल्याइएको उनले बताए।
ल्याइएका फोहोरलाई छुट्याएर प्रशोधन केन्द्रमा प्लास्टिक, सिसा र कपडाका छुट्टा-छुटटै पोका बनाइने गरिएको छ। यसरी प्रशोधन गरिएको फोहोर प्रतिकेजी ६ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए।
‘सुरु सुरुमा हामीले घाटा खाएर पनि काम गर्यौं। अहिले सहकारीमा फोहोरबाट वार्षिक एक करोड रुपैयाँ कारोबार हुने गरेको छ। विस्तारै सहकारी नाफामा जाँदैछ,’ उनले भने।
सहकारी अहिले थप मेसिन ल्याउने तयारीमा छ। युएनडिपी, तिलोत्तमा नगरपालिकाको सहयोगमा थप मेसिन जडान गर्न लागिएको छ। बेलर मेसिन, क्रेसर मेसिन २ वटा, स्टेपलाइजर १ वटा, विकेट मेसिन १ वटा खरिद गरेर भन्सारसम्म आइसकेको अध्यक्ष गौतमले बताए। यी मेसिनले फोहोरलाई धुलो पारी बिक्रीका लागि तयार गर्छन्। प्लास्टिकजन्य वस्तुलाई जलाएर पुनः प्रयोगको वातावरण बनाउन विकेट मेसिन प्रयोग गरिने छ।
अहिले मेसिन जडानका लागि ट्रसको काम भइरहेको छ। त्यससँगै कम्पोष्ट मल बनाउन पनि ट्रस निर्माणको काम सहकारीले गरिरहेको छ।
मेसिन आउनासाथ सहकारीले फोहोर संकलन गर्ने वडाबाट नागरिकको भान्सामै फोहोर वर्गीकरण गर्न लगाएर फोहोर उठाउने योजना पनि बनाएको छ। घर भित्रबाटै फोहोर वर्गीकरण गरेर ल्याएपछि गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने र रिसाइकल हुनेलाई प्रशोधन गरी बिक्री गर्ने योजना बनाइएको गौतमले बताए। हालसम्म प्रशोधन केन्द्रमा करिब ३ करोड लगानी भइसकेको उनको भनाइ छ। सहकारीले अहिले प्रतिचुल्हो ५० देखि व्यवसाय हेरेर १ हजारसम्म फोहोर शुल्क लिने गरेको छ।
वडा नं. १ देखि ६ वडासम्म वातावरण सुन्दर नेपाल प्रालिले फोहोर व्यवस्थापनको काम गरिरहेको छ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमामा हरेक वडा, टोल विकास संस्थाको सहकार्यमा सफाइ अभियान जारी रहेको बताए। उनले प्रत्येक महिना १ र १५ गते सफाइ अभियान चलिरहेको बताए।
यता बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडले जिल्लामै फोहोर व्यवस्थापनमा नौलो अभ्यास सुरु गरेको छ।
‘हाम्रो सुन्दर नगर, हामीले नै सफा राखौं, हामीले गरेको फोहोर मोहरमा रुपान्तर गरौं’ भन्ने नाराका साथ सहकारीले बुटवलका ७ र ८ वडाको फोहोर व्यवस्थापन गर्दै आएको छ।
सहकारीको माध्यमबाट खेर गइरहेको फोहोर तथा जैविक पदार्थलाई स्रोतको रुपमा प्रयोग गर्दै बुटवलबासीलाई सफा, स्वच्छ र स्वास्थ जीवनयापनको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको सहकारीले २ वटा वडाका ६ हजार बढी घरधुरीको फोहोर संकलन एवं व्यवस्थापन गरिरहेको छ। सहकारीले कुहिने फोहोर दैनिक र नकुहिने फोहोर हप्ताको एक पटक घर-घरबाट संकलन गर्ने गर्छ। संकलित फोहोरलाई सहकारीका दुई वटा गाडीले व्यवस्थापन गर्दै आइरहेका छन्।
सहकारीले शिवनगर सामुदायिक बनमा खेर गइरहेको सुकेका पात-पतिङ्गर, घुर्यान, बनमारा जस्ता वनस्पतीबाट जैविक मल र वैकल्पिक ऊर्जा उत्पादन तथा बिक्री वितरण एवं अन्य परियोजना सञ्चालन गर्ने योजना बनाएको छ। यहाँ झण्डै १ करोडको लगानीमा प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको सहयोगमा भौतिक संरचना निर्माण भइरहेको छ।
बुटवल उपमहानगरपालिका, शिवनगर सामुदायिक बन र सहकारीको समन्वयनमा फोहोर व्यवस्थापनको दिगो परियोजना अघि बढ्न थालेको हो।
सड्ने फोहोरलाई कम्पोष्ट मल बनाएर किसानलाई बिक्री गर्ने तथा नसड्ने प्लाष्टिकजन्य फोहोरलाई प्रशोधन गरी घरायसी काममा प्रयोगमा आउने तथा पर्यटकले रुचाउने खालका सामग्री बनाइने योजना सहकारीले बनाएको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए।
त्यति मात्र हैन, फोहोर व्यवस्थापनको कार्यलाई कृषि उत्पादन, व्यवस्थापन र प्रवर्द्धसँग जोड्दै जाने, सहरी कौसी तथा तरकारी खेती प्रवर्द्धन गर्न नगरपालिकाहरुलाई प्रोत्साहन गरी सहभागी बनाउँदै लैजाने योजना सहकारीले बनाएको उनले बताए।
घरमा संकलित फोहोर व्यवस्थापन भएपछि वडाबासी समेत अहिले खुसी छन्। कुनै बेला समयमा फोहोर व्यवस्थापन नहुँदा प्रदूषित बनेको वडा अहिले सफा र सुग्घर बनेका छन्।
घर-दैलोबाट सिधै गाडीमा फोहोर फाल्न पाएपछि स्थानीयले प्लाष्टिकजन्य फोहोर जलाउन समेत छाडेका छन्।
जेठ २८, २०७९ शनिबार ०७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।