सलमान खान र उनका बुवाको हत्या गर्ने धम्की कुख्यात ग्याङस्टर लरेन्सले लेखेको खुलासा
एजेन्सीः बलिउड अभिनेता सलमान खान र उनका बुवा सलिम खानलाई मार्ने धम्की भारतका कुख्यात ग्याङस्टर लरेन्सले लेखेको पुष्टि भएको छ। मुम्बई क्राइम ब्रान्चले अनुसन्धानका क्रममा सौरभ महाकाल नामका व्यक्तिसँग सोधपुछ गर्दा उनले ग्याङस्टर लरेन्सले उक्त धम्कीपूर्ण चिठी लेखेको बताएका हुन्।
यो खुलासा हुनासाथ मुम्बई प्रहरीको ६ टोली देशको अलग-अलग भागमा खटिएको छ।
लरेन्स हाल कारागारमा छन्। लरेन्सको ग्याङबाट तीन जना राजस्थानबाट मुम्बईसम्म चिठी छोड्न आएका थिए। त्यसपछि उनीहरूले सौरभसँग पनि भेटघाट गरेका थिए।
सौरभले मुम्बई प्रहरीलाई गोल्डी बरारमार्फत सलमानका बुवा सलिमसम्म चिठी पुर्याइएको थियो। चिठीको अन्त्यमा जी.बी. र एल. बी. लेखिएको छ। त्यसको अर्थ गोल्डी बरार र लरेन्स विश्नोई हो।
यसअघि जोधपुर अदालतमा लरेन्सले सार्वजनिक रूपमै सलमान खानको हत्या गर्ने दावी पनि गरेका थिए।
यता लरेन्स र गोल्डीको संलग्ना देखिएपछि प्रहरीले सलमानलाई सोधपुछ गरेको थियो। त्यसक्रममा उनले भने, 'धम्कीवाला चिठीलाई लिएर मलाई कसैमाथि शंका छैन। आजभोलि मेरी कसैसँग दुश्मनी पनि छैन। लरेन्सको बारेमा २०१८ मा सुनेको थिएँ। किनकी त्यो बेला उसले मलाई मार्ने धम्की दिएको थियो। तर गोल्डी र लरेन्स दुवैलाई म चिन्दिनँ।'
जेठ २७, २०७९ शुक्रबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।