पोखरा महानगरपालिकाले थाल्यो सडकमा छाडिएका छाडा चौपाया नियन्त्रण लिने अभियान
पोखरा : पोखरा महानगरपालिकाले सडकमा छाडिएका छाडा चौपायालाई नियन्त्रणमा लिन थालेको छ। महानगरले पोखराका सडकमा छाडा चौपाया मुक्त गर्ने उद्देश्यले छाडा चौपाया नियन्त्रणमा लिएर कान्जीहाउसमा लगेर थुन्ने अभियान थालेको हो।
पोखरा क्षेत्रका सडकहरूमा छाडारुपमा छाडिएका चौपायाहरू बिहीबार देखि नियन्त्रणमा लिने अभियान सुरु भएको पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिए। शर्माले मेयर धनराज आचार्यको निर्देशन पछि पहिलो दिन सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए।
पहिलो दिन नियन्त्रणमा लइएका ३७ वटा छाडा चौपाया कान्जीहाउसमा राखिएको छ। शुक्रबार देखि पोखरा क्षेत्रका अन्य ठाउँहरूमा छाडिएका चौपाया नियन्त्रणमा लिइने शर्माले बताए।
पोखरा क्षेत्रबाट नियन्त्रणमा लिइएका चौपायाहरूलाई पोखरा १४ स्थित बाच्छेबुढुवामा रहेको गौशालामा लगिनेछ। ल्याण्ड फिलसाईडसंगै रहेको गौशालामा हाल १५० को संख्यामा छाडा चौपाया रहेका छन्। करिब ३५ रोपनी क्षेत्रफलमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ।
पोखरा महानगरले पोखरा क्षेत्रमा बनाइएका नाला बुझिएर सडकमै भेल बग्न थालेकाले शुक्रबारदेखि ढल र नाला सफाइ अभियान सुरु गर्ने भएको छ। नवनिर्वाचित मेयर धनराज आचार्यको सक्रियतामा सडक विभाग र महानगरले संयुक्तरूपमा ढलहरू सफा गर्ने अभियान थालिने भएको छ।
तीन दिनसम्म चल्ने अभियानमा साथ दिन संघ संस्थाहरु र नगरवासीलाई मेयर आचार्यले आह्वान समेत गरेका छन्। उनले पोलिथिनजन्य पदार्थबाट भएको फोहोरको कारणले अत्यधिक वर्षाका बेला ढल बुझिएर बाटोमा पानीको भेल बगेर दुर्घटना समेत हुने गरेको बताउँदै ढल तथा नालाको सरसफाइमा जुट्न नगरवासीलाई आह्वान गरेका हुन्। अभियानको पहिलो दिन बिहान ७ बजे पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट आरम्भ हुने छ।
जेठ २६, २०७९ बिहीबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।