कर्णालीमा जिसस निर्वाचन : ६ जिल्लाको निर्वाचन सकियो, ४ जिल्लाको बाँकी
सुर्खेत : स्थानीय तहको निर्वाचनपछि कर्णाली प्रदेशका १० जिल्लाहरू मध्ये अधिकांश ठाउँमा जिल्ला समन्वय समिति चयन भइसकेका छन्। कतिपय जिल्लामा भने निर्वाचनको प्रक्रिया सुरु भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतले पनि जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनबाट एमाले–माओवादी गठबन्धन विजयी भएको छ। जसअनुसार गठबन्धनबाट प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओवादीका सचिन कुमार बडुवाल विजयी भएका छन्।
सुनारले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन्। सुनार जेठ २९ गतेको निर्वाचनमा वीरेन्द्रनगर ३ को वडाअध्यमा पराजित भएका थिए। केही दिन अघि नगर कार्यपालिका सदस्य निर्वाचित भएर जिसस प्रमुख पदमा उम्मेदवारी दिएका थिए।
सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन् भने माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित भएका छन्।
दैलेखमा बागी उम्मेदवार विजयी
जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन्। उनी नेपाली काँग्रेसका उपसभापतिसमेत रहेका उनले पार्टीबाट टिकट नपाएपछि एमालेसँग मिलेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन्। एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन्। गठबन्धनका तर्फबाट काँग्रेसकी दुर्गा श्रेष्ठले नौ मत ल्याएर पराजित भइन्।
उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भएका छन्। उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छिन्।
अन्य सात जना सदस्य मध्ये कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा विक (नेकपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली काँग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्। दैलेखका ११ स्थानीय तहमा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । काँग्रेसले नौ, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो।
कालिकोटमा माओवादी केन्द्रको बहुमत
कालिकोट जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको छ । प्रमुखमा माओवादी केन्द्रका धनजित शाही विजयी भएका छन् भने। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाहीलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारको सहयोग थियो। उपप्रमुखमा पनि माओवादी केन्द्रकै मिना रावत विजयी भएकी छन्।
जम्मा १८ मत रहेको कालिकोटमा गठबन्धनका उम्मेदवारहरूले १५ र एमालेका उम्मेदवारहरूले दुई मत मात्र पाएका छन् । बाँकी एक जना मतदाता उपस्थित नभएको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ। सदस्यमा माओवादी केन्द्रका ४, काँग्रेसका दुई र एकीकृत समाजवादीका एक जना सदस्य निर्वाचित भएका छन्।
जुम्लामा निर्विरोध
जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन्। नेपाली काँग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकीकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन्। काँग्रेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएपछि उनीहरू निर्विरोध भएका हुन्।
नौ सदस्यीय जिल्ला समन्वय समितिमा काँग्रेसको तर्फबाट प्रमुख सहित सात जना र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपप्रमुखसहित २ जना निर्विरोध चयन भएका हुन् । काँग्रेसबाट सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, नरविर सुनार, रचा रावत, लग्नमाया भण्डारी बुढा, खिमा लक्ष्मी काफ्ले र एकीकृत समाजवादीका पदमबहादुर रावत चयन भए।
नवनिर्वाचित जिल्ला समन्वय प्रमुख आचार्य काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उपप्रमुख थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका व्यक्ति हुन्। थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए।
जुम्लामा ८ वटा स्थानीय तह छन्। यस पटकको निर्वाचनमा काँग्रेसले ५ पालिकामा अध्यक्षसहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो। माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो।
मुगुमा पनि निर्विरोध
चार स्थानीय तह भएको मुगुमा गठबन्धनबाट कांग्रेसले नेतृत्व पाएको छ। प्रमुखमा काँग्रेसका मञ्जन कार्की र उपप्रमुखमा कांग्रेसकै नैली कार्की निर्विरोध भएका हुन्। सदस्यमा काँग्रेसबाट ५ जना, माओवादीका एक जना र समाजवादीका एक जना निर्विरोध निर्वाचित भएका हुन् । प्रस्तावक र समर्थक नपाएपछि एमालेले उम्मेदवारी दर्ता नै गराएको थिएन।
चार जिल्लामा निर्वाचन हुँदै
कर्णालीका चार जिल्लामा जिल्ला समन्वय समितिका लागि निर्वाचन हुन बाँकी छ। हुम्ला, सल्यान, रुकमपश्चिम र डोल्पामा निर्वाचन भएको छैन। सात पालिका भएको हुम्लामा असार १५ गतेसम्म निर्वाचन गर्ने तयारी थालिएको छ। यहाँका तीन वटामा कांग्रेस, तीन वटामा माओवादी र एउटा पालिकामा स्वतन्त्र र समाजवादीले जितेका छन्। कांग्रेस र माओवादीबिच नै गठबन्धन हुने गरी तयारी गरिएको छ।
१० वटा स्थानीय तह भएको सल्यानमा जेठ २९ गते निर्वाचन हुँदैछ। कांग्रेसको आठ, माओवादीको छ, एमालेको पाँच र सामावादीको एक मत छ। यहाँ माओवादी र कांगैसबिच गठबन्धन भएको छ। समाजवादीले प्रमुख पदका लागि मात्रै उम्मेदवारी दिएको छ। रुकुमपश्चिममा यही जेठ ३१ गते निर्वाचन हुने भएको छ। रुकुमपश्चिममा माओवादी एक्लै बहुमतमा छ। यहाँ माओवादीको नौ मत, कांग्रेसको दुई र समाजवादीको एक मत रहेको छ। यहाँ माओवादी एक्लैले जिससको नेतृत्व लिने छ।
त्यस्तै डोल्पामा असार १ गते जिससको निर्वाचन हुँदैछ। आठवटा स्थानीय तह भएको डोल्पामा कांग्रेसको तीन, माओवादीको चार, समाजवादीको तीन, एमालेको चार र स्वतन्त्रको दुई मत रहेको छ। डोल्पामा समाजवादी र एमालेबिच गठबन्धन चर्चा चलेको छ।
जेठ २७, २०७९ शुक्रबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।