दुई स्वतन्त्र मेयरको हालचाल : धरानमा प्राकृतिक स्रोत ठेक्का विवाद, काठमाडौँमा फोहोर व्यवस्थापनको किचलो

दुई स्वतन्त्र मेयरको हालचाल : धरानमा प्राकृतिक स्रोत ठेक्का विवाद, काठमाडौँमा फोहोर व्यवस्थापनको किचलो

काठमाडौँ  : प्राकृतिक स्रोत ठेक्का लगाउने विषयमा मेयर र वडाध्यक्षबिच विवाद बढेपछि धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठक बस्न सकेन।

पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर हर्क साम्पाङ र केही वडाध्यक्षबिच नदी किनाराको स्रोत व्यवस्थापनका लागि ठेक्का लगाउने या नलगाउने विषयमा विवाद भएको थियो।

हर्क ठेक्का लगाउन नहुने भन्दै वडाध्यक्षहरूलाई बाढी-पहिरो लगायतका प्राकृतिक विपत्ति आए जिम्मा लिने हो भनेर सोधेका थिए। महानगरको आम्दानी बढाएर विकासमा खर्च गर्न बगेर जाने खोला किनाराका प्राकृतिक स्रोतको ठेक्का लगाउन उचित हुनेमा केही वडाध्यक्षहरू अडिएका थिए।

वडाध्यक्षहरू बोल्दाबोल्दै मेयर हर्क बैठकबाट बाहिरिएका थिए। उनले बिहीबार कार्यपालिकाको बैठक राखेका थिए। तर अधिकांश वडाध्यक्षहरू बैठकमा नआएपछि कोरमै पुगेन र बैठक स्थगित भयो।

कार्यपालिका बैठक हुने समयमा नगरपालिका कार्यालय अगाडि प्राकृतिक स्रोत दोहन गर्न पाइँदैन भन्दै केही व्यक्ति प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएका थिए।

मेयरले आफ्नो बदनामी गराउन नियोजित रूपमा आफ्ना समर्थकहरूलाई प्रदर्शन गर्न लगाएको वडाध्यक्षहरूले आरोप लगाएका थिए। हर्क स्वतन्त्र उम्मेदवारको रूपमा मेयरमा विजयी भएका हुन्। कार्यपालिकामा मेयरसहित २७ जना छन्।

काठमाडौँमा फोहोर व्यवस्थापनको किचलो

यता काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर जितेका बालेन्द्र शाह र अन्य कार्यपालिकाका सदस्यविच विवाद छैन। पहिलो कार्यपालिका बैठकमा प्रस्ताव पास गर्ने प्रक्रियाबारे बहस भए पनि बालेन्द्रले पेश गरेका सबै प्रस्ताव पास भए। मेयर र उपमेयर सुनिता डंगोल सँगै मिलेर काम गरिरहेका छन्।

पास भएका प्रस्ताव अनुसार कल सेन्टर स्थापना भइसकेको छ। होटल, रेष्टुरेन्ट, बैंक लगायतकाको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ।

तर फोहोर व्यवस्थापनमा ल्यान्डफिल्ड साइटका स्थानीयको अवरोध कायमै छ। पुरानो मागहरू पुरा नगरेको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीय प्रदर्शनमा उत्रिएपछि मङ्गलवारबाट काठमाडौँ उपत्यकाको फोहोर फाल्ने प्रयास सफल हुन सकेको छैन।

सहरी विकास मन्त्रालय र सो क्षेत्रको स्थानीय तहका प्रतिनिधिबिच समझदारी भए पनि स्थानीयले त्यसलाई स्वीकार गरेनन्। मङ्गलवार सुरक्षाकर्मीले बल प्रयोग गरेर केही ट्रक फोहोर फालेपछि बुधवारबाट स्थानीयहरू उग्र प्रदर्शनमा उत्रिएपछि फोहोर बोकेर गएका ट्रकहरू काठमाडौँमै फर्किएका थिए।

फोहोर समस्या समाधान गर्न मेयर बालेन्द्र शाहले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटेका थिए। भेटमा प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधीहरुसँग छलफल गरेर फोहोरको दीर्घकालीन समाधानका लागि पहल गर्न भनेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको थियो।

जेठ २६, २०७९ बिहीबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।