पोखराका सडकमा बग्ने भेलबाढी रोक्न ढल र नाला सफाइ अभियान थालियो
पोखरा : पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले वर्षयाममा सडकमा पानीको भल बग्नलाइ रोक्न ढल तथा नालाको सफाइ अभियान थालेका छन्। पोखरेलीलेवर्षयामसँगै सडकमा भेल बगेर बाटो कटान् कठिन भएको गुनासो गरेपछि त्यसलाई कम गर्नका लागि ढल र नालामा प्लास्टिकजन्य फोहोर लगायतलाई हटाएर सडकमा पानीको भेल बग्न रोक्नका लागि शुक्रबारदेखि पोखराको पृथ्वीचोकस्थित रहेका नाला सफा गरिएको छ।
महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम रिजाल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा र विभिन्न वडाका अध्यक्ष लगायतको सहभागितामा सफाइ अभियानमा सुरु गरिएको हो।
अभियानको शुभारम्भ गर्दै मेयर आचार्यले सरसफाइ महानगरको आफ्नै नियमित काम भए पनि यस पटक सडक किनाराका नाला र ढलहरू भित्रै पसेर सफा गर्ने अभियान चलाइएको बताए। उनले भने, ‘सरसफाइ महानगरको नियमित काम हो । तर, यस पटक पोखराको टुंडिखेलदेखि बिरौटा हुँदै छोरेपानसम्मका सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाइ गर्दछौँ। सरसफाइ पछि सडकमा बग्ने पानीको भेल केही हदसम्म कम हुने छ।’
मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहे पनि अहिले बर्सादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा राखिएको बताए । ‘आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने छ’,उनले भने।, ‘फोहोर मैलाको दिगो रूपमा व्यवस्थापनका लागि पोखराको भरतपोखरीमा नयाँ ल्याण्डफिलसाईड बनाउने योजना बनाएका छौँ।’
महानगरको अभियानमा स्थानीयवासी, स्थानीय प्रशासन, प्रहरीसहित टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुले समेत साथ दिने मेयर आचार्यले बताए । उनले भने,‘हाम्रो अभियान साँच्चै सुन्दर, सफा र हरियाली पोखरा सहर बनाउने हो। गफले नभई व्यवहारमै त्यसलाई परिणत गर्ने गरी हामी कामको सुरुवात गर्दछौँ। यसमा सबै टोलवासी आफै सक्रिय हुने वातावरण हामी बनाउँछौ।
महानगरको वातावरण तथा सरसफाइ शाखाले यस विषयमा सहकार्य र हातेमालो गर्छ। अब फोहोर स्रोत मै वर्गीकरण गरेर व्यवस्थापन गर्ने तर्फ हामी अगाडि बढ्नुपर्छ । यसका लागि हामी सवैसँगै हातेमालो गरेर अगाडी बढ्छौ।’
उपमेयर मञ्जुदेवी गुरुङले हाम्रो पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिनु पर्ने बताइन्।
शुक्रबार सरसफाइका क्रममा १६ टन भन्दा बढी फोहोर संकलन भएको छ । सडक छेउका नाला भित्रको सफाइ सडक विभागले गर्ने र त्यसको व्यवस्थापन महानगरले गर्ने सहमति भएको छ।
जेठ २७, २०७९ शुक्रबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।