जिबबको आमा-बाबुको आरोप : एएनटिएफले ड्रग्स खुवाएर छोरो कब्जा गर्यो
काठमाडौँ : जिबबको उपनामले चर्चित र्यापर सुदिप भण्डारीको आमाबुबाले एएनटिएफमाथि पैसाका लागि आफ्नो छोरालाई नशा खुवाएर कब्जामा लिएको गम्भीर आरोप लगाएका छन्।
जिबबका बाबु राजकुमार र आमा हरिमायाले प्रेस मिट गरेर एएनटिएपोले जिबबलाई रिह्यावमा राखेर नशामुक्त बनाउँछु भनेर उल्टो नशा खुवाएको दाबी गरेका छन्।
जिबबको कार्यक्रमको सङ्ख्या बढेसँगै उनीहरूले आर्थिक लोभले जिबबलाई कब्जामा लिएर राखेको, घर आउन नदिएको, परिवारका सदस्यलाई भेट्न नदिएको र सुधार्नुको साटो ड्रग्स दिएर थप कुलतमा फसाएको दाबी गरे।
'उनीहरूले सुधार्छु भने। मैले विश्वास गरे। तर अहिले उल्टो नशा खुवाउने रैछन्। आज भेट्दा पनि नशामै थियो' उनको आमाले भनिन्।
अस्ट्रेलिया टुरदेखि सिक्किम टुरसम्मको आर्थिक हिसाब पारदर्शी नबनाएको, ए मेरो हजुर ४ को गीत गाउँदाको पैसा नदेखाएको र नियन्त्रणमा लिन ड्रग्स दिने गरेको उनीहरूले आरोप लगाए।
'म दुबईमा काम गरिराख्या थिए। यता छोरोलाई आमाले सम्हाल्नै।नसक्ने भएपछि बिचैमा भिसा क्यान्सिल गरेर आउनुपर्यो,' जिबबका बुबाले भने' ६ दिन भो नेपाल आएको। तर छोरो भेट्नै पाइएन। आज बल्ल भेट्न जाँदा पुरै ट्रिपमा रैछ।'
उनले अहिले जिबबको क्रेज भएकाले एएनटिएफले उसलाई कब्जामा लिएर आर्थिक फाइदा मात्र लिन खोजेको भन्दै उसको स्वास्थ्यको चिन्ता लागेको बताए।
'नशा गर्न दिन्न भनेर उल्टो जति माग्यो त्यति खान दिने त भएन नि,' जिबबका बाबुले भने' नशाको सुरमा उसलाई जे पनि गराउने देखियो। उसले कमाउने पैसा आमा-बाबुलाई चाहिएन। तर उसैको खातामा हुनुपर्यो। एएनटिएफले देखाउनु त पर्यो। उसको नशाको बानी हटाउनुपर्यो।'
पत्रकार सम्मेलनमा जिबबको आमा हरिमायाले कन्सर्ट गर्नेबारे पनि विवाद रहेको बताइन्। एएनटिएफले जिबबले अग्रिमेन्ट गरेको दाबी गरेको, आफ्नो आर्टिस्ट भएकाले अन्त गाउन नपाउने भनेर तर्साउने गरेको बताइन्।
' उ राम्रो कलाकार हो। एएनटिएफले असल मनले काम गर्छ भने हामीले केही भनेका छैनौ। तर घर जान नदिने, लागु औषध खुवाउने, कुन कार्यक्रमको कति सहमति हो नदेखाउने अनि परिवारलाई नै भेट्न नदिने गर्न त भएन नि' उनले भनिन्।
जिबबलाई नशाको बानीबाट बाहिर ल्याउने अनि कार्यक्रमको आम्दानी पारदर्शी गर्दा आपत्ति नहुने भन्दै उनको परिवारले पढाइलाई निरन्तरता दिन समेत अवरोध भएको दाबी गरेका छन्।
गोदावरीमा जिबब अल नेपाल ठग फेमिली अर्थात् एएनटिएफको र्याप ब्याटलमा सहभागी भएर चर्चामा आएका थिए। अहिले एएनटिएफकै हाकिम गुरुङले उनलाई कार्यक्रमहरूमा लिएर हिँडिरहेका छन्।
जेठ २७, २०७९ शुक्रबार २३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।